+
+

राजनीति र व्यापारको गठजोड : मोदीको स्नेहमा अडानीको चमत्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २०:३६

१४ भदौ, काठमाडौं । सन् १९७८ मा गुजराज विश्वविद्यालय मातहतको सीएन विद्यालय स्कूलमा कमर्स पढिरहेको एउटा छात्रले अचानक पढाइ छाड्छ । हजारौं विद्यार्थी पढ्ने विद्यालयमा १६–१७ वर्षे एउटा केटाले पढाइ छाड्नु नयाँ र नौला हुँदैन, त्यसैले कसैले वास्ता गर्दैनन् ।

सन् २०१८ मा भारत सरकारले ६ वटा विमानस्थल निजीकरण गर्छ र ६ वटै एउटै व्यक्तिले पाउँछन् । ६ वटा विमानस्थल सञ्चालनको जिम्मा पाउने ती व्यक्ति ४० वर्षअघि पढाइ छाडेका तीनै छात्र गौतम अडानी हुन् । उनी अहिले एसियाको पहिलो र विश्वको तेश्रो धनी व्यक्ति हुन् ।

अडानी ठूलो व्यापारिक घरानाका सन्तान होइनन्, ६० वर्षअघि गुजरात, अहमदावादको सामान्य परिवारमा जन्मेका थिए । उनका पिताको सानो कपडा व्यवसाय थियो, जसबाट गौतमसहित ८ सन्तानलाई हुर्काउन–बढाउन पुगेको थियो ।

बावुको व्यवसायलाई अघि बढाउन सघाएनन् । पढाईसंगै घर छाडेर बम्बै (हाल मुम्बई) हानिएका उनले त्यहाँ हिरा व्यापारीको पसलमा काम गरे । हिरा चम्काउने उनको काम थियो । अरुको हिरा टल्काएर आफ्नो भाग्य चम्किन्न भन्ने ठानेर उनी दुई वर्षमै अहमदावाद फर्के ।

गौतम घर पुग्दा दाइले प्लाष्टिक उद्योग खोल्ने तयारी गरिरहेका थिए, उनी त्यसमै जोडिए । उनीहरुको उद्योगको क्षमता मासिक १५ टनको थियो । तर कोटा सिस्टमका कारण पर्याप्त कच्चा पदार्थ नपाएपछि क्षमताअनुसार चल्न सकेको थिएन । जेनतेन खर्च उठिरहेको थियो ।

सरकारले सन् १९८५ मा कच्चा पदार्थ प्रयोगकर्ताले नै आयात गर्न पाउने नियम ल्यायो । अडानी दाजुभाइले त्यसलाई सदुपयोग गरे । उनीहरुले अडानी इन्टरप्राइजेज स्थापना गरेर आयात व्यापारको काम थाले । १९९४ मा आइपुग्दा अडानी इन्टरप्राइजेज भारतको शेयरबजारमा सूचिकृत भइसकेको थियो ।

अर्को वर्ष अडानी समूहले मुन्दरा बन्दरगाह र विशेष आर्थिक क्षेत्र (सेज)सञ्चालनको ठेक्का पायो । गौतम अडानीले १९८५ को त्यो नियमलाई आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ भन्ने गरेका छन् ।

‘सरकारले कच्चा पदार्थ प्रयोगकर्तालाई आयातको अनुमति दिएपछि मैले आयात र पोलिमर व्यापार पनि गरें’, २००७ को एउटा अन्तवार्तामा उनले भनेका छन्, ‘दोश्रो मोड सन् १९९५ मा आयो, जब हामीले व्यावसायिक समूह बनाएर बन्दरगाह व्यवस्थापनको क्षेत्रमा हात हाल्यौं ।’

दिल्ली गद्दीको न्यानो पाएका अडानीले विमानस्थल, बन्दरगाह, रेल, कोइलाखानी, विद्युत, सिमेन्ट, सञ्चार माध्यम र आल्मुनियमको क्षेत्रमा नाफाको साम्राज्य खडा गरेका छन्, त्यो पनि अकल्पनीय रुपमा द्रुत गतिमा ।

उनले नभने पनि भारतको सत्तामा गुजरातका नरेन्द्र मोदीको उदयलाई अडानीको तेस्रो ‘टर्निङ प्वाइन्ट’ मान्नेहरु धेरै छन् ।

