+
+

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ असोज ४ गते २१:१४

४ असोज, काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका प्रकोप घोषणा गरिन्छ ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई प्रकोपकै रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गर्न प्रस्ताव गरेको इडीसीडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

केही दिनभित्रै सरकारले डेंगुलाई प्रकोपको रूपमा घोषणा गर्नसक्ने इडीसीडीका अधिकारीहरुको भनाइ छ ।

मन्त्रालय के गरिरहेछ ?

एक अधिकारीका अनुसार मन्त्रालयमा प्रकोप घोषणाको विषयमा विज्ञहरूसँग छलफल चलिरहेको छ ।

‘अस्पतालहरुमा डेंगुका बिरामी भरिएका छन् । स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । संक्रमित सँगै मृत्युको संख्या बढिरहेको छ,’ ती उच्च कर्मचारीले अनलाइनखबरसँग भने, ‘सबै जिल्लामा डेंगु फैलिसकेको छ । अब प्रकोप नै घोषणा गरेर नियन्त्रणका लागि नै राज्यको सबै संयन्त्र एक जुट हुन आवश्यक छ ।’

‘अहिले यस्तो बेलामा पनि नलगाइएको प्रकोप घोषणा गरिएन भने अवस्था झन् खराब हुँदै जाने देखिन्छ । संक्रमित संख्या र मृत्युलाई हेर्दा अन्य कुरालाई यथावत राखेर डेंगु नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ,’ ती अधिकारी थप्छन् ।

उनका अनुसार केही दिनभित्रै मन्त्रालयले प्रकोप घोषणा गर्ने छ ।

डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बताए । चिकित्सक संघले मंगलबार गरेको कार्यक्रममा उनले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको धारणा राखे ।

‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । ‘कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो’ उनले भने, ‘कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएको देखिएन ।’

नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सन् २०१० र २०१७ मा पनि धेरै संख्यामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१९ मा धरानबाट सुरु भएको डेंगुले प्रकोप नै ल्याएको थियो । त्यस वर्ष १८ हजारभन्दा बढी डेंगुबाट संक्रमित तथा ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

यस वर्ष भने गत दुई महिनामा मात्रै १७ हजार संक्रमित संख्या र २१ जनाको मृत्यु भइसकेको महाशाखाको तथ्यांक छ । विज्ञहरुका अनुसार डेंगुले दुई–तीन बर्षको अन्तरालमा प्रकोपको रुप लिने गरेको छ । जसअनुसार पनि संक्रमित र मृत्युको संख्या निकौ उकालो लाग्ने उनीहरुको अनुमान छ ।

नेपालमा डेंगुको संक्रमण उच्च गतिमा बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न बेड भरिँदै गएकाले इडीसीडीले प्रकोप नै घोषणा गर्न लागेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पनि तत्काल नै डेंगु नियन्त्रणका लागि सरकारले योजना बनाएर अगाडl बढ्नुपर्ने बताए । सरकारी संयन्त्रले मात्र नपुग्ने भएकाले देशमा भएका अन्य सयन्त्रको उपयोग गर्नको लागि प्रकोप घोषणा गर्नुपर्ने डा. कार्कीको भनाइ छ ।

‘जनस्वास्थ्यमा गम्भीर समस्या देखिएमा प्रकोपको घोषणा गर्न सकिन्छ । डेंगुलाई नियन्त्रण गर्न सकियोस भनेर प्रकोप घोषणा गर्न लागेका हौं’, दाहालले भने, ‘प्रकोप घोषणा गर्न सकेमा हाल भएका निजी तथा अन्य संयन्त्र सरकारले उपयोग गर्न सकेमा नियन्त्रण चाँडै हुन्छ ।’

प्रकोप भएमा धेरैजसो सिस्टम स्वास्थ्य मन्त्रालयले नै चलाउने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । जिल्ला तथा स्थानीय तहमा क–कसलाई लागि अधिकार प्रत्यायोजन गर्ने तथा स्रोत–साधन पनि बाँडफाँट मन्त्रालय नै गर्नेछ । प्रकोपको विषयमा सरकारबाट कस्तो आदेश जारी हुन्छ त्यसमा भर पर्ने ती कर्मचारी बताउँछन् ।

