+
+

एक दशकमा डा. गोविन्द केसीका २० अनशन

सागर चन्द सागर चन्द
२०७९ भदौ २९ गते २०:२६

२९ भदौ, काठमाडौं । ६ बुँदे मागसहित २० औं अनशनको तेस्रो दिनमा छन् डा. गोविन्द केसी । २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थालाई गैर नाफामूलक बनाउनुपर्ने, दरबन्दी भन्दा बढी बेड भएका अस्पतालमा दरबन्दी बढाउनुपर्ने उनको माग छ ।

त्यस्तै सरकारी अस्पतालमा प्रयोगशाला शुल्क पनि लिन नपाइने माग राखेर केसी कैलालीको धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशनरत छन् ।

केसीको साथमा रहेका डा. अमृत जैशीका अनुसार संघीय सरकारले केसीसंग अनौपचारिक रुपमा संवाद गर्ने प्रयास गरिरहेको छ । तर, केसीले भने आफ्ना माग सम्बोधन गर्न सक्ने उच्चस्तरीय वार्ता टोलीसंग मात्र संवाद गर्ने बताएका छन् ।

अनशनको तेस्रो दिन बित्दा केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएको छ । केसीको स्वास्थ्य परीक्षण गरेका सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिशिएन डा. शेर बहादुर कमरका अनुसार केसीलाई टाउको दुख्ने, मांसपेशी दुख्ने, बाउडिने, बोल्न गाह्रो हुने लक्षण देखिएका छन् । केसीको रगतमा सुगरको मात्रा पनि घटेको छ ।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसी अनशन बस्न थालेको १० वर्ष पुगिसक्यो । एक दशकमा राज्यव्यवस्था नै परिवर्तन भएको मुलुकमा केसीका माग भने अझै पूरा भएका छैनन् । हरेक पटक सरकारले उनीसंग सम्झौता गर्छ तर, पलाना भने गर्दैन ।

सरकार र राजनीतिक दल चुनावी दौडाहमा जुटिसकेको समयमा अनशन बसेका केसीका मागको तत्काल सम्बोधन हुने संकेत देखिदैंन । तर, उनी सधैंझैं माग पूरा गर्ने सम्झौता नगरी अनशन छाड्ने मुडमा भने छैनन् । एक दशकमा उनी २० पटक अनशन बसिसकेका छन् । उनका यसअघिका १९ अनशनबारे थाहा पाउनुहोस्

पहिलो अनशन : २१ असार – २४ असार (०६९)

२१ असार ०६९ मा पहिलोपटक अनशन बसेका थिए केसी । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताको आधारमा डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राखेर उनी पहिलो पटक अनशन बस्दा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

तिनै भट्टराईले केसी २० औं पटक अनशनमा बस्नुपर्ने बाध्यता सिर्जना गरिनु लज्जास्पद भएको भन्दै ट्वीट गरेका छन् ।

दोस्रो अनशन : २७ साउन – १ भदौ (०६९)

पहिलो अनशनको सहमति अनुसार वरिष्ठताका आधारमा डा.कुमुदकुमार काफ्ले डीन नियुक्त भएका थिए । तर, डा. काफ्लेले डीन भएको छोटो समयमै उमेर हदका कारण अवकाश पाए ।

त्यसपछि त्रिविले वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने समहति लत्याउँदै वरिष्ठता सूचीमा ३२ औं स्थानमा रहेका डा. धर्मकान्त बाँस्कोटालाई डिन बनायो । र, यतिखेर पनि डा. भट्टराई नै प्रधानमन्त्री थिए । एक महिना पनि नबित्दै सहमति तोडेपछि केसी फेरि अनशन बसे । सरकार फेरि निर्णयबाट पछि हट्यो र वरिष्ठताका आधारमा डा. प्रकाश सायमीलाई डिन नियुक्त ग¥यो ।

तेस्रो अनशन : २७ पुस– १० माघ (०७०)

