+
+

वीरगञ्जको मुख्य नाला अतिक्रमणको चपेटामा

अतिक्रमित संरचना हटाउन महानगरको सूचना

सुरेश बिडारी सुरेश बिडारी
२०७९ भदौ २५ गते १८:००

२४ भदौ, वीरगञ्ज । वीरगञ्जमा उचित ढल निकासको प्रबन्ध छैन । भएका नालाले समेत राम्रोसँग पानीको निकास दिन सकेको छैन । समथर जमिनमा अव्यवस्थित सहरीकरणका कारण प्राकृतिक वहाव प्रक्रियामा अवरोध खडा भएको छ ।

सहायक नालाहरु मात्रै होइन, वीरगञ्जको मुख्य नाला नै अतिक्रमणको चपेटामा छ । अतिक्रमणकै कारण ४० फिटको नाला १७/१८ फिटमा खुम्चिएको महानगरपालिकाका अधिकारीहरु बताउँछन् । वि.स. २०५० सालतिर विश्व बैंकको आर्थिक सहयोगमा तीन चरणमा मुख्य नाला बनाइएको थियो ।

मुख्य सडक हुँदै बग्ने नाला रातो बंगला अगाडि पुगेपछि पश्चिमतर्फ मोडिन्छ । त्यहाँ श्रीपुर हुँदै आएको नालामा गएर मिसिन्छ ।

जिल्ला प्रशासन कार्यालय, पान गल्ली, गीता मन्दिर हुँदै क्लासिक होटलको पछाडि पुग्छ । क्लासिक होटलदेखि नाला अण्डर ग्राउण्ड बग्छ । त्यहाँबाट हरिखेतान बहुमुखी क्याम्पस, भगवती टोल, छपकैयास्थित बहीपुल हुँदै पानी प्रशोधन केन्द्रमा जान्छ । पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी सिर्सिया नदीमा मिसिने गरेको छ ।

आदर्शनगर टाउन प्लानिङको नक्सामा मुख्य नाला ४० फिटको देखिएको मेयर राजेशमान सिंहको प्राविधिक सल्लाहकार प्रकाश अमात्य बताउँछन् ।

‘आदर्श नगर निर्माण समितिले ‘टाउन प्लानिङ’ गर्दा तयार गरेको नक्सा हेर्दा ४० फिटको नाला छोडेको देखिन्छ । तर अहिले १७/१८ फिटमा खुम्चिएको छ’, उनले भने, ‘नालामाथि नै घर छ, कतै नक्सा पास गरेरै संरचना बनेको छ, कतिपयसँग लालपुर्जा नै छ । तसर्थ वीरगञ्जमा मुख्य नालाको सन्दर्भमा केही जटिलता देखिन्छ ।’

पहिलादेखि नै भएका ढल च्याप्नु, अतिक्रमण गर्नु गैरकानुनी भएको बताउँदै उनले महानगरपालिकाले त्यसको संरक्षणका लागि आवश्यक कदम चाल्न सक्ने बताए ।

मुख्य नालामाथि नै होटल, बैंक तथा शैक्षिक संस्था सञ्चालनमा छन् । मुख्य नालामाथि नै संरचनाहरु बनाइएका कारण नालाको बहावमा असर पर्दै आएको छ । मुख्य नाला अस्तव्यस्त भएकै कारण वीरगञ्ज हरेक वर्षायाममा डुबानमा पर्ने गरेको छ ।

मुख्य नालामा भएको अतिक्रमणले गर्दा नै वर्षायाममा पानी निकास नहुने गरेको महानगरपालिकाको सरसफाई शाखाका अधिकृत सरफुदिन मियाले बताए । ‘नाला अतिक्रमण गरेर संरचना बनाइएको छ । नालामा माटो भरियो भने निकाल्नका लागि स्काभेटर जाने ठाउँ छैन । जसोतसो माटो निकालेपनि राख्ने ठाउँ हुँदैन’, उनले भने ‘नालाको नियमित सरसफाइ गर्न नसकेकै कारण नगरबासी डुबानमा पर्ने गरेका छन् । पानीको निकास राम्ररी हुन नपाउँदा मुख्य बजार क्षेत्र आदर्शनगर नै डुब्छ ।’

केही व्यक्तिले नाला अतिक्रमण गरिदिँदा पुरै महानगरवासीले सास्ती खेप्दै आएका छन् । मुख्य सडकमा रहेको भारतीय महावाणिज्य दूतावासले समेत नाला माथि संरचना बनाएको छ ।

अतिक्रमण नहटाए कारबाही गर्ने चेतावनी

वीरगञ्ज महानगरपालिका कार्यालयले महानगरको मुख्य नालामाथि बनाइएका अवैध संरचना हटाउने तयारी थालेको छ ।

भदौ २० गते महानगरपालिकाले मुख्य नालाको बहावमा असर पर्ने गरी गरिएको अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा महानगरपालिकाले बिहीबार सूचना जारी गरेको छ । वीरगञ्ज महानगरपालिकाबाट बिना स्वीकृति निर्माण गरिएका घर टहराहरु र अन्य संरचनाहरु ३५ दिनभित्र हटाइ सहयोग गरिदिन सूचनामा आग्रह गरिएको छ ।

अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु नहटाइए महानगरपालिकाबाट उपलब्ध हुने सबै सेवा सुविधाहरु रोक्ने चेतावनी महानगरले दिएको छ । साथै नियम अनुसार कारबाही गर्ने र कारबाहीमा लागेको खर्च सम्बन्धित पक्षबाट नै असुल्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि वीरगञ्ज महानगरको भवन निर्माण तथा इजाजत शाखाले मुख्य सडकको दायाँबायाँ निर्माण भएका घरहरुको नक्सा पास भए नभएको जानकारी मागेको छ ।

उत्तर गण्डक चोकदेखि पावरहाउस, घन्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै शंकराचार्य गेटसम्म निर्माण भएका घरहरुको महानगरबाट नक्सा स्वीकृत भए/नभएको सबुत प्रमाण लिई आउन सूचनामा भनिएको छ ।

३५ दिनभित्र नक्सा शाखामा प्रमाण सहित उपस्थित नभएको खण्डमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?