+
+

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ २६ गते २०:२४

२६ भदौ, काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि आफ्नो कार्यअवधी टुङ्ग्याएको जनाएका छन् ।पछिल्लो पटक भएको तीन वर्षको सम्झौता अनुसार उनी २०२४ अक्टोबर ३१ सम्मका लागि प्रशिक्षक थिए ।

उनले आफ्नो यस यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने प्रशिक्षकको राजीनामाको विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । एन्फाले यस विषयमा केही समयपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कतार फुटबल संघ (क्युएफए) को आर्थिक सहयोगमा नेपाल आएका अल्मुताइरीको सुरुको सम्झौतामा तीन पक्ष एन्फा, क्युएफए र अल्मुताइरीबीच सहमति भएको थियो । दोस्रो पटक भने एन्फा र अल्मुताइरीबीच मात्र सम्झौतामा हस्ताक्षर भएको थियो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ हालै कतार भ्रमण सकाएर फर्केपछि अल्मुताइरीले राजीनामा घोषणा गरेका छन् । अध्यक्ष नेम्वाङले कतार पुटबल संघका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल थानीसँग शनिबार भेटवार्ता गरेका थिए ।

भेटमा नेपाललाई कतारको सहयोगलाई निरन्तरता दिने र सम्बन्धलाई सुमधर बनाउने विषयमा छलफल भएको थियो । प्रशिक्षकको विषयमा पनि क्युएफए सकरात्मक बनेको थियो । यो भेटको बारेमा अल्मुताइरीले पनि पाएको अनुमान छ ।

डेढ वर्ष प्रशिक्षक

४० वर्षीय कुवेती अल्मुताइरी झण्डै डेढ वर्षदेखि नेपालको प्रशिक्षकको रुपमा छन् । सुरुमा कतार फुटबल संघले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक र फुटबल विकासमा काम गर्नका लागि अल्मुताइरीलाई नेपाल पठाएको थियो । त्यसपछि अल्मुताइरी २०७७ चैतमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । अल्मुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षको लागि नयाँ सम्झौता भएको थियो ।

दोस्रो पटक नेपालको प्रशिक्षकको रुपमा सम्झौता गर्नुअघि उनले २०७८ असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलअघि नेपाल नफर्कने घोषणा गरेका थिए र उतैबाट घर गएका थिए ।

तर एन्फाका तात्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाले अल्मुताइरीसँग भेट गरेर फेरि नेपाल पर्कनका लागि सहमत गराएका थिए । त्यसपछि कात्तिकमा नेपाल आएर तीन वर्षका लागि सम्झौता गर्दा उनले नेपाली फुटबलका लागि योजना समेत सुनाएका थिए ।

नेपालको लक्ष्य तत्कालका लागि नभएर दीर्घकालीन रुपमा हुने उनले बताएका थिए । तर गत जेठमा कुवेतमै भएको एएफसी एसियन कप छनोट खेलेपछि अल्मुताइरी नेपाल फर्किएका छैनन् ।

एशियन कप छनोटका दौरान मैदानमै ढलेका अल्मुताइरी बिरामी विदा लिएर आफ्नै देश कुवेतमा बसे । उनले यसबारे एन्फालाई जानकारी समेत गराएका थिए ।

एन्फाले भने असोज ११ गते दशरथ रंगशालमा बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको छ । हुमागाईँले अमेरिकाबाट नेपाल फर्केर टिमको प्रशिक्षण समेत सुरु गरिसकेका छन् ।

अल्मुताइरीले राजीनामाको घोषणा गर्नुभन्दा केही अघि मात्र एन्फाका प्रवक्ता सुरेश शाहले अनलाइनखबरसँगको कुराकानीमा प्रशिक्षकको विषय चाँडै टुङ्गिने बताएका थिए ।

एन्फाले अघिल्लो कार्यसमितिले अल्मुताइरीबारे निर्णय गर्न नसके पनि नेम्वाङ नेतृत्वको नयाँ कार्यसमितिले यस विषयलाई टुङ्ग्याउन सक्षम रहेको शाहको भनाइ थियो ।

