+
+

दलीय गुट, गठबन्धन र निसासिएको लोकतन्त्र

जनताको स्वतन्त्र विवेकलाई अपहरण गर्ने, गठबन्धनलाई मलजल गर्ने संस्कृतिको विकास गर्ने हो भने लोकतन्त्रलाई राजनैतिक सिन्डिकेटले ट्रयापमा पार्नेछ । बलिया तथा धनीहरू शासक बन्नेछन् भने जनता झनै निरीह बन्नेछन् ।

भेषराज घिमिरे भेषराज घिमिरे
२०७९ भदौ २९ गते ९:२८

जिउँदो समाजमा द्वन्द्व, संवाद र निचोड नियमित प्रक्रिया हुन् । जहाँ समाज छ त्यहाँ राजनीति हुन्छ । समाजले राजनीतिमा संवादको थालनी गर्छ । समाज र समग्र सामाजिक गतिविधिलाई एउटा पद्धतिमा हिंडाउने राजनीतिलाई पृष्ठभूमि भने समाज नै पहिलो एकाइ हो ।

यहाँनेर समाजको लागि राजनीति या राजनीतिको लागि समाज भनेर चिनियाँ पर्खाल लगाउन आवश्यक छैन । दुवै एक अर्कोमा यति परनिर्भर छन् कि एउटाको अनुपस्थितिमा अर्को भूमिकाविहीन हुन्छ । तसर्थ एउटा निचोड के हो भने समाजको हित अनुकूलित राजनीति मात्र टिकाउ हुन्छ ।

नेपाली लोकतन्त्रको यात्रा २००७ सालबाट सुरु भएर विभिन्न आरोह र अवरोहबीच अहिलेसम्म करिब ७२ वर्ष भएछ । झण्डै यो लोकतन्त्र भन्दा १० वर्ष जेठो नेपाली कांग्रेसको इतिहास रहेको छ । नेपाली कांग्रेसको आफ्नो मौलिक छवि र नीतिका कारण यो दल नेपालको दलीय व्यवस्था सबैभन्दा प्रभावशाली र ठूलो दलको रूपमा अहिलेसम्म स्थान सुरक्षित गरेको छ । यस मानेमा यो नेपाली कांग्रेसप्रति आम जनविश्वास रहेको पाइन्छ ।

नेपाली कांग्रेसभित्र बीपीको पालादेखि नै गुटहरू निर्माण हुने र भत्कने क्रम चलेको हो । अहिलेसम्म निरन्तर चलिरहेको छ । राजनीतिक क्षेत्रमा के कुरा स्वीकार गरिन्छ भने जीवन्त पार्टीहरूमा गुटहरू निर्माण हुनुपर्छ । यसले पार्टीको जीवनलाई झनै सशक्त बनाउन मद्दत पुर्‍याउँछ तर गुटहरू स्थायी भने हुनुहुँदैन । पूर्व प्रम गिरिजाप्रसाद कोइरालाको पालादेखि भने गुटहरू स्थायी रूपमा निर्माण भएको हुने र यी यस्ता स्थायी गुटहरूले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाउन भन्दा पनि विग्रह तथा विघटनको दिशातर्फ उन्मुख हुन पे्ररित गर्छन् ।

केही हदसम्म कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल तथा प्रकाशमान सिंहले स्थायी गुटलाई भत्काएर पार्टी विभाजनबाट रोक्नलाई महत्वपूर्ण भूमिका निर्वाह गरे । तर यो यथार्थलाई केही व्यक्तिहरूबाट अवसरवादी विचार भनी प्रचार गरिएको पाइन्छ ।

नेपाली कांग्रेसमा गिरिजाबाबुको एकल निर्णयको प्रभावका कारण देउवा गुटको स्थापना भएको र अहिलेसम्म देउवा गुटको प्रभाव बढ्नुमा पनि हिजोको कोइराला परिवारको वरिपरि मात्र घुमेको नेपाली कांग्रेसको राजनीति प्रमुख कारक हुन आउँछ । पार्टीभित्र शेखर गुट प्रभावशाली हुन नसक्नुको पछाडि एउटा कारण गिरिजाबाबुको छायाँ र अर्को स्वयं शेखर कोइरालाको प्रतिक्रियात्मक गतिविधि नै हो । डा. शेखर कोइराला स्वस्थ, निडर, जोशिलो, देशदर्शनमा रुचि राख्ने हुँदाहुँदै पनि उनको भूमिका पार्टीमा सशक्त हुन सकेन । उनले कांग्रेसको नीति, कार्यक्रम र सरकारको कार्यक्षेत्र बीच भेद छुट्याउन सकेका छैनन् ।

सरकारको क्रियाकलापलाई सुझाव दिने गरी ठूलो छाती उनमा छैन । केवल सरकार त्यो पनि आˆनो सरकारको जे जे निर्णय हुन्छन् त्यसको प्रतिक्रियात्मक दृष्टिकोण मात्र उनले स्थायी रूपमा सम्प्रेषण गर्दै आएको पाइन्छ ।

