+
+

डा. गोविन्द केसीसँग सरकारले भोलि वार्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते २०:१२

१ असोज, धनगढी । अनसनरत डा‍. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीको अवस्था स्थिर रहेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

जैसीका अनुसार स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधी प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन् । उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधी प्रयोग नगर्ने अडान लिएका छन् । केसीको ब्लड प्रेसर घटेको छ भने मुटुको चालमा गडबढ भएको छ ।

केसीले उठाएका मागबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेपनि अहिलेसम्म वार्ता हुन सकेको छैन । उनका सहयोगी डा. जैसीका अनुसार सरकारले शनिबार वार्ता गर्ने भनेपनि वार्ता टोलीमा सदस्य रहेका शिक्षा सचिव उपत्यका बाहिर गएकाले नभएको हो । सरकार पक्षले भोलि बिहान १० बजे वार्ताका लागि बोलाएको छ ।

‘सरकारी वार्ता टोलीले आज वार्ता गर्ने भन्ने कुरा थियो तर सो कमिटीका सदस्य रहेका शिक्षा सचिवज्यू पूर्व निर्धारित कार्यक्रमअनुसार भ्याली बाहिर जानुपर्ने भएकाले गइसक्नुभएको रहेछ’, जैसीले अनलाइनखबरसँग भने, ‘अब भोलि बिहान १० बजेका लागि वार्ता तय भएको छ ।’ पहिलो चरणको वार्ता काठमाडौंमै हुने उनले बताए ।

यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै धनगढीमा प्रर्दशन गरिएको छ । शनिबार दिउँसो धनगढीको पार्क मोडमा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?