+
+

सेनाका तीर्थबहादुरले जिते लिगलिगकोट–गोरखा दरबार दौड प्रतियोगिताको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १६:०४

२५ भदौ, गोरखा । गोरखाको लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरबारसम्मको खुला दौडको उपाधि नेपाली सेनाका तीर्थबहादुर तामाङले जितेका छन् ।

४० किलोमिटरको निर्धारित दूरी ३ घण्टा ११ मिनेट १ सेकेण्डमा पार गर्दै भवानी दल गणमा कार्यरत तामाङले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

भारतीय सेनाका अनिष थापा मगरले ३ घण्टा १२ मिनेट १७ सेकेण्डमा दौड पूरा गर्दै उपविजेता बने र एक लाख रुपैयाँ पुरस्कार पाए । नेपाली सेनाकै मोहनदेव जोशीले ३ घण्टा १५ मिनेट १५ सेकेण्डमा दौड पूरा गरी तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।

नेपाली सेनामै कार्यरत देवराज महतरा चौथौ र गोविन्द कार्कीले पाँचौ स्थान हासिल गर्न सफल भए । महतराले ५० र कार्कीले ३५ हजार रुपैयाँ पुरस्कार पाए । सोलुखुम्बुका अर्जुन राई कुलुङ छैटौं, नेपाली सेनाका थमबहादुर अधिकारी सातौं, सिरानचोकका अशोक बराम आठौं, भूपू सैनिक रेवतबहादुर दाहाल नवौं र नेपाली सेनाका बिमल खड्का दशौं भए ।

उनीहरुले क्रमश ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताका विजेतालाई नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गरे ।

पालुङटार नगरपालिकाको ऐतिहासिक लिगलिगकोटबाट सुरु भएको दौड सिरानचोकको चित्रेपोखरी हुदै गोरखा दरबार आएर टुङ्गिएको थियो । नेपाली सेनाको रिपुमर्दन गण, सिरानचोक गाउँपालिका एवं गोरखा र पालुङटार नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेका हुन् ।

२०७६ सालमा सुरु भएको दौड प्रतियोगिता कोरोना भाइरस महाकारीका कारण दुई वर्ष रोकिएको थियो । आगामी बर्षबाट प्रतियोगितालाई निरन्तरता दिने मूल आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?