अरूको आलोचना गर्ने काम ज्यादै सजिलो हुन्छ तर सही सुझाव दिन ठूलो छाती चाहिन्छ । उनमा सम्पूर्ण कुरा एउटा नेतृत्वमा हुनुपर्ने हुँदाहुँदै पनि आˆनो हलुका टिप्पणी गर्ने स्वभावका कारण उनलाई उनकै गुटभित्रका केही प्रभावशाली नेताहरूले अन्तरमनदेखि टिमको मुख्य नेता भनी आदरभाव र स्वीकार गर्न सकेका छैनन् ।

अर्कोतर्फ संस्थागत गुटको एउटा बलियो खम्बा हालका पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै हुन् । उनको संगठन र गुट व्यवस्थापनको अनौठो शैली छ । उनले विश्वास गर्नेलाई धोका दिएको विरलै उदाहरण भेटिएलान् । गुट खेलाउन सक्ने माहिर खेलाडी उनी हुन् । तर उनको विरासत पछि त्यस्तो प्रभावशाली व्यक्ति जसलाई सबैले स्वीकार गरोस्, त्यो भने खडेरी नै छ । सायद देउवाकै स्वभाव भएका बालकृष्ण खाँण या पूर्णबहादुर खड्का या कसले बाजी मार्ने हो, त्यो भने उनीहरूकै भूमिकाको प्रभावकारितामा निर्भर गर्ला । संसदीय निर्वाचनको मतपरिणाम कसरी प्रकट हुन्छ, त्यसले पनि पार्टीभित्र को बलियो हुने भन्ने कुराको केही संकेत भने अवश्य गर्नेछ ।

नेपाली कांग्रेसभित्र अझै धेरै अवसरवाद, व्यक्तिवाद र परिवारवादको राजनीति झाँगिंदै गएमा यो पार्टीप्रति रहेको जनविश्वास गुम्ने खतरा ज्यादै देखिन्छ । कांग्रेसको कुनै नेता जित्ने र हार्ने भन्दा पनि समग्र लोकतन्त्रको भविष्य संकटमा पर्नेछ र नेपाल विभिन्न विचारको प्रयोगशालामा रूपान्तरण हुने हो कि भनेर चिन्ता गर्न थालिएको छ ।

गठबन्धनको सकस

यो पंक्तिकारले पटक-पटक उठाएको सवाल के हो भने जित्नेकै लागि खेलको सर्वमान्य सिद्धान्तहरू फेर्नुहुँदैन । लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य शर्त हो । निर्वाचनकै माध्यमबाट सत्ता प्राप्ति, निर्माण र पार्टीको नीति कार्यान्वयन सम्भव छ तर गठबन्धन जसरी अपरिहार्य भनी नेपाली कांग्रेसको संस्थापन पक्ष लागेको छ, यसको असर स्वयं पार्टीको आन्तरिक जीवनमा मात्र होइन लोकतन्त्रका मूल्यमान्यतासम्म पर्ने निश्चित नै छ ।

गठबन्धन त्यतिबेला मात्र जायज हुन्छ जतिबेला सरकार निर्माणको लागि गणितीय संख्याको आवश्यकता पर्छ र त्यसको लागि सरकारका न्यूनतम नीति र कार्यक्रममा सहमति निर्माण हुन्छ । त्यो एउटा आधारशिला हो । तर सिद्धान्ततः एकअर्काका वर्गीय शत्रु, लोकतन्त्रलाई रणनीतिको रूपमा लिएका, आफैं अस्थिरताको घर भएका, करणी र कथनीमा ठेगाना नभएका दलहरूसँग यसैगरी गठबन्धन हुने हो भने कांग्रेसभित्रको लोकतन्त्र र मौलिकता नाश हुन्छ ।

राजनीतिमा विवेक प्रयोग गर्न निर्वाध रूपमा पाउनुपर्छ तर गठबन्धनले जनताको स्वतन्त्र विवेकलाई अपहरण गरी जबरजस्ती चुनाव जित्ने रणनीति बनाएको छ । यो कांग्रेसकै निरन्तरतामा पनि ठूलो प्रश्नचिहृन हो । यसलाई मलजल गर्ने संस्कृतिको विकास गर्ने हो भने लोकतन्त्रलाई राजनैतिक सिन्डिकेटले ट्रयापमा पार्नेछ र बलिया तथा धनीहरू शासक बन्नेछन् भने जनता झनै निरीह बन्नेछन् ।

यो कुरा माओवादीभित्र पनि लागू हुन्छ किनकि विसर्जनवादी पार्टी भयो भन्दै यो नयाँ-नयाँ पार्टीहरू जन्मिंदै, छुट्टंिदै र विस्तार हुँदै गएको देखिन्छ । स्वयं विप्लवका पछाडिको शक्ति भनेकै नेकपा माओवादी पार्टीको मौलिक चरित्रमा आएको विसर्जनको प्रतिफल हो ।