काठमाडौं नेशनल मेडिकल कलेज, पिपल्स डेन्टल तथा मेडिकल कलेज, मनमोहन मेडिकल कलेज र नेपाल प्रहरी मेडिकल कलेजलाई त्रिविले सम्बन्धन दिन खोजेपछि केसीले तेस्रो अनशन सुरु गरेका थिए । केसीको यो अनशनका क्रममा मन्त्रिपरिषदका अध्यक्ष थिए खिलराज रेग्मी । सरकारले केसीसँग ४ बुँदे सहमति ग¥यो । त्यसपछि ती कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोकियो ।

चौथो अनशन : २५ माघ – ३ फागुन (०७०)

चौथो अनशनका क्रममा केसीले ५ बुँदे माग राखेका थिए । उनले उपत्यका बाहिरका ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने माग प्राथमिकतासाथ उठाएका थिए । केसीको चौथो अनशनका क्रममा पनि मन्त्रिपरिषदको अध्यक्ष खिलराज रेग्मी थिए ।

पाँचौ अनशन : ८ चैत – १९ (०७१)

केसी पाँचौं अनशनका क्रममा ९ बुँदे माग राखेका थिए । चिकित्सा नीति र विश्वविद्यालय बनाउनुपर्ने लगायतका माग थिए उनका । त्यस क्रममा केसीको अनशन तोडाउन सरकारले ११ बुँदे सहमति गरेको थियो । यो सहमति गर्दा प्रधानमन्त्री सुशील कोइराला थिए ।

छैठौं अनशन : ७ भदौ – १९ भदौ (०७२)

छैठौं अनशनमा केसीले केदारभक्त माथेमा नेतृत्वको समीतिले बनाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र यस अगाडि भएका सहमति पालना गर्नुपर्ने माग राखेका थिए । यो अनशन अन्त्य गराउन सरकारले केसीसंग ११ बुँदे सहमति गरेको थियो । केसीसंग ११ बुँदे सहमति गर्दा सुशील कोइराला प्रधानमन्त्री थिए ।

सातौं अनशन : २ असोज १२ असोज (०७२)

यो अनशनका क्रममा केसीले सरकारले आफूसंग पहिले गरेको सहमति पालना हुनुपर्ने माग राखेका थिए । संविधान जारी भएलगत्तै सुरु भएको यो अनशन नाकाबन्दी र मधेशमा चर्किएको विरोधका कारण १२ असोज ०७२ मा केसीले फिर्ता लिए । केसीको सातौं अनशनका क्रममा पनि सुशील कोइराला प्रधानमन्त्री थिए ।

आठौं अनशन : २६ असार– १० साउन (०७३)

आठौं अनशनका क्रममा केसीले सरकारी मेडिकल कलेजमा निःशुल्क चिकित्सा शिक्षा पढाउनुपर्ने माग राखेका थिए । त्यससँगै काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन दिन नहुने माग राखेका थिए ।

यही अनशनमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग राखे । केसीको आठौं अनशनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

नवौं अनशन : १० असोज – २२ असोज (०७३)

चार बुँदे मागसहित नवौं अनशन बसेका केसीले चाडवाडको समय भएका कारण सरकारसंग सहमति नगरी स्थगित गरेका थिए ।

यो अनशनका क्रममा पनि केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने माग प्राथमिकतासाथ उठाएका थिए । केसीको नवौं अनशनका क्रममा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।

दशौं अनशन : २८ कात्तिक – १९ मंसिर (०७३)

दशौं अनशनका क्रमम केसीले ९ बुँदे माग राखेका थिए । यो अनशनका क्रममा सरकारले सातै प्रदेशमा शिक्षण अस्पताल चलाउने सहमति गरेको थियो । शिक्षण अस्पताल भइरहेका प्रदेशमा तिनको गुणस्तर सुधार्ने सहमति गरेको थियो । केसीको दशौं अनशनको समयमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नै थिए ।

एघारौं अनशन : ९ साउन – ३२ साउन(०७३)

९ बुँदे माग राखेर केसी एघारौं अनशन बसेका थिए । यो अनशनमा केसीले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग उठाएका थिए । चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने थियो ।

देशभर बाढी पहिरो गएपछि केसीले यो अनशन सरकारसंग कुनै सहमति नगरीकनै तोडे । यो अनशनका क्रममा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

