+
+

चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते २०:०७

२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको  छाउनीको १५ रोपनी जग्गा प्रेरणाकै भएको दावी गरेका छन् ।

महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा वीरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताए ।

‘प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन, तत्कालीन श्री ५ वीरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । राज्यको त्यसमा लगानी होइन’, जबराले बयानमा भनेका छन्, ‘सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरवारजस्तो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा वीरेन्द्रको स्वर्गारोहण पछाछि सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजोस्वरुप दिए ।’

मालपोत कार्यालयमा पास गर्ने अन्तिम चरणमा रोकिएको र विवाद भएको भन्दै जबराले त्यसलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । तत्कालीन राजाको दुई प्रकारको जग्गा रहेको भन्दै उनले सार्वजनिक सम्पत्ति मात्रै राष्ट्रियकरण भएको दावी गरे ।

‘हामीले फैसला गर्दाको अवस्थासम्ममा प्रेरणालाई दाइजो स्वरुपमा दिएको, पास गर्नलाई मालपोत कार्यालयमा गएको, पास हुन बाँकी रहेको यो सम्पत्ति निजी सम्पत्ति हो,’ जबराले बयानमा भने, ‘व्यक्ति मरेपछि अपुताली त छ नि । अपुताली खाने छँदैछ नि । राजा व्यक्ति होइन र ? उसको निजी सम्पत्ति उसको सन्तानले अपुताली पाउँदैन र ?’

तत्कालीन राजा ज्ञानेन्द्रले समेत आफ्नो निजी सम्पत्तिमा आफूखुसी गर्न स्वतन्त्र हुने भन्दै उनले आफूहरुको फैसलापछि ‘हौवा फिजाइँएकाले’ आफू समेतले गरेको फैसला उल्टिएको दावी गरे ।

उनले आफू प्रधानन्यायाधीश भएपछि समेत सर्वोच्च अदालतमा प्रेरणाको तर्फबाट रिट निवेदन दर्ता भएको तर त्यसमा आफ्नो कुनै भूमिका नभएको दावी गरे । ‘मुद्दा ल्याउन प्रधानन्यायधीशले कसैलाई प्रेरणा दिन्छ र ? उसका(प्रेरणाका) कानून व्यवसायी छैन र ?’ जबराले बयानमा भने, ‘बहस गर्ने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की ? प्रधानन्यायधीशले बद्रीबहादुर कार्कीलाई प्रयोग गरेको होला ? यो गलत हो, यस्तो चिज होइन ।’

हेर्नुहोस् : जबराले प्रेरणाको जग्गाबारे दिएको अभिव्यक्ति

प्रेरणाको मुद्दामा हामीले मिहिन तरिकाले, गहन तरिकाले प्रमाणको मूल्यांकन गरेका छौं । नेपाल ट्रष्ट ऐनको मिहिन तरिकाले अध्ययन र व्याख्या गरेका छौं ।

प्रेरणा राणासँगको सम्बन्धित जग्गा तत्कालीन श्री ५ को होइन । तत्कालीन श्री ५ वीरेन्द्रलाई अपुतालीलाई प्राप्त भएको जग्गा हो । उहाँको फुपु कि कोबाट अपुतालीमा जग्गा प्राप्त भएको छ । राज्यको त्यसमा लगानी होइन ।

सरकारले यसलाई खरिद गरिदिएर राखिदिएको राजाको राजदरबारजस्तो होइन । त्यहाँ बनेका घरहरुजस्तो यो होइन । यो नितान्त अपुताली र व्यक्तिगत सम्पत्ति हो । राजा विरेन्द्रको स्वर्गारोहण पछाडि त्यो सम्पत्ति राजा ज्ञानेन्द्रकोमा आयो । राजा ज्ञानेन्द्रले प्रेरणालाई यो दाइजोस्वरुप दियो । मालपोत कार्यालयमा दाइजोस्वरुप दिएकोमा पास गरिदिनलाई लेखेर गयो । त्यही विधिले मालपोत कार्यालयले पास गर्ने रहेछ । पास गर्नमात्रै बाँकी रहेको जग्गा हो ।

अब नेपाल ट्रष्ट ऐन बन्यो । अब दुर्भाग्यपूर्ण भन्नुपर्छ । पदमा बसेका राजाको दुई किसिमको सम्पत्ति हुन्छ । एउटा निजी सम्पत्ति हो । एउटा सार्वजनिक सम्पत्ति हुन्छ । सार्वजनिक सम्पत्ति भनेको राज्यको हुन्छ । त्यो चै ठिकै हो ।

