+
+

दशैंलाई मासुको मूल्य आफूखुसी तोक्दै व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १४:५७
फाइल तस्वीर

३ असोज, काठमाडौं । काठमाडौंका मासु व्यवसायीहरुले दशैंमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ ।

संघका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो तीन वर्षदेखि सरकारले व्यवसायी संघसँग मूल्य तोक्नेबारे कुनै छलफल नै गरेको छैन । ‘सरकारले छलफल गर्ला र मूल्य तोक्ने भनेर बसेको यो वर्ष पनि कुनै छलफलका लागि बोलावट भएन,’ अध्यक्ष खड्गीले भने, ‘अब बजारमा मूल्य खुल्ला हुने भयो । मासुको मूल्य जति पनि हुनसक्छ ।’

संघकाअनुसार यो वर्ष खसीको तयारी मासुको मूल्य न्यूनतम् १३ सय रुपैयाँदेखि सुरु हुने देखिएको छ । सरकारले बजारको आपूर्ति हेरेर मूल्यको सीमा नतोक्दा विगतका वर्षहरुमा अधिकमा १३ सय रुपैयाँ हुने खसीको मासुको मूल्य यो वर्ष पनि सोही आधारमा न्यूनतम मूल्य निर्धारण हुने अध्यक्ष खड्गीले बताए ।

अहिले नै केही व्यवसायीहरुले १ हजार ४ सयदेखि १ हजार ४५० रुपैयाँ किलोसम्म खसीको मासुको मूल्य तोकेको भन्दै अध्यक्ष खड्गीले खसीको मासुको मूल्यमा यो वर्ष उतार चढाव हुने बताए ।

‘बजारमा जिउँदो खसीको मूल्य तराईको खसीको ७ सय रुपैयाँ छ, लोकल खसीको त्यो भन्दा कम छ । तर तयारी मासुको मूल्य दोब्बर हारहारी हुने देखियो,’ खड्गीले भने, ‘अब सहुलियतमा ल्याउने खसीले मात्रै मूल्यलाई केही नियन्त्रण गर्न सक्छ ।’

संघका अनुसार यो वर्ष बंगुर र बफ मासुको मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा स्थिर छ । विगत चार वर्षदेखि यी मासुको मूल्यमा उतार चढाव आएको छैन ।

यो दशैंमा कुखुराको मासुको मूल्य भने पहिले भन्दा धेरै हुने संघले जनाएको छ । अहिले प्रतिकिलो ४५० रुपयाँसम्ममा कुखुराको मासु बिक्री भएको र यो मूल्य गतवर्ष भन्दा किलोमा एक सय रुपैयाँले महँगो भएको खड्गीले बताए ।

तर, दशैंको मुखैमा खुद्रा बजारको खपत घट्ने भएकाले मूल्य अझै ओरालो लाग्ने संघको अनुमान छ । काठमाडौंमा अहिले संघका दर्ता भएका एक हजार हाराहारी मासु पसल छन् ।

दशैंमा काठमाडौंमा ८० हजारदेखि एक लाख गोटा खसी–बोका चाहिने संघको अनुमान छ । अहिले दैनिक एक हजार खसी–बोका, ४ सय बंगुर र ८ सय गोटा बफ बजारमा मासुका लागि खपत हुने गरेको छ । यस्तै २ लाख किलो भन्दा बढी कुखुराको मासु उपत्यकामा खपत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?