
४ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंकसँग आग्रह गरेको छ । राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सको आरोप छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने क्रममा चालु पूँजी कर्जासम्बन्धी व्यवस्थाले व्यवसायिक क्षेत्रमा परेको असरबारे बृहत छलफल भएको थियो ।
बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरु सबै भन्दा बढी मारमा परेको नेपाल चेम्बर र समुद्रपार निकासी पैठारी संघका पदाधिकारीले गुनासो गरे ।
राष्ट्रबैंकले चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन आगामी १ कात्तिकदेखि लागू गर्ने तयारी गरिरहेका बेला व्यवासयीले ब्यापार सहजीकरण तथा लगानीमैत्री वातावरणमा मार्गदर्शनले गम्भीर असर गर्ने व्यवसायीको भनाइ छ ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने, ‘एक करोड रुपैयाँ सम्मको चालु पूँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सीमा कायम गरिनु पर्दछ ।’
चालु पूँजी मार्गदर्शनसम्बन्धी व्यवस्थाले उधारोमा बिक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने अध्यक्ष मल्लको भनाइ छ । राष्ट्रबैंकको अस्थिर नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरु सवैभन्दा बढी मर्कामा परेको समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बताए । ‘यसअघि निश्चित ब्याजदरमा कर्जा लिएका ऋणीहरु राष्ट्रबैंकको नीतिका कारण थप समस्यामा परेका छन् । आधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीमा परेको छ’ उनले भने ।
बेस रेट प्रिमियमा यसअघिको व्यवस्था अधिकतम १ दशमलव ५ प्रतिशत विपरीत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशतसम्मको सीमाले व्यवसायिक गतिविधि प्रभावित हुने र मुल्य वृद्धि झन् बढ्ने चेम्बर अध्यक्ष मल्लले बताए ।
प्रतिक्रिया 4