+
+
स्थलगत :

गन्यापधुरा : प्रधानमन्त्रीको गाउँ भन्दा नलुक्ने लज्जा

प्रधानमन्त्री देउवा असिग्रामकै भएपनि यहाँका नागरिकले आधारभूत सुविधा समेत पाउन सकेका छैनन् । अहिले पनि स्वास्थ्यमा थोरै बढी समस्या देखिए सदरमुकाम खलंगा वा छिमेकी मुलुक भारतका अस्पताल पुग्नु असिग्रामवासीको नतोडिएको नियति भएको स्थानीय बताउँछन् ।

सइन्द्र राई सइन्द्र राई
२०७९ भदौ २७ गते २०:१०
प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ र भग्नावशेषका रुपमा रहेको उनको घर ।

२७ भदौ, गन्यापधुरा । ‘असिग्रामको मुख्य समस्या, हेलिप्याड…’ गगनसिंह सार्की (६५) ले समाधान पनि दिइहाले, ‘मैले निवेदन दिइसक्या छु ।’

गगनसिंह, प्रधानमन्त्री शेरबहादुर देउवाका गाउँ असिग्रामका स्थानीय हुन् । १५ वर्षदेखि उनी नेपाली कांग्रेस असिग्रामका उपसभापति छन् । असिग्राम पहिले डडेलधुराको एक गाविस थियो, २०७२ को संविधानपछि गन्यापधुरा गाउँपालिकाको वडानम्बर एक बनेको छ ।

२१ भदौमा देेउवाकै घर मुनि रूवाखोला छेउ भेटिएका गगनसिंहले असिग्रामका अरू असुविधा र अभाव लुकाउन खोजेका थिए । तर, छेउमै रहेकाहरूले प्रधानमन्त्रीकै गाउँ भएपनि थुप्रै समस्या खेप्नुपरेको सुनाउन थालेपछि गगनसिंहले उनीहरूलाई रोक्दै हेलिप्याड नहुनु मुख्य समस्या भएको बताए ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये डडेलधुरामा मात्रै विमानस्थल नभएकाले हवाई उडानका निम्ति हेलिप्याड निर्माणको माग स्वाभाविक नै मान्न सकिन्छ । तर असिग्राममै जन्मिएका देउवा, २०५२ सालयता पाँच पटक प्रधानमन्त्री भइसक्दा बल्ल कांग्रेसका स्थानीय नेताहरुले हेलिप्याडको अभावलाई समस्या देख्नु भने स्वभाविक कुरा होइन ।

एक स्थानीयले कारण खुलाए- असिग्राममा हेलिप्याडको माग आगामी आमनिर्वाचनसँग जोडिएको रहेछ । ‘अस्तिको चुनावमा (३० वैशाख) प्रधानमन्त्रीको हेलिकोप्टर कहाँ राख्ने भन्नेमा लफडा नै भयो, खेतमा राख्न नदिने भनेर विरोध भयो’, ती स्थानीयले सुनाए । गएको स्थानीय चुनावमा आफैंले कक्षा-७ सम्म पढेको असिग्राम माविस्थित मतदान केन्द्रबाट प्रधानमन्त्री देउवाले मतदान गरेका थिए ।

तर अघिल्ला चुनावहरूमा जस्तै, मतदान केन्द्र नजिकैको खेतमा यसपटक प्रधानमन्त्री देउवा सवार हेलिकोप्टर राख्न दिन्नौं भनेर स्थानीयले विरोध गरे । त्यसपछि कांग्रेस नेताहरूले हेलिप्याड निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । ‘जनताको समस्या सोचेका भए त उहिले नै सडक पिच हुन्थ्यो, अस्पताल बनाउन सकिन्थ्यो नि’ अर्का ६२ वर्षीय वृद्धले भने, ‘बेलामा उपचार नपाएर कति मान्छे मरे ।’

