+
+

डेंगु संक्रमण बढेपछि हेटौंडामा स्प्रे अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १९:२२

३० भदौ, हेटौंडा । डेंगुको संक्रमण बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले स्प्रे अभियान सुरु गरेको छ । उपमहानगरपालिकाले विभिन्न वडाहरुमा लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालेको हो ।

उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिलेसम्म वडा नम्वर १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको छ ।

उप-महानगरको वडा नम्वर ४ र ५ बढी प्रभावित वडा हुन् । नगर प्रहरीको सहयोगमा एक महिनादेखि चलिरहेको स्प्रे अभियान रोगको दर बढ्दै गएपछि तिव्र पारिएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

डेंगु बढ्दै गएपछि संक्रमण फैलन नदिन जनस्तरबाट मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतना अभियान समेत सुरू गरिएको हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले बताए । संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने उनले बताए ।

मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना छन् ।

थाहा नगरपालिकाका ५, मनहरी गाउँ पालिकाका ३, मकवानपुरगढी गाउँपालिकाका १ र भीमफेदी गाउँपालिकाका १ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार थपिएका १ सय २४ सँगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १ हजार ३ सय ३१ पुगेको छ । जसमध्ये ५ सय ५७ जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?