+
+

निक्षेपमा ब्याजदर छानबिन गर्दै राष्ट्र बैंक, बढी दिएको पाए निष्क्रिय बनाइदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १७:३५

२८ भदौ, काठमाडौं । बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि राष्ट्र बैंकले अनुगमन सुरु गरेको छ ।

निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले १८ भदौमा आयोजना गरेको एक कार्यक्रममा पनि डेपुटी गभर्नर मिश्रले प्रकाशित ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारवाही हुने चेतावनी दिएका थिए । ‘जथाभावी ब्याजदर तलमाथि गर्ने बैंकलाई कारबाही हुन्छ, कर्पोरेट निक्षेपलाई व्यक्तिगत बनाउन पाइदैन’ उनले भनेका थिए, ‘कमा, फुलस्टप जस्ता लुपहोल प्रयोग नहोस्, नियाकीय निर्देशन उलंघन गर्न मिल्दैन ।’

राष्ट्र बैंकले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गरेर तलमाथि गर्नसक्ने व्यवस्था गरेको भन्दै ब्याजदर प्रकाशित गरेर बढाउन सकिने तर, छिद्र खोज्ने कार्य स्वीकार्य नहुने बताएका थिए ।

ब्याजदरका विषयमा एउटा बैंकले अर्को बैंकमाथि उजुरी गर्ने क्रम बढेको र दुई दर्जन भन्दा बढी उजुरी आफूलाई आएको भन्दै डेपुटी गभर्नर मिश्रले त्यसमा अध्ययन हुने बताएका थिए ।

ब्याजदर र निक्षेप खोसाखोस गर्ने उजुरी बढेसँगै राष्ट्र बैंकले उजुरीका आधारमा छानबिन सुरु गरेको अर्का एक अधिकारीले बताए । उनका अनुसार उजुरीको आधारमा बैंकहरुसँग विवरण माग गरिएको छ ।

निक्षेपकर्तालाई स्वघोषणा गराएर बैंकहरुले रेमिट्यान्स निक्षेप भन्दै प्रकाशित ब्याजदरमा दुई प्रतिशतसम्म बढी ब्याज दिइरहेका छन् ।यस्तै संस्थागत निक्षेपकर्तालाई समेत व्यक्तिगत निक्षेपकर्तालाई प्रकाशित गरेको ब्याजदर दिइरहेका छन् ।

‘कतिपय संस्थागत निक्षेपकर्ताले अर्को बैंकले यति प्रतिशत ब्याजदर दिन्छु भनेको छ भनेर बैंकमा भएको निक्षेप पनि लगिरहेका छन् । हामीले प्रकाशित ब्याजदर भन्दा बढी दिन सक्दैनौं भन्दा व्यक्तिगत मात्रै होइन संस्थागत निक्षेप नै बाहिरिएको छ’, एक बैंकर्सले भने, ‘दीर्घकालीन निक्षेप योजनाहरु ५ गुणा १० गुणा भनेर ल्याएको निक्षेप योजनाको पनि अवस्था उस्तै छ ।’

नयाँ आर्थिक वर्ष सुरु भएसँगै अधिकांश बैंकहरूले धमाधम मुद्दती निक्षेप योजना सार्वजनिक गरे । जसमा बैंकले ग्राहकलाई १० गुणासम्म प्रतिफल दिने योजना ल्याएका छन् । यस्ता अफर ल्याउँदै अधिकांश बैंकले आˆना कर्मचारीलाई पद अनुसार निक्षेप ल्याउन लक्ष्य दिने गरेको र यस्तो अवस्थामा कतिपय निक्षेप भने अवधि पूरा नहुँदै समेत झिक्न माग आएको एक बैंकका शाखा प्रबन्धकले बताए ।

कतिपय निक्षेपकर्ता अर्को बैंकको नाम लिँदै यति प्रतिशत ब्याज दिन्छु भनेको छ त्यति दिने भए नवीकरण गर्नु अन्यथा त्यसमा लैजान्छु भन्दै वार्गेङ गर्ने गरेको उनले सुनाए । एकातिर टार्गेट पुर्‍याउनुपर्ने दबाव र अर्कोतिर निक्षेप बाहिरिने जोखिम । जसले गर्दा निक्षेपकर्तालाई बैंकहरुले छानबिन भए प्रमाण पेश गर्ने स्वघोषणा गराएर रेमिट्यान्स निक्षेप भन्दै केही बैंकले १३ प्रतिशतसम्म ब्याजदर दिएका छन् ।

राष्ट्र बैंकका अधिकारीहरु भने छानबिन सुरु गरेको र कमजोरी गर्ने जुनसुकै बैंकलाई पनि कारवाही हुने बताउँछन् । ‘गुनासो धेरै आएका छन्, के रहेछ विवरण माग गरेर हेछौर्ं’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘बैंकहरुले गल्ती गरेका रहेछन् भने कसरी छोड्नु, बदमासीको पराकाष्टा भएको छ, कतिपटक छोड्ने ।’

यसरी बढी ब्याजदर दिएर लिएको निक्षेप राष्ट्र बैकको अध्ययनपछि घटाउनुपर्ने अवस्था पनि आउनसक्ने ती अधिकारीले बताए । अहिले रेमिट्यान्स भनेर स्वघोषण गराएको निक्षेप रेमिट्यान्सको स्रोत पुष्टी नभएमा निक्षेपकर्तालाई नै पनि कारवाही हुनेसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

यति बढी ब्याजदर दिएर अन्य बैंकका निक्षेप ल्याएको छ भने ब्याजदर घटाएर पनि उक्र बैंकको खातामा किन राख्ने दिन भन्दै त्यो निक्षेप नै निष्त्रिmय गराउनुपर्ने अवस्था आउन सक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ब्याजदर घटाएर त्यही बैंकमा उक्त निक्षेप राख्न दिँदा बदमासी गर्ने बैंकलाई नै फाइदा हुने भन्दै त्यसमा राष्ट्र बैंक सजग रहेको उनले बताए ।

१/२ प्रतिशत ब्याजदरको लोभमा बैंकर्सको गलत कार्यको साथी नबन्न उनले निक्षेपकर्तालाई पनि आग्रह गरे । विगतमा पनि बैंकहरूले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाउन बैंकलाई ब्याजदर फिर्ता गर्न लगाएको भन्दै नियामकीय व्यवस्था उलंघन गर्ने कुरा स्वीकार गर्न नसकिने उनले बताए ।

नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा भद्र सहमति गरेको छ भने राष्ट्र बैंकले पनि व्यक्तिगत मद्धती निक्षेपको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत भन्दा बढीले तलमाथि गर्न नपाइने व्यवस्था गरेको छ ।

यस्तै व्यक्तिगत मुद्धती निक्षेपमा दिएको अधिकतम ब्याजदर भन्दा संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले कम हुनुपर्ने र मुद्धती निक्षेपको अधिकतम र बचतको न्युनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै रेमिट्यान्समा भने मुद्धती र बचतमा व्यक्तिगतको भन्दा १ प्रतिशत बढी ब्याजदर दिनुपर्ने र प्रकाशित गरेर त्यसभन्दा बढी ब्याज दिनसक्ने व्यवस्था छ ।

बैंकहरुले भदौ महिनाको लागि मुद्धती निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्दा बचतमा न्यूनतम ६ प्रतिशत प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले भद्र सहमति गरेर सबै बैंकले एउटै ब्याजदर प्रकाशित गर्ने र त्यही प्रकाशित ब्याजदरमा लुपहोल खोज्दै ब्याजदर बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?