+
+

तम्घास सिमलटारी सडकमा पक्की पुल नहुँदा सास्ती

अनिल खत्री अनिल खत्री
२०७९ भदौ २७ गते १३:५२

२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।

तम्घास सिमलटारी सडक अन्तर्गत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, फुलबारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधन र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो ।

पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले सवारी साधन बगाउने गरेको विद्यार्थी बसु क्षेत्रीले बताइन् । पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाइ हुने गरेको उनले बताइन । चक्रबन्धु भुसाल यात्रा गर्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको बताउँछन् ।

मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले हुलाके, धनार्जी, पुलबारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनले बताए ।

पन्त निर्माण सेवाले फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ । हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए ।

घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता भएको मदन भण्डारी राजमार्गका इन्जिनियर गौतमले बताए ।

घमिर खोलाको पुल १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । त्यस्तै धनार्जी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागतमा निर्माण हुनेछ ।

धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाइ ११ मिटर चौडाइको हुनेछ ।

चुनाव नजिकिएपछि झुल्किए सांसद

घमिर खोलामा पक्कि पुल बन्ने स्थानमा पुगेर गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्णराज बिष्टले अवलोकन गरे । यस भेगमा सबैभन्दा लामो समय जनप्रतिनिधि रहेका उनीमाथि निर्वाचन जितेपछि भने निर्वाचन क्षेत्रको बेवास्ता गरेको आरोप लाग्ने गर्छ । अवलोकनको क्रममा तम्घास सिमलटारी सडक अन्तरगत पर्ने सबै खोलामा पुल निर्माण गर्न निर्माण कम्पनीलाई ठेक्का दिइसकेको तर समयमा काम नगर्दा जनताले सास्ती भोग्नुपरेको बिष्टले बताए ।

ठूलो संघर्षले तम्घास सिमलटारी सडक कालोपत्रे गर्न सफल भएको उनले बताए । सडक कालोपत्रे भएपछि पक्की पुल बन्न बाँकी रहेका स्थानमा तोकिएकै समयमा पुल निर्माण हुनेमा आफू विश्वस्त रहेको बिष्टले बताए ।

ठेक्का पाएको निर्माण कम्पनीले आउँदो असोजदेखि निर्माण कार्य सुरुगर्ने बताएका छन् ।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम तीन वर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो । तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर सडकको ट्रयाक खोल्ने कार्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?