+
+

नायक प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा

समानान्तर निर्माता संघ बनाउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १६:२२

काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । रात्री शो बन्द गराउने बोर्डको निर्णयप्रति आपत्ति जनाउँदै खड्काले राजीनामा मागेका हुन् ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको ‘प्रेमगीत-३’ प्रति लक्षित भएको खड्काको आरोप छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता खड्का चलचित्र विकास बोर्ड र निर्माता संघप्रति आक्रामक सुनिए ।

निर्माता संघले निर्माताको हकहितमा काम गर्न नसकेको भन्दै उनले समानान्तर निर्माता संघ खोल्ने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा खड्काले भने- उहाँले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ ।

‘मदिरा पिलाउँदै चल्ने रात्रीक्लबहरु बिहान ४ बजेसम्म चलाउन मिल्ने तर कफी र पपर्कनसहित सपरिवार हेर्न मिल्ने फिल्म हललाई ११ बजेभित्रै बन्द गर्नुपर्ने निर्णय अन्यायपूर्ण हो’ उनले भने ।

चलचित्र सम्बन्धी नीति बनाउने व्यक्ति बौद्धिक नहुँदा निर्माता र कलाकारहरुले दुःख पाइरहेको उनले बताए ।

विगतमा भुवन केसी अनुभवी व्यक्तिजस्तो लाग्ने भएपनि यतिबेला पढाइको महत्व जरुरी भएको बताए । ‘मलाई विगतमा पढाइभन्दा अनुभवले अर्थ राख्थ्यो जस्तो लाग्थ्यो तर यसपटक उल्टो देखिएको छ’ उनले भने ।

निर्माता सन्तोष सेनले पनि आफूलाई चलचित्र विकास बोर्डको नियतले नरमाइलो लागेको बताए । ‘मेरो उद्देश्य नेपाली फिल्मलाई विश्वभर लैजानु हो’ उनले भने, ‘तर, प्रेमगीत ३ लाई पेल्ने उद्देश्यले अघि सारिएका बोर्डका निर्णयमा खोट देखिन्छ ।’ अभिनेत्री क्रिस्टिना गुरुङले पनि राजनीति भएको भन्दै खुट्टा तान्ने काम बन्द हुनुपर्ने बताइन् ।

चलचित्र विकास बोर्डले रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने नियम बनाएको छ । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ ।

तर, अहिले नै बोर्डले चलचित्र हललाई टेलिफोन गरेर ८ बजेपछि शोज नराख्न दबाब दिएको गुनासो आइरहेको छ । ‘बोर्डको दबाबकै कारण यतिबेला बेलुका ७ः३० बजेपछि हलहरुले सोज राख्न छाडिसकेका छन्’ आइएनआई सिनेमा हलका प्रबन्धक सुरेन्द्र थापाले भने, ‘अहिलेदेखि नै बोर्डले बेलुकादेखि नै फिल्म नचलाउन दवाव दिन सुरु गरेको छ ।

अघिल्ला अध्यक्ष दयाराम दाहालकै पालामा ११ बजेपछि शो चलाउन नपाइने निर्णय भएको थियो । भुवनले अघिल्ला अध्यक्ष दाहालकै निर्णयलाई कार्यान्वयन गर्न खोजेका हुन् । शो मात्र होइन १५ दिनभित्र हल नवीकरण गर्नुपर्ने र कर दाखिला गर्नुपर्ने दाहालकै निर्णयलाई पनि उनले अघि बढाएका छन् ।

स्वयम अध्यक्ष दाहालले भुवनलाई आरोप लगाउनुको अर्थ नरहेको बताइसकेका छन् । हल संचालकले ‘केजीएफ २’ लाई राती चलाएर कर छलेको आरोप लगाउँदै दाहाल नेतृत्वको बोर्डले यसअघि रात्री शो राख्न नपाइने, राख्नैपर्ने भए प्रशासनको इजाजत लिनुपर्ने निर्णय समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?