+
+

जसलाई टिकट दिनैपर्ने दबावमा छन् माधव नेपाल

रामकुमार डिसी रामकुमार डिसी
२०७९ भदौ २४ गते २०:१८

२४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुका अनुसार सिट बाँडफाँटको छलफलहरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चर्कै सुनिन्छन् । नेपाली कांग्रेसले ७० सिट मात्र लिनुपर्ने बताएका उनले सुरुमा ४० सिट दाबी गरेका थिए ।

नेताहरुका अनुसार अहिले पनि एकीकृत समाजवादी २८–२९ सिटबाट तल झर्न मानेको छैन । । ‘जम्मै सिट आफूले लिने र उब्रिएको हामीलाई दिने हो भने हामीलाई स्वीकार्य हुँदैन,’ हालै मात्र एक कार्यक्रममा अध्यक्ष नेपालले भनेका थिए ।

जबकी कांग्रेस र माओवादी दुबै दल एकीकृत समाजवादीलाई यति धेरै सिट दिन तयार छैनन् । स्थानीय निर्वाचनको मतले पनि एकदमै थोरै निर्वाचन क्षेत्रमा मात्र एकीकृत समाजवादीको उपस्थिति राम्रो देखिएको छ । तर एकीकृत समाजवादीका नेताहरुले पार्टीमा टिकट नदिई नहुने नेताकै संख्या धेरै रहेको बताउँछन् ।

कम्तीमा २८/३० जनालाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनाउनुपर्ने दबावमा अध्यक्ष नेपाल रहेको नेताहरु बताउँछन् । टिकट दिलाउन नसके एमालेकै फर्किने खतरा छ । एकीकृत समाजवादीका एक स्थायी समिति सदस्य भन्छन्, ‘हामीले दाबी २८/२९ सिटमा छ, त्यसमा अलिकति तलमाथि होला ।’

प्रत्यक्ष जितेका स्वतः दावेदार

गठबन्धनमा सिट बाँडफाँटका आधारमध्ये एउटा हो, २०७४ को प्रत्यक्ष चुनाव जितेको । एकीकृत समाजवादीका २३ सांसदमध्ये १२ जना प्रत्यक्ष निर्वाचित छन् र उनीहरु फेरि दोहोरिन चाहन्छन् ।

एकीकृत समाजवादीबाट माधव नेपाल रौतहट–१ बाट चुनाव लड्ने तयारीमा छन् । अघिल्लो पटक काठमाडौं–२ बाट जितेका उनलाई स्थानीय तहको मतले पनि साथ दिएको छ । त्यहाँ एकीकृत समाजवादीले नै सबभन्दा ठूलो दल हो, साथै उनलाई यो क्षेत्र छाड्न गठबन्धनका सबै दल सहमत छन् ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाल इलाम–१ बाट उठ्ने तयारीमा छन् । नेपाललाई जस्तै खनालको हकमा पनि क्षेत्र मिलाउन गठबन्धनमा अप्ठ्यारो छैन ।

विरोध खतिवडा मकवानपुर–२ बाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरेका थिए । यो पटक सहमहामन्त्री रहेकी उनी प्रत्यक्षको दावेदार हुन् भने माओवादी केन्द्रले पनि यही क्षेत्रमा दावी गरेको छ । तर नेता नेपाल खतिवडालाई टिकट दिलाउनुपर्ने चर्को दबावमा छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ अघिल्लो पटक काठमाडौं–८ बाट निर्वाचित सांसद हुन् । कांग्रेस पनि यो क्षेत्र छाड्न तयार देखिएको छ । गठबन्धनका अरु दलको पनि दाबी छैन ।

प्रेमबहादुर आले डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले फेरि त्यही क्षेत्रमा दाबी गरेका छन् । तर अघिल्लो पटक आफैंले हराएका वीरबहादुर बलयार, जो कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति पनि हुन्, उनी बाधक बनेका छन् । बलायरले जिल्ला कार्यसमितिबाट गठबन्धन नगर्ने निर्णय समेत गराएका छन् ।

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि माओवादीबाट प्रतिनिधिसभा सदस्य सिफारिस भएका छन् । त्यसैले आलेलाई टिकट पाउन सहज देखिएको छैन ।

कृष्णकुमार श्रेष्ठ (किसान) ले २०७४ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलाई तनहुँ–१ बाट पराजित गरेका थिए । श्रेष्ठ यसपटक पनि उम्मेदवार हुन चाहन्छन् । तर कांग्रेसका वरिष्ठ नेता पौडेल कुनै हालतमा उम्मेदवार बन्ने दौडमा छन् । स्थानीय निर्वाचनको मत पनि उनकै पक्षमा भएकाले श्रेष्ठको व्यवस्थापन एकीकृत समाजवादीका नेताहरुका लागि सहज छैन ।

अघिल्लो पटक डोल्पाबाट चुनाव जितेका धनबहादुर बुढा, हुम्लाबाट जितेका गोपाल बम र पाल्पा–२ बाट जितेका सोमप्रसाद पाण्डे पनि उम्मेदवार बन्ने दौडमा छन् । त्यस्तै दाङ–१ बाट जितेका मेटमणि चौधरी र दाङ–३ बाट निर्वाचित हिराचन्द्र केसीलाई पनि टिकट दिलाउनुपर्ने दबाव अध्यक्ष नेपालमाथि छ ।