‘राज्यको सम्पुर्ण ध्यान केन्द्रित भएर नै लाग्नुपर्छ । सरकारले प्रकोप घोषणा गर्दा के—के प्रयोग गर्ने भन्ने आदेशमा उल्लेख गर्न सक्छ,’ अधिकारीले भने, ‘निर्णयमा जुन सर्त राखिएको हुन्छ । त्यही अनुसार नै काम होला ।’

विज्ञहरू भन्छन् : राज्य संयन्त्रको ‘अर्जुनदृष्टि’ जस्तो भएर काम गर्नुपर्छ

डेंगुको प्रकोप नियन्त्रण बाहिर गएकाले ‘राष्ट्रिय स्वास्थ्य आपतकाल’ वा प्रकोप नै घोषणा गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । ‘डेंगुको प्रकोप नियन्त्रण बाहिर गइसकेको छ । सरकारले अब राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गनुपर्छ,’ डा. मरासिनी भन्छन् ।

सरकारले डेंगुलाई प्रकोप नै घोषणा गरेपछि भने यसको उपचारमा निजी र सरकारी दुबै स्वास्थ्य संस्था संलग्न हुनुपर्छ । सरकारले आवश्यक प‌र्‍यो भने निजी स्वास्थ्य संस्था पनि चलाउन पाउने विज्ञहरु बताउँछन् । सरकारले डेंगु बिरामीको उपचार र परीक्षण समेत निःशुल्क गर्न सक्छ ।

टेकु अस्पतालका डा. शेरबहादुर पुनका अनुसार यो समय भनेको डेंगु नियन्त्रणलाई पहिलो प्राथमिकता र अरु समस्यालाई गौण राख्ने बेला हो ।

‘यो पनि एक प्रकारको युद्ध नै हो । राज्यले डेंगु नियन्त्रणको लडाईंमा मात्रै ध्यान केन्द्रित गर्‍यो भने धेरै मानिसको ज्यान जोगाउन सकिन्छ,’ डा. पुन भन्छन्, ‘तर यस्तै हो भनेर बेवास्ता गरियो भने त झन् ठूलो क्षति हुनसक्छ ।’

यस्तो समयमा सारा राज्य संयन्त्रको ‘अर्जुनदृष्टि’ जस्तो भएर डेंगु नियन्त्रणमा केन्द्रित हुनुपर्ने डा. पुनको भनाइ छ ।

सरकारले सार्वजनिक गरेको संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिसमा डेंगु देखिइसकेकाले प्रकोपको रुपमा घोषणा गर्नुपर्नु डा. मरासिनीको जोड छ । ‘अझै एक महिना यसले ठूलो प्रकोपकै रूप लिन्छ । अस्पतालमा बेड अभाव भइरहेको छ । मृत्युदर बढिरहेको छ । डेंगुले प्रकोपको रूप लिइसकेकाले अब सरकारले उपचारको जिम्मेवारी लिनुपर्छ’, डा. मरासिनी थप्छन् ।

स्वास्थ्य मन्त्रालयले आफूले मात्रै नियन्त्रण गर्न सक्छु भनेर बसेका कारण प्रकोपको अवस्था आइपरेको डा. मरासिनीको भनाइ छ । ‘डेंगु मौसमी समस्या हो । जाडो महिना लागेपछि आफैं हराएर जान्छ भनेर प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा उच्च तहमा रहेका कर्मचारी कानमा तेल हालेर बसेका छन्,’ डा. मरासिनी भन्छन्, ‘स्वास्थ्य आपतकाल  घोषणा गरेर डेंगु नियन्त्रण तथा संक्रमितको उपचारलगायत व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

सरकारी संयन्त्रले मात्र नपुग्ने भएकाले देशमा भएका अन्य संयन्त्रको उपयोग गर्नको लागि स्वास्थ्य आपत्काल घोषणा गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि अहिले फैलिरहेको डेंगुले कोरोनाको दोस्रो लहर (डेल्टा) जस्तो संकेत गरेको बताउँछन् । ‘डेंगुको बढ्दो संक्रमण र मृत्युले जोखिम बढ्ने संकेत छ । आगामी दिन झन् चुनौतीपूर्ण बन्दै जानेछ । पछिल्ला मृत्युले अवस्था खराब रहेको चिन्ता थपिएको छ,’ डा. पुन  भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?