२००२ मा गुजरातमा एकहजारभन्दा बढी मानिसको ज्यान जानेगरि हिन्दु–मुस्लीम दंगा हुँदा हिन्दुराष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी मुख्यमन्त्री बनेको ३ वर्ष पुगेको थियो । धार्मिक दंग भट्काएको आरोप उनीमाथि लाग्यो नै । त्यो संकटको समयमा मोदीको समर्थनमा अडानी अघि सरे । भएभरका व्यापारिक घरनाले साथ छाडेका बखत अडानीले मोदीलाई काँध थापेका थिए ।

गुजरातलाई भारतको औद्योगिक केन्द्र बनाउने घोषणा गरेका मोदीलाई साथ दिएका अडानीको पनि व्यापार–व्यवसाय फैलिदै गयो । संकटको बेला बनेको सम्बन्धलबाट दुवैको ‘करिअर’ विस्तार हुँदै गयो । २००६ मा कोइलाबाट विद्युत उत्पादन थालेका अडानी २०१२ मा कच्चा पदार्थको लागि अष्ट्रेलियाको क्विन्सल्याण्डमा कोइला खानी नै किन्ने हैसियतमा पुछन् ।

मोदी पनि २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्रीमा निर्वाचित हुन्छन् । उनलाई अडानीले आफ्नो निजी विमानमा राखेर शपथ खान गुजरातबाट नयाँ दिल्ली ल्याउँछन् । त्यसको खुब आलोचना भयो, तर दुवैले वास्ता गरेनन् ।

मोदी नेतृत्वको सरकारले २०१८ मा ६ वटा विमानस्थल निजीकरण गरेर अडानीलाई नै दिन कानुन नै परिवर्तन गरेको थियो । त्यसका लागि विमानस्थल व्यवस्थापनको क्षेत्रमा अनुभव नभएको कम्पनीले पनि प्रतिस्पर्धा गर्न पाउने नियम बनाइएको थियो ।

अडानीले ५० वर्षका लागि पाएका विमानस्थलमध्ये केरला राज्यको त्रिवेन्द्रम अन्तर्राष्ट्रिय विमानस्थल पनि एक हो । यसको व्यवस्थापन अडानीले पाउनुलाई केरलाका वित्तमन्त्रीले ‘क्रूअल क्रोनिजम्’ भनेका थिए । मोदी सरकारले भने ‘पारदर्शी निजीकरण प्रक्रिया’ भन्दै आफ्नो बचाउ गरिरह्यो ।

मोदी २०१९ मा दोस्रो पटक प्रधानमन्त्री चुनिए । अडानी पनि छ विमानस्थलमा रोकिएनन् । उनले २०२० मा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत हिस्सेदारी पाएका छन् । उनले २०२० मा पनि सोलार इनर्जी कर्पोरेसन अफ इन्डियाले निकालेको विश्वकै ठूलो सौर्य उर्जा सम्बन्धी ठेक्का हात पारे ।

ब्लूमबर्ग बिलिनेयर्स इन्डेक्स लिस्ट अनुसार विश्वका तेश्रो धनी गौतम अडानीसँग ११ लाख करोड भारतीय रुपैयाँ (१३७.४ अर्ब डलर) बराबरको सम्पत्ति छ । विश्वका पहिलो धनी एलन मस्कसँग २५१ अर्ब डलर र दोश्रो स्थानका जेफ बेजोससँग १५३ बिलियन डलर सम्पत्ती छ ।

अडानीको सम्पत्ति यही रफ्तारमा बढ्दै गए विश्वका सर्बाधिक धनवानको सूचीमा बेजोस तेश्रो स्थानमा झर्न केही महिना मात्र लाग्ने छ । किनकी, अडानीले २०२२ को पहिलो ८ महिनामै ६०.९ बिलियन डलर कमाएका छन्, जुन मस्क र बेजोसको तुलनामा ५ गुणा बढी हो ।

अडानीले गत फेब्रुअरीमा भारतकै मुकेश अम्बानी र जुलाइमा अमेरिकाका बिल गेट्सलाई उछिनेका हुन् ।

दिल्ली गद्दीको न्यानो पाएका अडानीले विमानस्थल, बन्दरगाह, रेल, कोइलाखानी, विद्युत, सिमेन्ट, सञ्चार माध्यम र आल्मुनियमको क्षेत्रमा नाफाको साम्राज्य खडा गरेका छन्, त्यो पनि अकल्पनीय रुपमा द्रुत गतिमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?