हुनपनि १५ हजार ९३ जनसंख्या (जनगणना-२०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार) रहेको गन्यापधुरा (असिग्रामसहित) जोड्न अहिले पनि गतिलो सडक छैन । पूर्व-पश्चिम राजमार्गको अत्तरियाबाट डडेलधुरा सदरमुकाम खलंगा सडक खण्ड अन्तर्गत भात्काडा पुगेपछि गन्यापधुरा छुट्ने कच्ची सडक वर्षाको बाढीले चिराचिरा पारेको छ ।

यो सडक खण्डको अवस्थाले असिग्रामवासी सुविधाबाट बञ्चित मात्रै छैनन्, बाहिरबाट आउनेहरुको प्रश्नले लज्जित पनि देखिन्छन् । ‘प्रधानमन्त्रीकै गाउँ जाने बाटो यस्तो भनेको सुन्दा नराम्रै लाग्छ नि, फेरि धेरै लामो पनि होइन’, पदम दिपाल (५४) भन्छन् ।

यो सडक राम्रो नभएकैले प्रधानमन्त्री देउवा स्थानीय चुनावमा हेलिकोप्टरबाट सिंधै असिग्राम ओर्लिएका थिए । ‘एक पटक शेरबहादुर देउवा खलंगाको हेलिप्याडमा ओर्लिएर असिग्राम आएको याद छ’ असिग्रामकै अर्का वृद्धले भने, ‘तर अगाडि-अगाडि डोजर चलाएर आउनु परेको थियो ।’

असिग्राम गाउँ ।

उसो त, कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) तिर लागेका कर्ण मल्ल र नेकपा एकीकृत समाजवादीका नेता डा.तारा जोशीको पनि गन्यापधुरा गृह पालिका हो । तर अहिले पनि यो सडक खण्ड (भात्काडादेखि असिग्राम ८ किलोमिटर) पक्की नहुँदा मुस्किलले चल्ने यात्रु बसमा स्थानीयले महँगो शुल्क तिर्न बाध्य छन् । ‘बस सधैं चल्दैन, चलेको बेला पनि ३५० रुपैयाँसम्म तिर्नुपर्छ’, स्थानीय सेते दमाई (४७) भन्छन् ।

अर्थात् असिग्रामको प्रमुख समस्या हेलिप्याड नभएर सडक हो । सडक गतिलो नबनेकैले प्रधानमन्त्री देउवाको गाउँ असिग्राम मुलुकका अरू भू-भागसँग सहज रुपमा जोडिन सकेको छैन, जसकारण मानवीय र भौतिक विकासले गति लिन सकेको देखिंदैन ।

नछोपिएको पीडा

प्रधानमन्त्री देउवाले आफू जन्मिएको, पढे-बढेको गाउँको अनुहार फेर्न आवश्यक पहल नगरे पनि असिग्रामको स्नेह अहिले पनि उस्तै देखिन्छ । गएको स्थानीय चुनावको नतिजा बिर्सने हो भने यहाँका स्थानीयले सधैं देउवाको गाउँले हुनुमा गौरव गरे, लगातार मतदान गरे । २०४८ यताको ६ वटै चुनाव देउवाले जित्दा असिग्रामवासीले उत्सव मनाए । ‘हाम्रै काका देशको प्रधानमन्त्री भन्दा गौरव लाग्छ, असिग्रामको नाम संसारले चिनेको छ’, देउवाका छिमेकी पदम दिपाल भन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको घरको भग्नावशेष

तर सँगै, प्रधानमन्त्री देउवाले आफू जन्मिएको असिग्रामको घर समेत सुरक्षित नराखेको (पुनर्निर्माण) तथ्यबाट भने उनी झस्किन्छन् । अहिले असिग्राममा देउवाको घरको भग्नावशेष मात्रै छ । २०५८ सालमा माओवादीले देउवाको घर ध्वस्त गरेको थियो, त्यसपछि न देउवा फर्किए, न घर पुनर्निर्माण गरे । ‘२०५१ सालको चुनावमा आरजुलाई लिएर आउनुभयो, त्यसपछि छैन’, दिपाल भन्छन् ।

