+
+

मुम्बईबाट उद्धार १० बालक अभिभावकको जिम्मामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १९:२४

३१ भदौ, वीरगञ्ज । भारतको मुम्बईबाट उद्धार गरिएका १० जना बालक नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको छ । उद्धार गरिएका बालकमध्ये रौतहटको परोहा, ईशनाथ नगरपालिकाका ८ जना, मोरङ बिराटनगरका १ जना र १ जना सिराहा सुखीपुरका छन् ।

६ देखि ८ महिना पहिला उनीहरु गाउँकै चिनेका मानिसको साथमा मुम्बई पुगेका थिए । मिसन रेस्क्यु अपरेसन ईन्डियाले गत अगष्टमा मुम्बईको नागपाडा, नविन मुम्बई क्षेत्रका ४ वटा ब्याग उद्योगमा छापमारी गरेर निकृष्ट श्रममा लगाईएका १२ जना बालकको उद्धार गरिएको थियो ।

पढ्ने खेल्ने उमेरका ती बालकलाई बिहान ९ बजेदेखि १८ घण्टासम्म निरन्तर काममा लगाइन्थ्यो । काम गरे वापत आफूहरुलाई ज्याला समेत नदिने गरेको रौतहटको परोहा नगरपालिकाका १७ वर्षीय किशोरले जानकारी दिए ।

‘ खाना, खाजा दिन्थे तर बाहिर जान दिँदैनथे । बिहान ९ बजेदेखि राति २ बजेसम्म काममा लगाउँथे । जति नै गाह्रो भएपनि काम गर्नुपथ्र्यो ।’ उनले भने ‘ तर एक पैसा पनि दिएनन् । ’

गाउँकै औरन्जेब शेखले उनी सहित ८ जनालाई मुम्बई लगेर निकृष्ट श्रममा लगाएका थिए । रक्सौल हुँदै नेपाल ल्याईएका उनीहरुलाई शुक्रबार अभिभावकको जिम्मा लगाईएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई अभिभावकको जिम्मा लगाईएको थियो ।

अबदेखि उनीहरुलाई कामका लागि भारत नपठाउने, पढाउने प्रतिबद्धता जनाएर अभिभावकको जिम्मा लगाईएको बारामा बाल हेल्पलाईन सञ्चालन गर्दै आएको संस्था संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले जानकारी दिए । ६–८ महिनापछि छोरालाई भेट्न पाउँदा अभिभावक हर्षित भएका छन् ।

बालकलाई नेपाल ल्याउन बालक माथि हुने हिंसा विरुद्ध काम गर्दै आएको साथ साथ संस्था, राष्ट्रिय बाल अधिकार परिषद (एनसीआरसी), संरक्षण नेपाल, बारा र सामुदायिक सचेतना विकास तथा सचेतना हेटौंडाले समन्वय गरेका थिए ।

राष्ट्रिय बाल अधिकार परिषदका सञ्जिव महतोले पैसा कमाएर ल्याउँछ भन्ने प्रलोभनमा परेर कम उमेरका छोरालाई भारतमा काममा नपठाउन अभिभावकसँग आग्रह गरे ।

‘ बच्चालाई शिक्षाबाट वञ्जित गर्नु हुन्न, यो उनीहरुको नैर्सगिक अधिकार हो ।’ उनले भने ‘ स–साना बालकलाई कामका लागि पठाउनु बाल अधिकारको हनन हो, बालक पनि बेचविखनमा पर्छन, अंगको चोरेर बेचिदिन्छन् ।’ उनले भने ‘ ठूलो भएपछि सीप सिकेर, बुझेर मात्रै जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?