
बिहान उठ्ने बित्तिकै एकपटक त मोबाइल हेर्नैपर्ने बानी । आज पनि सदा झैं उठेर ओछ्यानमै मोबाइल हेरें । स्क्रिनमा देखियो सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप । १७ वर्षकी नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको कुरा समाचारमा उल्लेख थियो ।
समाचार पढिसकेपछि मनमा कतै डर पलाउन थाल्यो । हाम्रो समाज कतातिर जाँदैछ ? हामी कस्तो समाजमा छौं ? अनि किन यस्ता केसहरू बढिरहेका छन् ? जस्ता प्रश्नले मनलाई अस्थिर बनायो ।
पुरुषहरू किन परस्त्रीसँगको सम्बन्धमा रमाउँछन् भन्ने जिज्ञासाले मलाई सताइरह्यो र कम्प्युटरमा सर्च गरें । तर, मैले कुनै त्यस्तो वैज्ञानिक तथ्य भेट्न सकिनँ । अनि लाग्यो, यो त सबै मनोविज्ञान हो, हाम्रो सोचमा भरपर्ने कुरा हो ।
हाम्रो समाजमा विवाहित पुरुषहरू त झनै परस्त्रीसँग रमाउने गरेका उदाहरण धेरै देखे–सुनेकै थिएँ । तर, सेलिब्रेटीहरूको नै यस्ता समाचार देख्दा त झनै मन खल्लो भयो । परस्त्री मोहकै कारण धेरै पुरुषको करियर नै सकिएको उदाहरण पनि छन् ।
संसारकै धनाढ्यमध्येका र समाजसेवामा पनि नाम कमाइसकेका बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सले बिहे गरेको २७ वर्षपछि डिभोर्स गरे । कारण थियो, परस्त्रीसँगको सम्बन्ध । सेलिब्रेटीहरू भएकै कारण उनीहरूका समाचार बाहिर आउनु स्वाभाविक हो तर, यस्ता कैयन् उदाहरण छन् हाम्रो समाजमा जो मुश्किलले बाहिर आउँछन् ।
कतिपय महिलाले थाहा पाएर पनि आफ्नो श्रीमान्को इज्जतको लागि बाहिर ल्याउन सक्दैनन् । कतिपयले भने मनमै पीडा लुकाएर बसेका हुन्छन् । कतिपय मेरै साथीले पनि मसँग पीडा पोखेका छन् । त्यसो भन्दैगर्दा एउटा घटनाको याद आयो ।
एकदिनको कुरा हो, रेडियोमा बिहान ७ बजेको समाचारपछि एकजना साथीलाई भेट्न गएँ । खै किन उनले बिहानै भेट्न बोलाएकी थिइन् । अफिससँगैको घरमा उनी बस्थिन् । त्यही भएर पनि म थोरै फुर्सदको समयमा गइहालें ।
म उनको कोठामा पुग्दा उनको सानो बाबु भुईंमा खेलिरहेको थियो । उनको आँखामा भने पीडा छचल्किइरहेको महसुस गरें । के भएछ भन्ने मनमनै लाग्यो । उनी म पुग्ने बित्तिकै अँगालो हालेर रुन थालिन् । मेरो मनले केही सोच्नै सकेन । नरुनु भन्दै उनको मन सम्हाल्नतिर लागें ।
उनलाई सम्हाल्न निकै सकस पर्यो । विस्तारै उनले आफ्नो पीडा पोख्न थालिन् । उनको पीडा बोलीमा नभई आँसुमा बढी पोखिइरहेको थियो । केहीबेर रोइन् र भुईंमा सुताएको छोरो मेरो काखमा राखिदिइन् । अनि भन्न थालिन्, ‘मैले सहन सकिनँ, प्लिज अब म मर्छु, भरे सर घर आएपछि यो छोरो उहाँलाई जिम्मा लगाइदिनू ।’
उनको यो कुराले म अक्क न बक्क भएँ । उनको पीडा मैले केही बुझेको छैन । एक्कासी उनको त्यो भनाइले मलाई थप पीडा थपिदियो । ‘आवेगमा नआऊ’ भन्दै फेरि सम्झाएँ र सोधें, ‘के भएको हो ?’
