+
+
सेलिब्रिटीको अनुभूति :

बाल्यकालको त्यो दशैं : दक्षिणाको लोभ र खसीको मासु 

मनिषा थापा मनिषा थापा
२०७९ असोज २ गते १६:१४

काठमाडौं । हिजो जस्तो छैन आजको दशैं । एकसरो नयाँ लुगा फेर्न, भान्सामा मासुभात पाक्न दशैं नै कुनुपर्ने अवस्था थियो । दशैंको तिथि नजिकिएसँगै गाउँघरको रौनक फेरिन्थ्यो ।

घरआँगन सरसफाइ गर्ने, रंगरोगन गर्ने, लिङ्गे पिङ हाल्ने जस्ता काम सुरु हुन्थ्यो । एउटा पुस्ता, जो बाल्यकालमा दशैंका यस्तै अनुभवहरु संगाल्दै हुर्किए । यहाँ त्यही प्रतिनिधि पुस्ताको अनुभूति साझेदार गरिएका छन् ।

खसीको मासु खान दशैं नै आउनुपर्ने’

अभिनेता दीपकराज गिरी

बाल्यकालमा अधैर्यसाथ दशैंको पर्खाइ हुन्थ्यो । दशैं आउने दिनलाई क्यालेन्डरमा चिन्ह लगाएर औंला भाँच्दै दिनगन्ती सुरु हुन्थ्यो । शरद् ऋतुको त्यो मनमोहक याममा दशैं पर्खेर बस्नुको अनुभूति कम्ता रोमाञ्चक छैन ।

हुन त मेरो घर काठमाडौं नजिक, दहचोकमा हो । तर गाउँकै जस्तो वातावरण भएकाले हामीले मनाउने दशैं पनि ग्रामीण शैलीको हुन्थ्यो । गाउँको दशैं वास्तवमै सम्झनलायक हुन्छ ।

दशैं आउनुअघि नै गाउँको रुपरंग फेरिन्थ्यो । दुई–तीन महिनाअघि नै हामी नाटकको तयारी गर्थ्यौं , जुन नवमीको दिन मञ्चन हुन्थ्यो । त्यसबेला खसीको मासु खान दशैं नै आउनुपर्थ्यो । अहिलेको जस्तो बच्चाहरुलाई सपिङ गराइँदैनथ्यो ।

दशैंमा नयाँ लुगा त पाइन्थ्यो, तर विद्यालयकै ड्रेस हुनेगरी । त्यही लुगा लगाएर मामाघर गइन्थ्यो । मामाघरमा टीका लगाएर पाएको दक्षिणा चार-पाँच पटक गनिन्थ्यो । खल्तीमा पैसा छामेको छामेकै गरिन्थ्यो ।

श्रीमतीका साथमा दीपकराज गिरी ।

दक्षिणामा दिदीबहिनीले धेरै पैसा पाउने । हामीलाई भने थोरै पैसा दिइन्थ्यो । अनि दिदीबहिनीले धेरै पैसा पायो भने रिस गरिन्थ्यो । दक्षिणाकै लोभले सम्झी-सम्झी चिनेजानेको मान्छेकहाँ टीका थाप्न गइन्थ्यो । मामाघर, दाइको ससुराली, इष्टमित्र कुनै पनि ठाउँ बाँकी राख्दैनथ्यौं । वर्षैपिच्छे यसरी धाउँदा धाउँदा कसले बढी दक्षिणा दिन्छ भन्ने पनि थाहा भइसकेको थियो । त्यसैले धेरै पैसा दिनेकहाँ नछुटाई गइन्थ्यो । कम पैसा दिनेकहाँ आँखा तरेर हिंडिन्थ्यो । कतिपय घरमा भने छोरालाई दक्षिणा दिने चलन हुँदैन । त्यस्तो घरमा टिका लगाउन गएको बेला खिस्स परिन्थ्यो । अर्को वर्ष मरिगए पनि त्यस घरमा पाइला टेक्दैनथ्यौं ।

मामाघरमा दशैं मनाउनु बढी आनन्द आउने । किनभने त्यहाँ बढी माया ममता पाइने, सबैले पुलपुल्याउने । साथै होमवर्क पनि गर्न नपर्ने । घरमा भएको बेला त होमवर्कको भारीले थिचिरहने ।

जसको घरमा गए पनि मीठो मसिनो खान पाइने, सबैले माया गर्ने, विद्यालय जान नपर्ने, कामै नगरी टीका थापेर पैसा पाइने, नयाँ लुगा लगाउन पाइने । दशैं गज्जब लाग्थ्यो, बाल्यकालको बेला । त्यो बेलाको दशैं सम्झेर अहिले पनि नोस्टाल्जिक हुन्छु ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?