तीन पक्षबीच सम्झौता भएकोले अल्मुताइरीको विषयलाई टुङ्ग्याउन पनि कम्तीमा दुई पक्षको सहमति चाहिने थियो ।

विवादको शृंखला

अलमुताइरी गत वर्षभर नै नेपाली मिडिया र नेपाली फुटबलमा छाएका थिए । तर उनी सफलताबाट भन्दा पनि विवादका कारण हेडलाइन बनेका थिए । यस अर्थमा हेर्दा विवादका पर्याय नै थिए । तत्कालीन वरिष्ठ उपाध्यक्षसँगको विवाद, राजीनामा दिन्छु भनेर घुर्काउँदाको विवाद, बन्द प्रशिक्षणमा रहेका १० खेलाडीसँगको विवादमा उनी मुछिएका थिए ।

२०७८ साउन दोस्रो साता तात्कालीन वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले तनाव दिएको भन्दै उनले राजीनामा दिने घोषणा गरे  तर एन्फामा राजीनामा भने बुझाएनन् ।

पछिल्लो पटक एसियन कप छनोटको तयारीमा रहेका फुटबल खेलाडीसँगको विवादले ठूलै रुप लिँदा अल्मुताइरीले १० खेलाडीलाई क्याम्पबाट बाहिरिन बाध्य पारेका थिए ।

खेलाडी प्रशिक्षक विवादको विषयमा एन्फाले दुई सातापछि समस्या पहिचान र समाधान समिति बनाएको थियो । भिक्टर राणाको संयोजकत्वमा बनाएको तीन सदस्यीय समितिले १० दिन लगाएर २८ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

समितिले कुवेतमा हुने एसियन कप छनोटपछि नै मुख्य प्रशिक्षक अल्मुताइरीलाई विकल्प खोज्न सुझावसहित प्रतिवेदन बुझाएको थियो । कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।

खेलाडी फर्किए, प्रशिक्षक फर्किएनन्

एसियन कप छनोटमा जोर्डन, कुवेत र इण्डोनेसियासँग नेपाल पराजित भयो । जेठ अन्तिममा नेपालले छनोटको तीन खेल खेलेपछि टोली फर्कियो भने अल्मुताइरी तीन महिनाको बिरामी बिदा लिँदै आफ्नै देश कुवेतमा बसेका थिए ।

६ असारमा भएको एन्फा निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पछि पार्दै पंकज नेम्वाङ नयाँ अध्यक्ष बने । त्यही निर्वाचनसँगै अल्मुताइरीको भविष्य पनि जोडिएको थियो । अल्मुताइरीले पनि धेरै अघिदेखि कर्मा अध्यक्षमा निर्वाचित नभए नेपाल नबस्ने प्रतिक्रिया दिँदै आएका थिए । नेम्वाङ अध्यक्ष बनेपछि नै प्रशिक्षकको नेपाल आगमन अनिश्चित बन्यो ।

एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाउन जिम्मा दिइएको थियो । महासचिव राईले प्रतिवेदनको विषयमा जानकारी गराएर त्यसप्रति धारणा माग गर्दै अल्मुताइरीलाई पत्र पठाएका थिए ।

जवाफमा अल्मुताइरीले समितिको विषयमा प्रश्न उठाउँदै गतिलो जवाफ नदिएपछि अल्मुताइरीको आगमन सकरात्मक देखिएको थिएन र एन्फा चाँडै यस विषयलाई हल गर्ने तयारीमा थियो ।

अल्मुताइरी आफैंले राजीनामा घोषणा गरेपछि यो विषय अब चाँडै टुङ्गिने भएको छ । यो विषय सकरात्मक रुपमा टुङ्गिएमा कतार फुटबल संघले एन्फालाई अर्को प्रशिक्षक पनि पठाउन सक्छ ।

यद्यपी एन्फाले पनि अब युरोपियन स्तरको प्रशिक्षक भित्र्याउनका लागि प्रयास गरिरहेको स्रोतले अनलाइनखबरलाई बताएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?