विस्तारै उनले आफ्ना कुरा राख्न थालिन् । ‘राधा, उनले मलाई मन पराएर बिहे गरेका हुन् । हाम्रो लभ म्यारिज हो । तिमीलाई पनि थाहै छ तर, आज आएर उहाँले मलाई धोका दिनुभयो । उहाँको अर्कै केटीसँग लभ रहेछ । उनीहरू भेट्नेदेखि बिहे गर्नेसम्मका कुराकानी गर्दा रहेछन्, मैले यो सबै कुरा उहाँको मोबाइलमा भेटें तर, कसैलाई भनेकी छैन ।’
फेरि उनले थपिन्, ‘केटीले चाहिं बिहे गर्न दबाव दिने रै’छ, सरले हुन्छ भइहाल्छ, मात्रै भन्नुभएको छ तर, कहिले कसरी भन्ने खुलाउनुभएको छैन । मैले यो पीडा सहनै सकिनँ । त्यसैले तिमीलाई बोलाएकी ।’
उनका कुरा सुनेर लाग्यो, साँच्चिकै किन पुरुषहरू परस्त्रीसँग नजिक हुन्छन् ? आफ्ना श्रीमतीलाई माया नगरी परस्त्रीको मायामा किन फस्छन् ? यसको कारण के होला भन्ने प्रश्न रहिरह्यो ।
त्यसपछि साथीलाई आफू सम्हालिन र श्रीमान्लाई एकपटक राम्ररी सम्झाउन सुझाएँ । त्यो बाहेक समाधानको लागि मसँग अरू केही उपाय पनि त थिएन । त्यसपछि म अफिस फर्किएँ । मेरा आँखाले उनको पीडा मात्रै देखिरह्यो । अब के हुने होला उनीहरूको सम्बन्ध भन्ने मात्रै चिन्ता लागिरह्यो ।
केही समयपछि उनीहरू त्यो ठाउँ नै छाडेर अन्तै गए । अहिले सबै ठिकठाकै भएको कुरा साथीले सुनाउँछिन् । सायद ती परस्त्रीसँग सल्केका पुरुषको घैंटोमा घाम लाग्यो होला ।
यी उदाहरण मात्रै हुन् । परस्त्रीसँगको अवैध सम्बन्धका कारण कतिपय मान्छेको पारिवारिक बेमेल भएको कैयन् घटना छन् । यौन असन्तुष्टिका कारण आफ्नो श्रीमान् परस्त्रीसँग लागेर आफूलाई पीडा दिएको भन्दै एक जना दिदी मसँग रुनु पनि भएको थियो ।
किन छोरा मान्छेहरू केटी मान्छेको भावनामाथि खेल्छन् ? यो प्रश्नले मनलाई सधैं क्रूद्ध बनाइरहन्छ । तर, यसको चित्तबुझ्दो उत्तर पाएकी छैन । विवाह गरिसकेपछि श्रीमतीलाई माया दिनु उनीहरूको कर्तव्य हो । अनि, आफ्नो श्रीमती हुँदाहुँदै किन परस्त्रीसँग सम्बन्ध गाँस्न पुग्छन् होला ? बरु अरू केटीलाई दिने समय आफ्नो श्रीमतीलाई दिए त्यो श्रीमती कति भाग्यमानी हुने थिइन् होला ।
अनि, परिवार र सम्बन्धमा पनि त दरार आउने थिएन नि ! साँच्चै सबै पुरुषले आफ्ना श्रीमतीलाई मात्रै माया दिने भए अदालतमा डिभोर्सका केस पनि त बढ्ने थिएनन् होला ।
अझ अविवाहिताको हकमा त झनै ठूलो जालो छ हाम्रो समाजमा ।
सानै उमेरमा गर्लफ्रेन्ड–ब्वाईफ्रेन्ड बनाउने, त्यो पनि एक जनासँग मात्र नभएर धेरै जनासँग । जसले गर्दा सानै उमेरमा विवाह हुने र पछि गएर सम्बन्धमा दरार उत्पन्न भई भविष्य नै अन्धकारमा पुग्ने गरेको छ ।
अविवाहिता केटीहरू विवाहित पुरुषसँग अझै बढी आकर्षित भएको देखिन्छ । जसको असर पारिवारिक सम्बन्धमा देखिन्छ र डिभोर्ससम्मको अवस्थामा पुग्छ । शक्ति, पैसा र पदका लागि कतिपय नारीहरूले अरूको घर भताभुंग पारेका उदाहरण छरपस्ट छन् ।
परस्त्रीसँगको सम्बन्धले जीवनमा धेरै समस्या उत्पन्न हुने तथ्य सबैलाई थाहा भए पनि यो विकृतिले हाम्रो समाजमा जरो नै गाडेर बसेको छ । श्रीमान्–श्रीमतीमा सम्बन्ध बिग्रिने धेरै कारण हुन्छन्, हुनसक्लान् पनि । तर, मलाई लाग्छ; पहिलो कारण भनेको परस्त्रीसँगको अवैध सम्बन्ध नै हो ।
त्यसैले, समाजमा अविवाहित केटा होस् या केटी अनि विवाहित केटा होस् या केटी परपुरुष र परस्त्रीसँगको सम्बन्धमा नलाग्ने हो भने समाजका घरेलु हिंसा, बलात्कार जस्ता सामाजिक विकृतिमा निकै कमि आउने थियो भन्ने लाग्छ । यसबारे आ–आफ्नो ठाउँमा तपाईंहरू सबै जिम्मेवार बन्नुहोस् ।
प्रतिक्रिया 4