+
+

रकम हिनामिना आरोपमा कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैद

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते २०:१४

२८ भदौ, काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहर सहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय तोकेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको हो ।

नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक दीपिका रेग्मीलाई दोषी ठहर गरेर विशेष अदालतले सोमबार कैद निर्धारण समेत गरेको सूचना अधिकारी नारद भट्टराईले बताए । उनीहरुमाथि बैंकको ४ करोड रुपैयाँ हिनामिना गरेको आरोप थियो ।

विशेष अदालतका सदस्यहरु शालिकराम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनीहरुलाई कैद सजाय गरेको हो । विशेष अदालतले गत ७ भदौमै उनीहरुलाई दोषी ठहर गरेको थियो । ३ वर्षमाथिको सजाय मागदावी गरिएको मुद्दामा आरोपितहरु दोषी ठहर भएमा कैद निर्धारणका लागि अलग्गै सुनुवाइ हुने व्यवस्था अनुसार सजाय निर्धारण भने सोमबार गरेको हो ।

विशेष अदालतले रेग्मीमाथि ३ करोड ९२ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । त्यस्तै पूर्व सहायक रथी विष्टमाथि ३१ लाख ६८ हजार रुपैयाँ विगो भराउने फैसला पनि गरेको छ । उनीहरुले यो रकम जरिवाना बापत तिर्नुपर्नेछ ।

२९ पुस २०७६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको रकम आफूले निकालेर अनियमितता गरेको आरोपमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले कृषि विकास बैंकको न्यूरोड शाखाकी सहायक दिपिका रेग्मी सहित शाखा प्रवन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, ऋण शाखाका अर्का प्रमुख महेश्वर मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस्तै तारानाथ पाण्डे र अवकाश प्राप्त सहायक रथी विष्ट विरुद्ध समेत मुद्दा दायर भएको थियो । दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।

दुई जना आरोपितहरुमाथि सबुत प्रमाण भेटिएपनि अख्तियारले अरुमाथि भने आफूले निरीक्षण तथा सुपरीवेक्षण गर्नुपर्ने काममा चासो नदिएको, मिलेमतोमा बाँडीचुँडी रकम खाएको, आपसी सल्लाह र मिलेमतोमा रकम निकालेको आरोप लगाएको थियो । कतिपय आरोपितहरु चेक सदर गरेकै कारण भ्रष्टाचार मुद्दामा परेका थिए । विशेष अदालतले रेग्मी र विष्टलाई मात्रै दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?