+
+
बाल्यकालको दशैं :

कापी च्यातेर बनाइएको चंगा र दक्षिणाको पैसाले गुच्चा खेल्दा

नाजिर हुसेन, अभिनेता नाजिर हुसेन, अभिनेता
२०७९ असोज ५ गते १५:०५

दशैंले मलाई सधैं मेरो बाल्यकालमा फर्काउँछ । मंगल धुन बज्न थालेसँगै मेरो स्मृतिले मलाई बारा जिल्लाको स्याउली चोक पु¥याउँछ । त्यो सानो बस्ती, स–साना दोकान । लहलह झुलिरहेका धान । बेपर्वाह खेलिरहेका बालसखाहरु । त्यो गुच्चा, त्यो लंगुरबुर्जा, त्यो पिङ । सुकिलो मौसम । अनि शरद् ऋतुमा बहने हावाको शीतल स्पर्श ।

दशैंको बेला गाउँघरको चमक त्यसै बढ्ने रहेछ । टाढाटाढा पुगेकाहरु गाउँ फर्कने । गाउँमा सबै जना आफन्त, इष्टमित्र भेट हुने । मान्छेहरुको जमघट बढेपछि केटाकेटीलाई यसै रमाइलो । त्यसमाथि विद्यालयको लामो बिदा पनि ।

दशैं आउनुअघि नै हामी दिनगन्ती सुरु गरिसकेका हुन्थ्यौं ।

दशैंको कञ्चन सफा मौसममा चंगा उडाउने खुब रहर हुन्थ्यो । तर तयारी चंगा किन्ने पैसा हुँदैनथ्यो । घरमै बनाउन नसकिने । अनि कापी पाना च्यातेर भातको सिताले टाँसेर चंगा बनाइन्थ्यो । धागो पनि जोडजाड गरिन्थ्यो । लट्टाई पनि बाँस काटेर आफैं बनाउँथ्यौं । चप्पललाई गोलाकार काटेर त्यसमा प्वाल पारिन्थ्यो । प्वालमा स–साना बाँसका सुइरो छिराइन्थ्यो । त्यसमा डोरी बेरिन्थ्यो । यसरी हाम्रो घरेलु चंगा तयार हुन्थ्यो ।

चंगा उडाउन हामी हावा बहकिने ठाउँतर्फ दौडन्थ्यौं । तर यस्तो चंगा राम्ररी उडे पो ! लट्टाई समातेर दौडिंदा दौडदै चंगा धुजाधुजा भइसक्थ्यो । अनि बाँकी रहन्थ्यो, बाँसका सिटा मात्र ।

मुस्लिम समुदाय भएकाले मेरो घरमा दशैं मनाइँदैनथ्यो । तर आमा हिन्दू भएकाले मामाघरमा धुमधाम दशैं मनाउने गरिन्थ्यो । दशैं मनाउनका लागि हामी मामाघर नै पुग्थ्यौं ।

दशैं नमनाए पनि त्यसबेला हाम्रा लागि नयाँ लुगा किनिन्थ्यो । त्यो लुगाको बास्नाले मनमा उमंग पैदा हुन्थ्यो । नयाँ लुगा लगाएर मामाघर पुग्दाको फूर्ति नै बेग्लै हुने । मेरो घरबाट मामाघर नजिकैको दूरीमा । अन्यत्र छोरालाई दक्षिणा कम दिइन्थ्यो । तर मामाघरमा नाति–भान्जालाई पैसा राम्रै दिइन्थ्यो । राम्रै भनौं, त्यसबेलाको १०–१५ रुपैयाँ पनि ।

अरुबेला हामीसँग आफ्नै पैसा नहुने । टिको थापेर यत्तिका पैसा भएपछि हाम्रो छाती गर्वले चौडा भए झंै हुन्थ्यो । खल्तीमा पैसा बोकेर हामी लंगुर बुर्जा, गुच्चा खेल्न दौडिन्थ्यौं । कहिले पैसा हारिन्थ्यो, कहिले जितिन्थ्यो । जित र हारको यो खेलमा हामी यति धेरै मग्न हुन्थ्यौं कि दिन बितेको पत्तो हुँदैनथ्यो । पैसा हार्दै गएपछि मन अमिलो हुने, पैसा जित्दै गएपछि मन हराभरा हुने । पैसा हारे पनि खेल छाड्न नसक्ने, जिते पनि खेल छाड्न मन नलाग्ने ।

त्यसपछि हामी गाउँघरको रमझम हेर्नतर्फ लाग्थ्यौं । साथीभाइसँग रमाइलो गर्ने, घुम्ने, खेल्ने गरिन्थ्यो । सबैको घरमा मिठोमसिनो पाकेको हुन्थ्यो । हामी सोच्थ्यौं, दशैं सधैंभरि आइदिए हुन्थ्यो ।

अहिले दशैं आएसँगै मलाई आमाको सम्झना आउँछ । आमा बितेको १० वर्ष बितिसक्यो । अरुबेला भन्दा पनि चाडपर्वको बेला आमाको बढी याद आउने रहेछ ।

(नाजिरसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?