+
+
नयाँ अनुहार-८ :

जित्न होइन हराउन उम्मेदवार, दासढुंगा र दरबार काण्डको छानबिन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते २०:५५

दर्शकले मनोज पण्डित मुस्कुराएको कमैमात्र देख्छन् । असन्तुष्ट निर्देशक हुन् उनी । अनि उनले उठाउने सिने कन्टेन्टमा कहिले संगति भेटिन्छ, कहिले ठिकठिकै । तर कलामा जोखिम उठाउने उनको आँटले भने थुप्रैलाई सोचमग्न बनाउँछ । कहिले बजार उनको साथमा, कहिले कोसौं टाढा ।

काभ्रेबाट सिनेमा बनाउन काठमाडौं आएका पण्डितले राजनीतिक विषयमा सिनेमाबाटै थुप्रै टिप्पणी गरे । आक्रोशकै भावमा बनाइएका दासढुंगा, छाया, बधशालादेखि ‘एक’ सिनेमासम्म यसैका परिचायक हुन् । ग्रेटर नेपालको महत्वाकांक्षी नारासमेत दिन पछि पर्दैनन् उनी । यसबारे सिनेमा समेत बनाएका छन् ।

यिनै पण्डितले आफ्नो जिल्ला काभ्रेको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । त्यो क्षेत्रबाट यसअघि भारी मतले एमाले नेता गोकुल बाँस्कोटा विजयी छन् ।

मनोजले आफ्नो स्वतन्त्र उम्मेदवारीलाई बाँस्कोटाविरुद्ध लक्षित गरेका छन् । बाँस्कोटा सन्चारकर्मी हुँदा मुछिएको सेक्युरिटी प्रेस खरिद काण्डलाई आम सर्वसाधारणले ७० करोडको काण्ड भनी चिन्ने गर्छन् । यही काण्डको अडियो टेप सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्रिपरिषदका प्रवक्ता तथा सन्चारमन्त्रीको पद गुमाउन पुगेका थिए । तर बाँस्कोटाले यसमा गल्तीबोध गर्नुको साटो उल्टै धाकधक्कु लगाउन थालेपछि पण्डितले अपमानित भएको अनुभूति गरेछन् । त्यसपछि उनको मनमा उम्मेदवार बन्ने भावनाको बीजारोपण भयो ।

‘उहाँले गल्तीको बारेमा अलिकति पनि पश्चाताप गरेको देखिएन, उल्टै नागरिकहरुलाई, मतदाताहरुलाई थर्काउने शैलीमा प्रस्तुत हुनुभयो,’ अनलाइनखबरको आम चुनाव लक्षित स्तम्भ ‘नयाँ अनुहार’का लागि कुरा गर्ने क्रममा पण्डित भन्छन्, ‘त्यसैले मलाई लाग्यो, अब सिनेमाबाट मात्रै होइन, वास्तविक प्रतिष्पर्धा नै गरेर यस्ता व्यक्तिलाई अनुमोदन हुनबाट रोक्नुपर्छ ।’

पण्डितको भनाइमा नागरिकहरुको स्वतन्त्र भूमिकालाई दलहरुले कार्यकर्ता बनाउने षडयन्त्रबाट कमजोर बनाए । त्यसैले आफ्नो उम्मेदवारी स्वतन्त्र नागरिकहरुको शक्ति चिनाउनका लागि समेत भएको उनको भनाइ छ । शक्तिशाली नेता बाँस्कोटा एकातिर, सत्ता गठबन्धनसमेत काभ्रेमा बलियो बनेर आइरहेको परिस्थिति अर्कातिर । यस्तोमा चुनाव जित्न सम्भव होला ?

‘सम्भव छ, किनभने देशलाई भ्रष्टाचारको चंगुलबाट मुक्त पार्नुपर्छ भन्ने नागरिकहरुले समेत बुझिसके,’ उनी भन्छन्, ‘म त्यही भ्रष्टाचारीमुक्त देश बनाउने भावनाको प्रतिनिधित्व गर्छु ।’

तर पण्डितसँग यतिमात्रै एजेन्डा भने छैनन् । उनको भनाइमा नेपाललाई भारतले साह्रै हेप्यो । त्यसैले भारतलाई आँखा जुधाएर प्रश्न गर्ने नेतृत्व चाहिएको छ । प्रतिनिधिसभामा काभ्रे २ बाट सांसद चुनिए आफूले भारतसँग मिचिएका भूभागबारे प्रश्न उठाउने, त्यसका लागि काम गर्ने समेत उनको दाबी छ ।

‘नेपालमा भएका ठूला घटना दुर्घटनामा शक्तिकेन्द्रहरुको चलखेल छ, त्यसैले दासढुंगा, दरबार हत्याकाण्डजस्ता ठूला प्रकरण रहस्यमै छाडिए,’ उनी भन्छन्, ‘म तिनको छानबिन समेत गराउन पहल गर्छु । यी दुई घटनाको सत्यतथ्य बाहिर ल्याउन सके यो देशमा निकै ठूलो उपलब्धि हुन्छ ।’

उनले मतको हिसाबकिताब समेत गरिसकेका छन् । उम्मेदवारी घोषणा गर्दा उनीसँग जम्मा तीन मत थियो रे । यसबीचमा जिल्लाका कुनाकाप्चामा खुबै कुदे उनी । अब भोट बढ्दै गएको बुझाइ छ । ‘अहिले १० हजारभन्दा बेसी पुगिसक्यो होला, किनभने मलाई ठूलो समर्थन प्राप्त हुँदै गइरहेको छ, मानिसहरुले मेरो कुरा बुझ्दै गएका छन्,’ पण्डित दाबी गर्छन्, ‘चुनाव जित्न मैले कम्तिमा ३५ हजार भोट ल्याउनुपर्छ, त्यो मैले ल्याउँछु ।’

राजनीतिक क्रियाकलापमा सक्रिय रहे पनि उनले सिनेमा निर्माण, निर्देशन र लेखनको काम नछाड्ने बताए । सबैतिर नयाँ नेतृत्वको माग भइरहेको परिप्रेक्ष्यमा उनले आफ्नो राजनीतिक मुद्दालाई अनुमोदन गर्न अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?