तर ऐन बन्दाखेरी श्री ५ विरेन्द्रको स्वर्गारोहण हुनुभन्दा अगाडिका सबै सम्पत्ति भन्दियो । त्यसो भन्ने हो भने त (त्यो ऐनको त्यसरी व्याख्या गरिदियो भने त) हिजो पदाधिकारीहरुलाई जति पनि दिएको छ, त्यो त सब्बै खोजेर अहिले नै सार्वजनिक गरिदिए भैहाल्यो नि ।

तर त्यस्तो होइन, कानूनको अर्थ, संविधानको अर्थ त्यस्तो तरिकाले व्याख्या गरेर निकास हुँदैन । तर यो बदर भएर फेरि अहिले सरकारकै नाममा ट्रष्टकै नाममा गइसक्यो । फैसलाको फेरि बर्खिलाममा जान खोजेको पनि होइन । म जान पनि सक्दिन, त्यो पनि जान्न ।

तर हामीले फैसला गर्दाको अवस्थासम्ममा प्रेरणालाई दाइजो स्वरुपमा दिएको, पास गर्नलाई मालपोत कार्यालयमा गएको, पास हुन बाँकी रहेको यो सम्पत्ति निजी सम्पत्ति हो । ट्रष्ट बन्दा अर्थ हामीले लगाएका छौं व्याख्या हामीले गरेका छौं । राजा विरेन्द्रको र परिवारको ट्रष्टमा जाने भनेको त उनको परिवारकोमा रहेको सार्वजनिक प्रकृतिको अर्थात राज्यको सम्पत्ति त्यसमा जानुपर्ने हो । व्यक्तिगत सम्पत्ति (होइन) । व्यक्ति मरेपछि अपुताली त छ नि । अपुताली खाने छँदैछ नि । राजा व्यक्ति होइन र ? उसको निजी सम्पत्ति उसको सन्तानले अपुताली पाउँदैन र ?

कानुनको भाषा अनुसार, संविधानको, अनि त्यसपछि मुलुकी ऐनको अनुसार ट्रष्टमा गरेको व्यवस्थालाई व्याख्या गरेर..होइन है, यो त निजी सम्पत्ति राजाकोमा आएको, उसको मृत्युपछि राजा ज्ञानेन्द्रको सम्पत्तिमा हक लाग्छ । र, उसले आफ्नो छोरीलाई दिएर पास गर्न मात्रै बाँकी भएको हो । मालपोत कार्यालयले प्रक्रिया अनुसार जहिले पनि पास गर्नसक्छ । त्यसैले यो प्रेरणाकै जग्गा हुनुपर्नेमा ट्रष्टको नाममा गयो है, यो सार्वजनिक सम्पत्ति होइन । ट्रष्टकोमा गएकाले यो उसैको (प्रेरणाको) नाममा गरिदिने भनेर गरिहाले ।

यस्तो किसिमकोलाई..म त पछाडी भनिहाले…..एक किसिमको ….धेरै कुराहरु भन्दाखेरि…. प्रधानन्यायाधीशको सोच र अरुको फरक हुँदो रहेछ । त्यसपछि ‘ह्याभोक क्रिएट’ गरियो, त्यसपछाडि फैसला परिवर्तन भयो ।

फेरि रिट निवेदन आयो । मेरै इजलासमा आयो । प्रक्रिया अनुसार गएको त बदर हुन सक्दैन भनेर……। पछाडि आएको फेरि फरक हो । पछाडि आएको चाहिँ ट्रष्ट ऐन र संविधान बाझियो भनेर मुलुकी ऐनका कुरा ल्याएर ट्रष्टको हुने भनेर रिट आएको हो । रिट पनि औचित्यभित्र भनेर मेरै नेतृत्वमा खारेज गरेको छ । मैले मुद्दा हाल्न लगाएर मैले खारेज गर्न लगायो भनिदिए पनि भयो ।

मुद्दा ल्याउन प्रधानन्यायाधीशले कसैलाई प्रेरणा दिन्छ र ? उसका कानून व्यवसायी छैन र ? बहस गर्ने बद्रीबहादुर कार्की ? प्रधानन्यायधीशले बद्रीबहादुर कार्कीलाई युज गरेको होला ? यो गलत हो, यस्तो चिज होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?