+
+

एमालेमा बादल : लगातार ओरालो

एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्यो ।

सइन्द्र राई सइन्द्र राई
२०७९ असोज ३ गते २०:५८

३ असोज, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा कोही पनि पदाधिकारी परेका छैनन् ।

एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्यो ।

समानुपातिकतर्फको नाम तय गर्न आइतबार सचिवालय बैठक बसेको थियो । बैठकले अन्तिम सूची तयार पार्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर सूची तयार पार्दा पार्टी बैठकबाट तय भएको मापदण्ड मिच्न नहुनेमा विमति नभएको र एकमतले निर्णय भएको एक पदाधिकारी बताउँछन् । ‘मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने नै निष्कर्ष हो’, एक पदाधिकारी भन्छन् ।

एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको सांसद बन्ने बाटो नै बन्द हुनेछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसैले दोहोरिन नपाएका हुन् ।

रामबहादुर थापाले भने गएको वर्ष राष्ट्रियसभा सदस्यमा उम्मेदवार भएकाले एमालेको मापदण्ड अनुसार, उनी समानुपातिकतर्फ बस्न नपाउने भएका हुन् । यदि यस्तो अवस्था आएमा भने एमालेतिर लागेकै कारण थापाले राजनीतिक नोक्सानी बेहोरेको अर्को घटना हुनेछ ।

राजनीतिक उतारचढाबकै कारण बादलले राम्रै राजकीय अवसर पाएका थिए । तर त्यही अवसरको (गृहमन्त्री) पछि लाग्दा बादल अहिले लगातार राजनीतिक क्षति बेहोरिरहेका छन् ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनको निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै थापा एमालेतिर लागेका हुन् । तर एमालेतिर लागेकै कारण उनले लगातार संसदीय र राजनीतिक क्षति बेहोरिरहेका छन् ।

निरन्तर नोक्सानी

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका क्रममा ओलीलाई साथ दिएपछि बादलले चार दशक पुराना साथीहरू गुमाएका थिए । सर्वोच्च अदालतले माग दावी नै नभएको फैसला गरी नेकपा माओवादी केन्द्र पुनर्स्थापना गरेपछि बादललाई लगातार साथ दिँदै आएका नेताहरु पुष्पकमल दाहाल प्रचण्डतिर लागे ।

पार्टी विभाजनमा समेत साथ दिएका देव गुरुङ अहिले माओवादी केन्द्रकै महासचिव छन् । पम्फा भुसाल उर्जा मन्त्री छिन्, जसले सरकारमा पार्टीको नेतृत्व समेत गर्छिन् । गुरुङ, भुसाल लगायत ठूलो संख्याका नेताहरु मात्रै नभएर बादललाई उनकै सचिवालयका सदस्यहरुले समेत छोडे । सचिवालयमा रहेका सूर्य सुवेदी, वीर तामाङ लगायत बादललाई छोडेर माओवादी केन्द्रमै बसे ।

‘अहिले कुराकानी पनि नभएको धेरै भयो, चासो लिइरहने कुरा पनि भएन’, तामाङ भन्छन् । एक नेताका अनुसार, ३५ केन्द्रीय सदस्यले त्यसबेला बादलको साथ छोडेर माओवादी केन्द्र नै रोजेका थिए । तर बादल भने केही नेताहरु लिएर एमालेतिर लागे ।

एमाले रोजेपछि बादलले पूर्वसहयोद्धा र पार्टी (माओवादी) सँगै, राष्ट्रियसभा सदस्य र गृहमन्त्री पद गुमाए । अदालतको फैसलाकै कारण वैधानिक रुपमा माओवादी केन्द्रका नेता बन्न पुगेका बादललाई प्रचण्डले पार्टीमा फर्कन निर्देशन दिएका थिए । तर त्यो निर्णय नमानेपछि बादललाई माओवादी केन्द्रले पार्टी सदस्य र राष्ट्रियसभा सदस्यबाट कारवाही गर्‍यो ।

