+
+

कैलालीमा बाढीले १५ सय घर डुबानमा, ६ हजार जना प्रभावित

जनक विष्ट जनक विष्ट
२०७९ असोज १ गते १८:५५

१ असोज, धनगढी । शुक्रबार रातिदेखिको वर्षापछि आएको बाढीले कैलालीमा झण्डै १५ सय घर डुबानमा परेको छ । जिल्लाको पूर्व क्षेत्रमा पर्ने भजनी, लम्कीचुहा, नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

कैलारी गाउँपालिका, चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाका केही वडामा समेत बाढी पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बाढीले सबैभन्दा बढी भजनी नगरपालिकामा सात सय घर डुबानमा परेको जानकारी दिए ।

उनका अनुसार भजनी नगरपालिका–१, ३, ५, ७, ८ र ९ मा बाढी बस्तीमा पसेपछि घरहरु डुबानमा परेका हुन् ।

जोशीपुर गाउँपालिका–३ र ४ मा पनि करीब तीन सय घर डुबानमा परेका छन् भने जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा गरी ८० घर, कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५, ७ र ८ गरी मा ११० घर डुबानमा परेका छन् ।

लम्कीचुहा नगरपालिका–९ मा १२ घर र धनगढी उपमहानगरपालिका १३ को श्रीलंका टोलका १४ घर डुबानमा परेको डीएसपी जोशीले जानकारी दिए । बाढीले प्रभावित भएका यी स्थानीय तहमा पूर्ण तथा आंशिक गरेर करीब ६ हजार मानिस विस्थापित भएको अनुमान गरिएको जोशीले बताए ।

बाढीले सबैभन्दा बढी प्रभावित भएको भजनी नगरपालिकामा विस्थापित भएका मानिसहरुलाई स्थानीय विद्यालयहरुमा राखिएको छ । जानकी गाउँपालिकाका विस्थापितहरुलाई सामुदायिक भवनहरुमा राखिएको छ ।

प्रहरीकाअनुसार अहिलेसम्म बाढीले धनगढी उपमहानगरपालिका–१३ मा स्थानीय नालामा माछा मार्न गएकी १९ वर्षीय नविना चौधरीको बगेर मृत्यु भएको छ । चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् भने टीकापुर नगरपालिका–२ को विजयपुरमा २२ वर्षीय शिशिर चौधरी पनि घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?