बाह्रौं अनशन : ९ असोज– ११ असोज (०७४)

४ बुँदे माग राखेर केसी १२ औं अनशन बसेका थिए । तर, यो अनशन दशैंका कारण तीन दिनमै स्थगित भयो । यतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

१३ औं अनशन : १९ असोज– १ कात्तिक (०७४)

१२ औं अनशनकै माग राखेर केसीले १३ औं अनशन सुरु गरेका थिए । सरकारले केसीसंग १० बुँदे सहमति गरेर केसीको १३ अनशन टुंग्याएको थियो । यो सहमति गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

१४ औं अनशन : २४ पुस – २८ पुस (०७४)

१४ औं अनशनका क्रममा केसीले स्वास्थ्य क्षेत्र मात्र नभई अरु विषय पनि आफ्ना मागमा समेटेका थिए । उनले प्रधानन्यायधीश गोपाल पराजुलीलाई पदबाट हटाउने मागलाई आफ्नो पहिलो माग बनाएका थिए । यसबाहेक चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्नुपर्नेसहित १३ बुँदे माग राखेका थिए । केसीको १४ औं अनशनका क्रममा पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए ।

१५ औं अनशन : १६ असार – १० साउन(०७५)

१५ औं अनशनका क्रममा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन गराउनुपर्ने माग राखेका थिए ।

माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल फिर्ता गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर केसी जुम्लामा १५ औं अनशन बसेका थिए । यी माग सहित केसी २७ दिन अनशन बसेका थिए । केसीको यो अनशनका क्रममा केपी शर्मा ओली प्रधामन्त्री थिए ।

१६ औं अनशन : २५ पुस – १८ माघ (०७५)

आफ्नो माग विपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि आक्रोशित केसीले इलाम नगरपालिकाको फुलगाछीमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुरानो भवनमा आफ्नो १६ औं अनशन सुरु गरेका थिए । केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलाबाट काठमाडौं ल्याइएको थियो ।

संसदबाट विधेयक पारित भइसकेकाले फरक तरिकाले संघर्ष गर्ने भन्दै केसीले यो अनशत तोडेका थिए । केसीको १६ औं अनशनका क्रममा प्रधानमन्त्री थिए केपी ओली ।

१७ औं अनशन : १९ कात्तिक – २६ कात्तिक (०७६)

१७ औं अनशनका लागि केसीले डडेल्धुरा रोजेका थिए । ७ बुँदे माग राखेर अनशन बसेका यस अगाडि भएका सम्झौता सरकारले उल्लघन गरेको भन्दै अनशन बस्नुपरेको बताएका थिए । यो अनशनमा केसीले संक्रमणकालीन न्यायको विषय पनि उठाएका थिए ।

यो अनशनका क्रममा नेपाल भारतबीच सीमा विवाद चलिरहेको थियो । यही विवादका कारण केसीले सरकारसंग कुनै सहमति नै नगरी अनशन स्थगित गरेका थिए । यो अनशनका क्रममा केपी ओली प्रधानमन्त्री थिए ।

१८ औं अनशन : २० जेठ–२१ जेठ (०७७)

केसीको यो सबैभन्दा छोटो अनशन थियो । दार्चुला सदरमुकाम खलंगामा १८ औं अनशन बसेका केसीले सीमा क्षेत्रका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौम सत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने माग माग राखेका थिए ।

डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने माग पनि उनले यो अनशनका क्रममा राखेका थिए । दुईदिने यो अशन सरकारसंग कुनै सहमति नै नगरी टुंगिएको थियो ।

१९ औं अनशन : २९ भदौ–२५ असोज (०७७)

केसीले १९ औं अनशन जुम्लामा सुरु गरेका थिए । ६ वटा माग राखेर १९ औं अनशनमा बसेका केसीको यो सबैभन्दा लामो अनशन थियो । केसी २८ दिन अनशन बसेका थिए ।

अनशनको आठौं दिनमा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । केसीसंग सरकारले ८ बुँदे सहमति गरेपछि यो अनशन टुंगिएको थियो । यो अनशनका क्रममा पनि केपी ओली प्रधानमन्त्री थिए ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?