उक्त निर्णयपछि राष्ट्रियसभा सदस्य पद गुमाए । जबकि १४ माघ २०७४ मा माओवादी केन्द्रको उम्मेदवार बनेर बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य जितेका थिए । त्यसबेला ५९ सदस्यीय राष्ट्रिय सदस्य निर्वाचित (३ मनोनित सहित) मध्ये २, ४ र ६ वर्षे कार्यकालको चिट्टा तान्दा बादलले ६ वर्षको अवसर पाएका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै माओवादी केन्द्रले १५ फागुन २०७४ मा बादललाई गृहमन्त्रीसहित पार्टीको नेतृत्व गर्दै सरकारमा पठायो । जबकि ६ जेठ २०७३ मा मात्रै बादल माओवादीमा फर्किएका थिए । २०६९ मा मोहन वैद्य, सीपी गजुरेल लगाायतलाई साथ दिँदै पार्टी विभाजन गरेका बादललाई माओवादी केन्द्रमा फर्किएको डेढ वर्षभित्रै यो तहको अवसर दिइयो ।

उसो त, २०३७ सालदेखि भूमिगत राजनीति गरेका बादललाई माओवादी सशस्त्र विद्रोहका एक प्रमुख योजनाकार मानिन्छ । त्यसैले माओवादीभित्र उनी प्रभावशाली भूमिकामा रहे, अवसर लिए । २०६४ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुँदा डा.बाबुराम भट्टराई अर्थमन्त्री र बादल रक्षामन्त्री थिए ।

त्यसबेला एमालेका बामदेव गौतम गृहमन्त्री भएकाले प्रचण्ड सरकारमा बादल शक्तिशाली मन्त्रालयकै जिम्मेवारीमा थिए । अझ सशस्त्र विद्रोहबाट माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको त्यो अवस्थामा रक्षा मन्त्रालयको नेतृत्व अर्थपूर्ण थियो । माओवादीले बादललाई त्यही मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

तर संविधान नबन्दै वैद्यसँगै बादल पनि पार्टीबाट अलग भए । संविधान बनेपछि मात्रै माओवादीमा फर्किए । बाबुरामले पनि पार्टी छोडेका बेला माओवादी केन्द्र फर्किएका बादल पार्टीको नेतृत्व गर्दै ओली नेतृत्वको सरकारमा गए ।

अर्थात् राजनीतिक उतारचढाबकै कारण बादलले राम्रै राजकीय अवसर पाएका थिए । तर त्यही अवसरको (गृहमन्त्री) पछि लाग्दा बादल अहिले लगातार राजनीतिक क्षति बेहोरिरहेका छन् । एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परी राष्ट्रियसभा सदस्य गुमाएकै कारण ६ जेठ २०७८ मा गृहमन्त्रीबाट पदमुक्त भए ।

त्यसदिन बादलले दोहोरो क्षति खेप्नु परेको थियो । बादल कारवाहीमा परेकै कारण रिक्त स्थानमा फेरि एमालेलाई उनैलाई उम्मेदवार बनायो । तर उनी खिमलाल देवकोटासँग पराजित भए । कलम चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल निकट (त्यसबेला एमाले विभाजित भइसकेको थिएन) को समर्थन थियो ।

आफैले हुर्काएको पार्टी (माओवादी), राष्ट्रियसभा सदस्य र गृहमन्त्री गुमाएका बादललाई खुशी पार्न ओलीले नैनकला थापालाई सञ्चारमन्त्री नियुक्त गरे । तर दुई हप्ता पनि टिक्न पाएनन् । २७ जेठ २०७८ मा भएको थापाको मन्त्रीको नियुक्ति ८ असारको आदेशबाट बदर भयो ।

२८ असार २०७८ मा दोस्रोपटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि त ओली नै पदमुक्त भए भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ । त्यसैले कुनै राजकीय अवसर बादलले पाउने कुरै भएन ।

पार्टी भूमिकामा पनि बादलको प्रभाव छैन । उनी, एमालेमा ६ मध्ये एक उपाध्यक्ष हुन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे जस्ता बलियो पृष्ठभूमि र प्रभाव रहेका नेताहरुको लहरमा बादललाई एमाले पंक्तिले नवप्रवेशीको सहानुभूति मात्रै राख्छ ।

उनी निकट एक नेता भने, लाभको पद मात्रै सबथोक नरहेको बताउँछन् । ‘प्रत्यक्ष तर्फ उहाँलाई समस्या छ, समानुपातिक तर्फ पनि प्राविधिक समस्या देखिएको हो’ ती नेता भन्छन्, ‘राजनीतिमा यसैलाई ठूलो रुपमा लिन हुन्न ।’

बादलकै साथ लागेर एमालेमा लागेका अन्य मुख्य नेताहरु भने प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कैलाली–४ बाट लेखराज भट्ट, रौटहट–३ बाट प्रभु साह, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी त एकल प्रस्तावित उम्मेदवार हुन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?