+
+

नेपालको जलविद्युत् र प्रसारणलाइनमा अडानीको चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते २०:३१

२ असोज, काठमाडौं । संसारकै धनी व्यक्तिको सूची (फोर्ब्स म्यागेजिन)मा तेस्रो स्थानमा रहेका भारतीय उद्योगी गौतम अडानीको अडानी ग्रुपले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो ।

१८ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि भारतीय कम्पनीहरुले धमाधम नेपालका ठूला जलविद्युत् परियोजना हात पार्दैछन् । यही दौडमा अडानी ग्रुप पनि देखिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीका अनुसार वैशाखयता मात्रै अडानी ग्रुपका प्रतिनिधि तीन पटक काठमाडौं आइसकेका छन् । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका उच्च अधिकारीलाई भेटेर लगानीका लागि प्रस्ताव गरेका छन् ।

‘मुख्य गरी उहाँहरुको ध्यान कर्णाली बेसिनको आयोजनाहरुमा छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘पहिलो चरणमा अडानी ग्रुपले कम्तीमा एक हजारदेखि दुई हजार मेगावाटसम्मका परियोजनामा लगानी गर्न चाहिरहेको छ ।’

१० हजार मेगावाटको कर्णाली चिसापानी आयोजनामा अडानी ग्रुपको विशेष चासो छ । तर, नेपाली अधिकारीहरुले कर्णाली जलाधारकै आयोजनाहरुबाट लगानी गर्न सुझाव दिएका छन् ।

‘ठूला आयोजनामा हात हाल्नुअघि ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् परियोजना, ४४० मेगावाटको तिला-१ र ४२० मेगावाटको तिला-२ जस्ता आयोजनामा लगानी गर्न सकिने राय दिएका छौं’, ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, यसबारे अडानी ग्रुप निष्कर्षमा पुगेको छैन ।’

तिला-१ र तिला-२ चिनियाँ कम्पनीले ‘होल्ड’ गरेका आयोजना हुन् भने फुकोट कर्णाली सरकारको जलविद्युत् विकास कम्पनीको हातमा छ । ऊर्जा मन्त्रालयका अधिकारीहरुले मुगु कर्णाली लगायतका आयोजनालाई पनि सम्भाव्य भनेका छन् ।

अडानी ग्रुपले भारतसँग जोडिने अन्तरदेशीय प्रसारणलाइन बनाउन पनि चासो देखाएको छ । यस्ता प्रसारणलाइनको व्यवसायिक सम्भाव्यताबारे अडानी ग्रुपले आन्तरिक तवरबाट अध्ययन समेत सुरु गरेको ऊर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

नेपालभित्रै बन्ने ४०० र ६०० केभी र त्यसभन्दा बढी क्षमताका प्रसारणलाइनमा लगानी गर्न समेत अडानी ग्रुप उत्सुक देखिएको छ । तर, प्रसारण पूर्वाधारमा निजी क्षेत्रको लगानीबारे अहिलेसम्म सरकारले स्पष्ट नीति बनाइसकेको छैन ।

अडानी ग्रुप भारतमा विद्युत् उत्पादन र प्रसारणलाइन पूर्वाधारमा लगानी गरेर अनुभव बटुलेको कम्पनी हो । यस्तो कम्पनीलाई नेपालमा लगानी गराउन सकेमा ऊर्जा उत्पादन र बजारको सम्भावनाबारे विश्वस्तरमा सकारात्मक सन्देश जाने सरकारी अधिकारीहरुको भनाइ छ ।

‘विश्वको सबैभन्दा धनी व्यक्ति हुने लाइनमा उभिएका व्यक्ति नेपालमा लगानी लिएर आउँछन् भने किन सहयोग नगर्ने त ?’ एक ऊर्जा अधिकारी भन्छन्, ‘राष्ट्रिय हितलाई हेरेर व्यवसायिक ढंगबाट यस्ता लगानीलाई स्वागत गर्नुपर्छ, यसले अन्य देशका लगानीकर्तालाई पनि तान्छ ।’

अडानी ग्रुपले यसै वर्ष २६ जुलाईमा हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । त्यसकै आधारमा अडानी ग्रुप नेपाल आएको अनुमान छ ।

देउवाको भारत भ्रमणपछिको चासो

१८ चैत २०७८ मा भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणपछि अडानी ग्रुप नेपालमा लगानीबारे छलफल गर्न आएको हो । देउवाको भारत भ्रमणको क्रममा ‘ऊर्जा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र’ नामको ६ बुँदे कागजमा हस्ताक्षर भएको थियो ।

त्यो ‘दृष्टिकोणपत्र’ मा नेपालमा संयुक्त लगानीमा जलविद्युत् आयोजना विकास गर्ने, थप अन्तरदेशीय प्रसारणलाइन बनाउने, राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा सहकार्य गर्ने, दुवै मुलुकको ऊर्जा बजारमा सहज पहुँच दिने, नेपालको जलविद्युत् क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी बढाउन पहल गर्ने लगायत छन् ।

त्यही लिखतको आडमा भारतका कम्पनीहरु नेपालका ठूला परियोजनाहरु लगानी गर्ने भन्दै भित्रिरहेका छन् । परियोजना ओगटेर बसेका भारतीय कम्पनीहरुले पनि लगानी जुटाउन समय पाएका छन् ।

त्यही दृष्टिकोणपत्रका आधारमा १ जेठ २०७९ मा ६७९ मेगावाटको अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा लुम्बिनीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

यस्तै गत २ भदौमा भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई ७५० मेवावाटको पश्चिम सेती जलविद्युतच आयोजना र र ६६९ मेगावाटको सेती-६ जलविद्युत आयोजनाको सर्वेक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनएचपीसीलाई दुई वटा परियोजना दिलाउन भएका सबै निर्णयको नेतृत्व प्रधानमन्त्री देउवाकै अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले गरेका हुन् ।

कस्तो ग्रुप हो अडानी ?

अडानी ग्रुप भारतकै ठूलो निजी क्षेत्रको बन्दरगाह र विमानस्थल सञ्चालक कम्पनी हो । सिटी ग्यास वितरण र कोइला खानीमा पनि यो भारतमा पहिलो नम्बरमा छ । भारतका सातवटा विमानस्थल सञ्चालन गर्ने यो ग्रुप भारतको मुन्द्रा सामुन्द्रिक बन्दरगाह चलाउँछ ।

थर्मल प्लान्टबाट भारतीय बजारमा २० प्रतिशतभन्दा बढी बिजुली आपूर्ति गर्ने यो ग्रुपले खपत हुने एक तिहाइ कोइला आयात तथा उत्खनन गर्छ । सौर्य ऊर्जामा समेत लगानी गरिरहेको यो ग्रुपले करिब १८ हजार किलोमिटर प्रसारणलाइन र १२ हजार मेगावाट बिजुली उत्पादन गर्छ ।

गौतम ग्रुपका अध्यक्ष गौतम अडानीले यसै महिना विश्वकै तेस्रो धनाढ्य बन्ने क्रममा फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पारेका थिए ।  विश्वका धनीहरुको सूचीमा अहिले टेस्लाका सीईओ एलन मस्क र अमेजनका संस्थापक जेफ बेजोस मात्र अगाडि छन् ।

अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् । ६० वर्षीय अडानीको कुल सम्पत्ति १ खर्ब ५४ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ ।

गत फेब्रुअरीमा मुकेश अम्बानीलाई उछिन्दै उनी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?