काठमाडौंको बुढानीलकण्ठ बस्ने देउवाको घर हेर्न आउनेलाई छिमेकीहरुले असिग्रामको त्यही भग्नावशेष देखाइदिने गरेका छन् । ‘घर हेर्न आइराख्छन्, भएको यही हो’ दिलबहादुर देउवा (६२) भन्छन् ।

देशकै प्रमुख पार्टीका सभापति रहेका देउवाको घर हेर्न आउनेले यहाँका नागरिकले खेपिरहेको दुःख पनि देख्छन् । ‘भएको दुःख कहाँ लुकाउनु ?’, लक्ष्मणबहादुर रावत (५५) भन्छन्, ‘ऋण लिएर घर बनाउँदैछु, जेठा छोरा कमाउन इण्डिया गाको छ ।’

लक्ष्मणको घर गएको वर्ष २ कात्तिकमा गएको पहिरोबाट भत्किएको थियो । केही समय त कतैबाट सहयोग पाउने आशामा बसे, तर आश मरेपछि ऋण लिएर घर बनाइरहेका छन् । जबकी पहिरोबाट भत्किएको यो घरसँग प्रधानमन्त्री देउवाको पुरानो सम्बन्ध छ ।

९३ वर्षीया देवकी रावत ।

असिग्राम माविमुनि रहेको यो घरमा देउवाले बाल्यकालमा खाना खाने गरेको देवकी रावत (९३) सम्झन्छिन् । ‘स्कूल जान्या, यही आएर भात खाने । यही आयो, भात खायो, गयो’, असिग्राम मावितिर देखाउँदै देवकीले भनिन् । देवकीकै छोरा हुन्, लक्ष्मण । नाती प्रकाश पढाइ छोडेर भारत पसेका छन् । ‘आम्दानी छैन, खेतीपातीबाट खान पुग्दैन,’ लक्ष्मणले भारत पस्नुको पीडा पोखे ।

आम्दानीको स्रोत अरु भरपर्दो नहुँदा भारत पस्नु असिग्रामको घरघरकै समस्या भएको लक्ष्मणको भनाइ छ । अझ गएको वर्ष बाढीपहिरो आउँदा असिग्राममा अर्को समस्या थपियो । ‘बाढी पीडित छ, पाँच बस्ती उठ्या छ, त्यहाँको मान्छे कहाँ राख्ने, मलाई समस्या छ’, कांग्रेस असिग्रामका उपसभापति गगनसिंले भने । बाढी पीडितको समस्याबारे भानु देउवा (प्रधानमन्त्री देउवाका स्वकीय सचिव) लाई जानकारी गराएको उनी बताउँछन् ।

त्यसो त, बाढीपहिरो पीडितको अवस्था बुझ्न १७ कात्तिक ०७८ मा गृहमन्त्री बालकृष्ण खाँण हेलिकोप्टर चढेर असिग्राम पुगेका थिए । देउवाका विश्वास पात्र रहेका गृहमन्त्री खाँणले पीडित परिवारको पुनर्स्थापनामा सरकारको सहयोग हुने बचन दिएका थिए । तर पीडितले अहिलेसम्म सहयोग नपाएको स्थानीयहरू बताउँछन् ।

त्यसबेला बाढीपहिरोमा परी गन्यापधुरा-१ भात्काडाका ३२ वषर्ीया विष्णु अवस्थी र गन्यापधुरा-३ का ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको थियो । असिग्रामसहित गन्यापधुराका २५० परिवार प्रत्यक्ष प्रभावित बनेका थिए । ‘भत्किएको घर हेर्न हेलिकोप्टरबाट गृहमन्त्री आउनुभयो, भोट हाल्न प्रधानमन्त्री आउनुभयो । तर सहयोग गर्नुभएन’, शेरबहादुर रावत (६९) भन्छन् ।

शेरबहादुर देउवाका काका नाता पर्ने इन्द्र देउवा (बायाँ)