हिजो चुनाव जितेर संसदमा आएका, विभिन्न पदमा पदासीन, पारिवारिक पृष्ठभूमि गतिलो भएका र चुनावी खर्चलाई सजिलै जोहो गर्न सक्ने क्षमता भएका अझ स्पष्ट भन्ने हो भने ठेकेदारहरूको भूमिका देखिएकाहरू गठबन्धनले उम्मेदवार बनाउन पहिलो रोजाइमा राख्नेछ । अहिले एक किसिमको शब्दावली व्यापक रूपमा प्रयोग गरिंदै आइरहेको देखिन्छ, प्रचण्ड होस् या ओली या देउवा, सबैले चुनाव महङ्गो भयो भनिरहेका छन् । तसर्थ यसको सामना गर्न जो-कोहीलाई पनि मुश्किल छ । अर्थात् उनीहरूको भित्री आशय के हो भने राजनीति सर्वसाधारण र इमानदार व्यक्तिको पहुँचको विषय होइन । चुनावमा धेरै खर्च हुन्छ त्यो जुटाउन जो-कोहीले सक्दैन । तर के अब राजनीति अर्बपतिको रथ हो ? यसमा इमानदारी नै हुँदैन ? राजनीतिमा देखाउने र वास्तविक दाँत फरक-फरक हुन्छन् ? हेक्का होस् । यो गठबन्धनलाई सिट बाँडफाँट मात्र होइन पार्टीभित्र टिकट वितरणमा धेरै ठूलो समस्या छ । त्यसले आमनिर्वाचनमा ठूलो अर्थ राख्नेछ ।

जन-सवाल

लोकतन्त्रको आयु भोकतन्त्रको व्यवस्थापनसँग जोडिएको छ । लोकतन्त्रको आयु जातीय, रंगभेद तथा धार्मिक व्यवस्थापनसँग जोडिएको छ । यो समय सवालहरू उठान गर्ने अर्थात् लोकतन्त्रको समय हो । जहाँको लोकतन्त्रले सीमित स्वार्थको प्रयोजनार्थ कार्य गर्छ भने लोकतन्त्रको दिगोपना रहँदैन । जहाँका शासकहरू आम नागरिक भन्दा भिन्न भएको व्यवहार गर्छन् भन्ो त्यहाँको व्यवस्थाको परिवर्तन अनिवार्य छ ।

संसारभरिका कम्युनिस्टका गुरु कार्ल माक्र्सले बताएको सार के हो भने विभेद नै क्रान्तिको प्रमुख कारक हो । तसर्थ कम्युनिस्टहरू आफूलाई क्रान्तिकारी भन्छन् तर स्वयंको वर्ग रूपान्तरण हुँदा जनताको किन हुन सकेन भनी बुझ्ने प्रयत्न नै गर्दैनन् । उनीहरूको आफू सर्वहारा हौं भनी सुगारटाइ गर्छन् । तर व्यवहार हेर्दा उनीहरूले क्रान्तिलाई भ्रान्तिमा रूपान्तरण गरिरहेका छन् । छलछामको राजनीति गरिहेका छन् र नेपालको सन्दर्भमा पनि त्यही नै हो ।

जनताले सवाल गर्न पाउनुपर्छ । नागरिक आवाजलाई बन्द गरिएको समाजमा रूपान्तरण होइन विस्फोटन नै हुन सक्छ । नेेपालका पार्टीहरू पारदर्शी छैनन् । चरम स्थायी गुटको बिगबिगी छ । परिवारवाद मौलाउँदैछ । नेताहरू नवधनाढ्य वर्गमा परिणत भइरहेका छन् ।

जनताको सवाल छ- लोकतन्त्रको परिभाषा के विभेद हो ? लोकतन्त्रले झुपडपट्टीको बास बस्न सक्दैन ? चुनावको खर्च जनताको मत किन्नकै लागि किन ? सामाजिक रूपान्तरण नभई किन नेतृत्वमा मात्र आर्थिक रूपान्तरण कसरी भयो ? राजनीति के पेशा हो ? हो भने व्यापार व्यवसाय के हो ? संविधान समाजवाद उन्मुख तर शिक्षा, स्वास्थ्य ठेकेदारको तजविजीमा छोडियो किन ? माइक्रोबसदेखि हवाईजहाजसम्म नेताहरूकै लगानी कसरी ? दिगो विकास भनेको के नेतृत्वको विकास मात्र हो ?

हो, यस्ता सवालहरू आसन्न निर्वाचनका क्रममा युवा सोच र विचार भएका पंक्तिबाट आउनेछन् र आउनुपर्छ । त्यसको लागि जो जो चुनावमा आउँदैछन्, कृपया उत्तर दिने हैसियतमा आउनु उत्तम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?