+
+

साफ महिला च्याम्पियनसिपमा नयाँ-नयाँ कीर्तिमान, अब प्रतीक्षा नयाँ विजेताको

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज २ गते ७:५६
भारतलाई पराजित गरेपछि नेपाली टिम ।

२ असोज, काठमाडौं । काठमाडौंमा भइरहेको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नयाँ-नयाँ कीर्तिमान बनिरहेको छ ।

समूह चरणमा ९ र सेमिफाइनलमा दुई खेल सकिँदा विभिन्न कीर्तिमान बने । अब फाइनल बाँकी छ र फाइनल खेलपछि पनि नयाँ कीर्तिमान बन्ने पक्का छ ।

फाइनल पुग्ने दुवै टिम नेपाल र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यसैले यस पटक जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ ।

नेपाल पाँचौ पटक र बंगलादेश दोस्रो पटक फाइनल पुगेका हुन् । यसअघि सन् २०१६ मा नेपाल सेमिफाइनल पुग्न सकेको थिएन भने त्यही संस्करणमा बंगलादेश सेमिफाइनल पुगेको थियो ।

अहिलेसम्म बनेका केही कीर्तिमानहरु यस्ता छन्-

दशरथ रंगशालामा पहिलोपटक साफ महिला च्याम्पियनसिप

च्याम्पियनसिपको १२ वर्षे इतिहासमा पहिलो पटक नेपालको अन्तर्राष्ट्रियस्तरको रंगशाला दशरथ रंगशालामा महिला साफ आयोजना भइरहेको छ । नेपालले लगातार दोस्रो पटक च्याम्पियनसिप आयोजना गरेको हो । यसअघि सन् २०१९ मा पनि नेपालकै विराटनगरमा च्याम्पियन आयोजना भएको थियो । त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतमा एक-एक पटक च्याम्पियन आयोजना भएका थिए ।

दशरथ रंगशालामा पुरुष फुटबलमा धेरै प्रतियोगिता भएपनि महिला फुटबलको भने यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । यसअघि उमेर समूहको महिला अन्तर्राष्ट्रिय प्रतियोगिता भने दशरथ रंगशालामा भएको थियो ।

१२ वर्षमा फर्कियो खोलो, भारतको दुई हार

१२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान यस पटक महिला साफमा मजैले लागू भएको छ । त्यसको सबैभन्दा ठूलो उदाहरण प्रतियोगिता सुरु भएको १२ वर्षपछि भारत पहिलो पटक पराजित भयो । यसअघि ५ पटक च्याम्पियन बनेको भारत यस पटक फाइनलमा हुनेछैन, किनकि भारत सेमिफाइनलबाटै बाहिरियो ।

अर्को विशेषता के भने भारतलाई एकै संस्करणमा दुवै टिमले हराइदिए । पहिला समूह चरणमा बंगलादेशले भारतलाई ३-० ले हरायो । त्यसपछि सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएर फाइनल अघि नै घर फर्काइदियो ।

बंगलादेशले यसअघि सन् २०१६ को साफमा भारतलाई बराबरीमा रोकेको थियो । त्यही संस्करणको फाइनलमा बंगलादेश भारतसँग पराजित भएको थियो । यता नेपाल भने चार पटक फाइनल र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

बंगलादेश र नेपालले एकै पटक भारतलाई हराएर यसअघिका हारको बदला लिएका छन् ।

नेपालले यसअघि सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा मात्र भारतलाई हराएको थियो । त्यतिबेला दुवै गोल सावित्रा भण्डारी -साम्बा)ले गरेकी थिइन् । तर यस पटक सावित्रा नखेल्दा पनि नेपालले भारतलाई हरायो । समूह चरणको पहिलो खेलपछि डेंगु संक्रमित सावित्रा सेमिफाइनल अघि ठिक भएर मैदान फर्किएकी थिइन् । तर भारत विरुद्ध बेन्चमा रहेपनि उनले मैदान उत्रनुपरेन ।

भुटानको ऐतिहासिक सेमिफाइनल यात्रा

पछिल्ला वर्षहरुमा भुटानले एकेडेमीमा राम्रो लगानी गर्दै आएको छ । पुरुषको उमेर समूहमा भुटानले राम्रो प्रदर्शन गर्दै त्यसको नतिजा देखाइसकेको छ । महिलातर्फ पनि भुटानले यस पटक साफ महिला च्याम्पियनसिपमा इतिहासकै पहिलो जित हात पार्दै ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्‍यो ।

समूह ‘बी’ मा पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएपनि अर्को खेलमा श्रीलंकालाई ५-० को फराकिलो अन्तरले हराउँदै भुटान सेमिफाइनल पुगेको हो । साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा बंगलादेशसँग ८-० को फराकिलो हार व्यहोर्दै भुटान बाहिरिएको थियो ।