६४ वर्षीय इन्द्रबहादुर देउवा (प्रधानमन्त्रीका काका नाता पर्ने) भने, असिग्रामको जनताले दुःख पाइरहनुमा प्रधानमन्त्री देउवा नभएर जिल्लाका नेताहरूलाई दोषी देख्छन् । ‘३० वर्षअघि खोलिएको सडक अझै राम्रो छैन, यो कुरालाई यहीकै नेताहरुले ध्यान दिनुपर्ने हो’, उनी भन्छन् । उनको तर्कमा देउवा परिवारका सदस्यहरू सहमति जनाउँछन् ।

तर तर्क जस्तो गरेपनि प्रधानमन्त्री देउवा असिग्रामकै भएपनि यहाँका नागरिकले आधारभूत सुविधा समेत पाउन सकेका छैनन् । अहिले पनि स्वास्थ्यमा थोरै बढी समस्या देखिए सदरमुकाम खलंगा वा छिमेकी मुलुक भारतका अस्पताल पुग्नु असिग्रामवासीको नतोडिएको नियति भएको स्थानीय बताउँछन् ।

उच्च शिक्षाका निम्ति अहिले पनि त्यस्तै कठिनाइ व्यहोर्नुपर्छ, जस्तो कठिनाइ देउवाले खेपेका थिए । बरू, प्रधानमन्त्री देउवाको मान राख्न खोज्दा थप सास्ती उठाउनेहरू भने ठूलै संख्यामा भेटिन्छन् । कतिसम्म भने प्रधानमन्त्री देउवाकै गाउँका भएकाले मुक्त हलियाले सरकारले दिएको सुविधा समेत पाउन सकेनन् । त्यसैको उदाहरण हुन्- पावर्ती सार्की (३५) र निर्मलादेवी सार्की (२५) ।

पावर्तीका पति टेकबहादुर, बर्सेनि रोजगारीका निम्ति भारतका विभिन्न शहर पुग्छन् । यसपटक मद्रास गएका छन् । खेतीपाती र बस्तुभाउ हेर्दै पार्वती बालबच्चा हुर्काइरहेकी छन् । ‘खान पुग्दैन, सकेसम्म गर्नु परिहाल्छ’, उनी भन्छिन् । पावर्तीको चाहना बालबच्चाले आफूले जस्तै बीचमै पढाइ छोड्न नपरे हुन्थ्यो भन्ने छ ।

तर उनको मनमा ठूलो डर छ । ‘कुन दिन निस्केर जा भन्या हुन्’ उनी भन्छिन् । पार्वती बसेको जमिन प्रधानमन्त्री देउवाको हो । पार्वतीजस्तै निर्मलादेवी पनि देउवा परिवारकै जमिनमा बस्छिन् । उनका पति लालबहादुर पनि भारतमै छन् । तर निर्मलादेवीको पीडा भने पार्वतीको भन्दा भिन्न छ ।

निर्मलादेवी, पढेर राम्रो पेशाका लागि योग्य बन्न चाहन्थिन् । तर कक्षा-५ भन्दा बढी पढ्न सकिनन् । उनका आमालाई रोग लाग्यो, उपचार गर्न बाबुसँगै दाइ पनि भारत गए । त्यसपछि भाइबहिनीको रेखदेख र घर धान्न निर्मलादेवीले पढाइ छोड्नुपर्यो । विवाह भयो, अहिले ३ र ५ वर्षका दुई छोरी छन् ।

निर्मलादेवी सार्की ।

‘यत्रो ठूलो मान्छे, हाम्रै नाममा जग्गा गरिदिए हुन्थ्यो लाग्छ’, निर्मलादेवीले भनिन् । यसरी देउवा परिवारको जग्गामा बस्ने, तर रोजगारीको खोजीमा भारतीय शहरहरुमा भौंतारिने परिवार संख्या असिग्राममा १६ घर छन् । ‘मुक्त हलियाको लगत संकलन गर्दा उनीहरुसँग (असिग्रामका हलिया परिवार) जमिन छ भनिएछ, तर प्रधानमन्त्रीको जमिनमा बसेका थिए,’ मुक्त हलिया डडेलधुराका अध्यक्ष भरत सार्की भन्छन् ।