तेह्रथुमबाट चुनाव जितेर स्वाथ्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई पनि प्रत्यक्षतर्फ सांसदको टिकट दिनुपर्ने छ । समानुपातिक सांसद कल्याणी खड्का पनि उम्मेदवार बन्ने दौडमा छिन्, तर उनको व्यवस्थापन पनि नेपालका लागि सहज छैन ।

संघमा उक्लिन चाहेकाहरु

बागमती प्रदेशका मुख्यमन्त्री एवं पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे फेरि प्रदेशमा दोहोरिन तयार छैनन् । मुख्यमन्त्री बनाउने आश्वासन पाएपछि उनी २०७४ मा धादिङ–१ को ‘क’बाट चुनाव लडेका थिए । तर एमालेमा रहँदासम्म उनले मुख्यमन्त्री बन्ने अवसर पाएनन् ।

पार्टी विभाजन गरेपछि मुख्यमन्त्री बनेका उनी धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उठ्न चाहन्छन् । त्यही क्षेत्रमा माओवादी नेता शालिकराम जम्मकट्टेलको पनि दाबी छ । जम्मकट्टेल अघिल्लो पटक धादिङ–१ ‘ख’बाट निर्वाचित भएका थिए ।

उपमहासचिव प्रकाश ज्वाला पनि प्रदेशमा बस्न तयार छैनन् । अघिल्लो पकट मुख्यमन्त्रीको आश्वासनसहित प्रदेश झरेका उनी सल्यान ‘ख’बाट निर्वाचित भएका थिए । प्रदेश सरकारको मन्त्री बनेका उनले पार्टी नेतृत्वको निर्देशन अनुसार फ्लोर क्रस गर्दा प्रदशेसभा सदस्य पद समेत गुमाउनु परेको थियो ।

अब उनीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिलाउनुपर्ने दबाव अध्यक्ष नेपालमाथि छ । तर त्यो क्षेत्रबाट माओवादीका टेकबहादुर बस्नेत निर्वाचित सांसद हुन् र बस्नेत यसपटक पनि दावेदार भएकाले भागबन्डा मिलाउन सकस छ ।

अघिल्लो पटक समानुपातिक सांसद रहेकी रामकुमारी झाँक्री यसपटक गुल्मी–२ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् । श्रममन्त्री रहेका शेरबहादुर कुँवर पनि अछाम–१ बाट प्रतिनिधिसभा सदस्यको चुनावमा प्रतिस्पर्धा गर्न चाहन्छन् भने भानुभक्त जैशीले बझाङबाट चुनाव लड्न चाहेको नेताहरु बताउँछन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्न चाहन्छन् । माओवादी केन्द्रका सांसद सुदन किरातीले दोहोरिन चाहेकाले व्यवस्थापनको सकस छ ।

एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलका नेता रहेका दीर्घ सोडारी पनि यसपटक संघीय चुनाव लड्न चाहन्छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रहेका सोडारीले कैलाली क्षेत्र नम्बर ४ मा दाबी गरिरहेका छन् ।

एकीकृत समाजवादीको प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर–२ का आकांक्षी हुन् भने माओवादीबाट एकीकृत समाजवादी प्रवेश गरेका रामचन्द्र झा धनुषा–३ बाट चुनाव लड्न चाहन्छन् ।

उपमहासचिव विजय पौडेलले रुपन्देही-१ मा दाबी गरेका छन् । आफ्नो बुवाको समेत क्षेत्र भएको भन्दै त्यहीबाट टिकट पाउनुपर्ने दाबी पौडेलको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रहेका श्रीनाथ बरालले कास्की–१ बाट प्रत्यक्ष टिकटको दाबी गरिरहेका छन् । गण्डकी प्रदेशको सन्तुलन मिलाउनलाई पनि उनलाई टिकट दिनुपर्ने दबावमा अध्यक्ष नेपाल देखिएका छन् ।

अरु पनि छन् आकांक्षी

आफ्नो व्यक्तिगत प्रभाव राम्रो रहेको भन्दै प्रत्यक्ष चुनाव लड्न चाहेका राजु गुरुङ रुपन्देही–२ बाट सिफारिस भएका छन् । केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्जसमेत रहेका उनले आफूले गठबन्धनबाट टिकट नपाए एक्लै भएपनि चुनाव लड्ने भन्दै टिकटका लागि नेतृत्वमाथि टिकटका लागि दबाव बढाएका छन् ।

अघिल्लो पटक काभ्रे–२ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित लक्ष्मण लम्साल यसपटक काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा उठ्न चाहन्छन् । स्थानीय तहमा एकीकृत समाजवादीले पाएको वडागत मत यो क्षेत्रमा ८ हजार ६ सय ७६ छ ।

कमानसिंह खड्का जाजरकोटबाट उम्मेदवार हुन चाहन्छन् । स्थानीय चुनावमा भेरी नगरपालिकाको मेयर उठेका खड्काले ३ हजार ७८८ मत ल्याएका थिए । तर एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ माओवादी केन्द्रमा उपमहासचिव एवं वहालवाला सांसद शक्ति बस्नेत र कांग्रेसका पूर्व सांसद राजीवबिक्रम शाहको दाबी छ ।

एकीकृत समाजवादीकै नेताहरु अम्मरबहादुर थापा दैलेख र रामगोपाल यादव सर्लाही–३ बाट प्रत्यक्ष चुनाव लड्न चाहन्छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?