हरेक खेलमा क्लिनसिट

यस पटक च्याम्पियनसिपमा जति खेल भए त्यसमा जित्ने टिमले मात्र गोल गरेका छन् । यसको अर्थ जित्ने टिमले हरेक खेलमा क्लिनसिट राखे अर्थात् गोल खाएनन् । फाइनल पुग्ने नेपाल र बंगलादेश मात्र नभई समूह चरणमा जित्ने अरु टिमले पनि जित्दा गोल खाएनन् ।

नेपालले फाइनल यात्रा तय गर्दा कूल ११ गोल गर्यो । नयाँ कप्तान एन्जिल तुम्बापो सुब्बाको कप्तानीमा नेपालले तीन खेल जित्दा तीनै खेलमा क्लिनसिट राखेको छ ।

समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराएको नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हरायो ।

उता बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३-०, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले हरायो । सेमिफाइनलमा भुटानलाई ८-० ले हराएको बंगलादेशले कूल २० गोल गर्दा कुनै गोल खाएको छैन ।

यस बाहेक समूह चरणमा भुटान र पाकिस्तानले एक-एक खेल जित्दा कुनै गोल खाएनन् । भुटानले श्रीलंकालाई ५-० ले तथा पाकिस्तानले माल्दिभ्सलाई ७-० ले हरायो । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै पाकिस्तानले पहिलो जित हात पारेको हो ।

समूह चरणमा श्रीलंकाले दुई र माल्दिभ्सले तीन खेलमा पराजय व्यहोरे । श्रीलंकाले ११ तथा माल्दिभ्सले १९ गोल खाँदा कुनै गोल गर्न सकेनन् ।

सबिनाका दुई ह्याट्रिक

बंगलादेशले यस पटक गज्जबको प्रदर्शन गरिरहँदा कप्तान सबिना खातुनले नेतृत्व र गोल दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनले दुई ह्याट्रिकसहित सर्वाधिक ८ गोल गरेकी छन् । समूह चरणमा पाकिस्तान र सेमिफाइनलमा भुटानविरुद्ध ह्याट्रिक गरेकी सबिनाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध दुई गोल गरेकी थिइन् । उनले भारतविरुद्ध भने गोल गर्न सकिनन् ।

यस्तै पाकिस्तानकी नादिया खानले समूह चरणमा माल्दिभ्स विरुद्ध ह्याट्रिकसहित चार गोल गरिन् ।

बंगलादेशकी मोसामत जाहान सोप्ना र भारतकी अन्जु तामाङले पनि ४-४ गोल गरेका छन् ।

नेपालका लागि भने सावित्रा भण्डारी, अनिता बस्नेत, अमिसा कार्की र रश्मी कुमार घिसिङले २-२ गोल गरेका छन् ।

नयाँ च्याम्पियनको प्रतीक्षा

साफ महिला च्याम्पियनसिपको १२ वर्षे इतिहासमा यस पटक नयाँ च्याम्पियन पाउने पक्का छ । त्यसका लागि सोमबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल पर्खनुपर्नेछ । दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने प्रतिक्षामा छन् ।

यसअघि भएको पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो । नेपाल चार पटक र बंगलादेश एक पटक फाइनलमा पराजित भएका थिए ।

यसअघि सन् २०१० मा बंगलादेशको कक्सबजारमा भएको फाइनलमा भारतले नेपाललाई १-० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । २०१२ मा श्रीलंकाको कोलोम्बोमा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३-१ ले हराएर लगातार दोस्रो पटक उपाधि जित्यो ।

२०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो साफमा भारतले नेपाललाई ६-० ले हराएर उपाधिमा ह्याट्रिक गरेको थियो ।

२०१६ मा भारतको सिलिगुढीमा भएको चौथो साफमा भने पहिलो पटक फाइनल पुगेको बंगलादेशलाई भारतले ३-१ ले हराएर उपाधि जित्यो । २०१९ मा घरेलु मैदान विराटनगरमा भएको पाँचौ संस्करणमा भारतले नेपाललाई ३-१ ले हराएर पाँचौ पटक उपाधि जितेको थियो ।

छैटौं संस्करणको फाइनल पुगेपछि नेपालका प्रशिक्षक कुमार थापा र बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी छोतोनले फाइनलका लागि तयार भएको बताएका छन् । थापाले भारतलाई हराएपछि लामो समयको प्रतिक्षा पूरा भएको बताए ।

उता बंगलादेशका प्रशिक्षक छोटोनले फाइनलमा जो प्रतिद्वन्द्वी आएपनि भिड्न तयार रहेको बताइसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?