+
+

ओस्कार दौडबाट बाहिरिएको ‘आरआरआर’को रणनीति : ‘प्यारासाइट’ शैली पछ्याउँदै मुख्य विधामा भाग लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते ११:१७

काठमाडौं । बक्स अफिस हिट फिल्म ‘आरआरआर’ ओस्कार अवार्डको दौडबाट बाहिरिएपछि भारतीय फिल्मवृत्तमा तरंग सिर्जना भएको छ । कसैले अपेक्षा नगरेको गुजराती फिल्म ‘छेल्लो शो’ सिफारिस भएपछि ‘आरआरआर’को उपस्थिति कसरी गराउने भन्नेमा निर्माता र वितरक जुटेका छन् ।

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीका अनुसार ओस्कार विजयी फिल्म ‘प्यारासाइट’को नजीरलाई पछ्याउँदै ‘आरआरआर’को अमेरिकी वितरक कम्पनीले ‘बेस्ट फिल्म’ विधामै यसलाई सहभागी गराउन कसरत थालेको छ ।

एसएस राजामौलीको उक्त विश्वचर्चित फिल्मलाई ओस्कारका अन्य विधामा समेत सहभागिता गराउने प्रयास सुरु भएको छ । भेराइटीका अनुसार उत्कृष्ट फिल्म, मौलिक पटकथा, अभिनेता, सहायक अभिनेता, सहायक अभिनेत्री, मौलिक गीत, ब्याकग्राउन्डस्कोर, छायांकन, प्रोडक्सन डिजाइन, फिल्म सम्पादन, कस्ट्युम डिजाइन, मेकअप एण्ड हेयरस्टाइल, ध्वनि र भिजुअल इफेक्ट विधामा फिल्मलाई प्रतिस्पर्धा गराउने तयारी भएको छ ।

अमेरिकी वितरक भेरियन्स फिल्म्सका डिलन मार्चेट्टीले फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधा बाहेकका विधामा सहभागी गराउने भेराइटीलाई बताएका छन् । कोरोना महामारीअघि ओस्कार समितिले गैर अंग्रेजीभाषी फिल्मलाई पनि मुख्य विधामा प्रतिस्पर्धाको मौका दिने नियम ल्याएको थियो । सोही नियममा टेक्दै दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको ट्रफी जितेको थियो ।

प्यारासाइट शैलीलाई पछ्याउँदै आरआरआरलाई पनि अमेरिकी वितरकले ओस्कारका मुख्य विधामा सहभागी गराउन लागेका हुन् । आरआरआरले पहिलो दिन विश्वव्यापी ३० मिलियन अमेरिकी डलर कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?