प्रधानमन्त्री देउवाकै गाउँमा हलिया रहेको लगत संकलन गर्नुलाई लाजको विषय बनाउँदा अहिले त्यहाँ नयाँ समस्या आएको उनी बताउँछन् । ‘पाँच चोटी प्रधानमन्त्री भइसक्नुभएको छ, उहाँकै वडामा, जमिनमा बसेका मुक्त हलियाको आज पनि आफ्नो नाममा जमिन छैन’ सार्की भन्छन्, ‘बस्ने बास छैन, खाने गास छैन ।’ एकपटक भएपनि छुट भएका हलियाहरुको लगत संकलन गर्नुपर्ने उनको माग छ ।

सरकारले मुक्त हलिया घोषणा गरेको र आफ्नो जमिन पनि नहुँदा दोहोरो समस्या खेप्नुपरेको पार्वती बताउँछिन् । ‘उनीहरुकै घरमा जान्थ्यो, काम गरेर ल्याउँथ्यो । त्यो छैन, अहिले । सबै किनेर खानुपर्छ’, हलिया मुक्त घोषणापछिको समस्याबारे पार्वती भन्छिन् ।

देउवालाई पनि चुनौती

असिग्रामवासीको जस्तो जीविकासँग जोडिने समस्या खेप्न नपरे पनि आउने चुनावमा प्रधानमन्त्री देउवाले पहिलोपटक यहाँबाट नयाँ चुनौतीको सामना गर्नुपर्ने प्रष्ट संकेत भने देखिएको छ । जसको सन्देश गएको स्थानीय चुनावको नतिजा र स्थानीयको प्रतिक्रियाबाट प्रधानमन्त्री देउवालाई दिइएको छ । ‘पहिले यहाँ कांग्रेस बाहेक अरु थिएन, अहिले सबै दल भइसक्यो’, एक स्थानीयले भने ।

देउवाको घरमै आगजानी गर्ने माओवादीले समेत संगठन बनाउन नसकेको असिग्राममा कांग्रेस पहिलोपटक क्लिनस्वीप भएको छ । गाउँपालिका कांग्रेसले नै जितेपनि देउवाको गाउँ रहेको गन्यापधुरा-१ मा वडाध्यक्षसहित सबै पदमा कांग्रेस (बीपी) का उम्मेदवार विजयी भए ।

कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) तिर लागेका कर्ण मल्ल ।

कांग्रेसका वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याएर पराजित हुँदा नरेशराज भण्डारीले ६७३ मत सहित विजयी भए । कांग्रेसबाट विद्रोह गरेका नरेशलाई एमालेको समर्थन थियो ।

वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र जोशीले ८३ र राप्रपाका शुभाषचन्द्र भट्टले ८ मत पाए । सबै गरेर कांग्रेस इतरमा ७६४ मत खस्यो । यो भनेको कुल सदर मत (१३०८) को ५८ प्रतिशत हो ।

लामो समय देउवाकै सहयोगी रहेका कर्ण मल्लको विद्रोहले मात्रै नभएर असिग्रामवासीको असन्तुष्टि समेत यसमा जोडिएको कतिपय स्थानीयको टिप्पणी छ । ‘प्रधानमन्त्री जन्मिएको गाउँ भनेर बसियो । गाउँमा विकास छैन, रोजगारी छैन’ असिग्रामका २५ वर्षीय एक युवक भन्छन् । तर कांग्रेसका स्थानीय नेताहरू भने असिग्राममा कांग्रेस हार्नुको पछाडि आरजु देउवाले गलत मान्छे उम्मेदवार बनाएको कारण ठान्छन् । ‘यहाँ बिजुली छ, स्कूल छ, उहाँले त ७७ जिल्ला नै हेर्नुपर्छ नि’, कांग्रेसका स्थानीय नेता गगनसिं भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?