News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले आगामी फिचर फिल्म ‘शुभविवाह’का लागि पुनः सहकार्य गर्ने भएका छन् ।
- फिल्मको बिहीबार औपचारिक घोषणा गरिएको समारोहमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईले इन्गेजमेन्टको दृश्यसहित फिल्मका कलाकार सार्वजनिक गरे ।
- प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुने यो रोमान्टिक फिल्म २१ फागुनमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ ।
काठमाडौं । ‘प्रेमगीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच सहकार्य सम्भव भएको छ । हालै अमेरिकाबाट फर्किएका निर्देशक थापाको आगामी निर्देशकीय फिचर ‘शुभविवाह’को शीर्ष भूमिकामा खड्का अनुबन्धित भएका छन् ।
विहिबार मात्र यो फिल्म निर्माणको औपचारिक घोषणा भएको छ । आयोजित समारोहमा फिल्मको घोषणा मात्र भएन, शीर्ष कलाकारलाई आफ्नै स्टाइलमा सार्वजनिक पनि गरियो ।
फिल्मको थिमअनुसार, अभिनेता खड्का र अभिनेत्री सनिशा भट्टराईले औंठी साटासाट गरेर इन्गेजमेन्ट गरे । वास्तविकजस्तै लाग्ने यो दृश्य फिल्म र कास्टिङबारे जानकारी दिन गरिएको रोचक कोरियोग्राफी थियो ।
निर्देशक थापा रोमान्टिक फिल्मका लागि प्रसिद्ध छन् र उनकै फिल्मबारे जानकारी दिन अपनाइएको यो शैली रोचक हुने नै भयो । सुदर्शनको होमप्रोडक्सन प्रियादर्शन फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।

अन्य कास्टमा हरिहर शर्मा, बसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य छन् ।
सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने यस फिल्मको पटकथा पटकथा तथा संवाद रामशरण पाठकको छ । अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्वसंगीत हुनेछ ।
राजेश श्रेष्ठको छायांकन रहने फिल्मको सम्पादन मिलन श्रेष्ठले सम्हाल्नेछन् । रोमान्टिक कथावस्तुमा आधारित हुने बताइएको यो फिल्मको छायांकन छायांकन छिट्टै सुरु गर्ने तयारी निर्माण पक्षको छ । साथै यो फिल्मको प्रदर्शन २१ फागुनलाई तोकिएको छ ।
प्रतिक्रिया 4