
५ असोज, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले २०२२ को विश्वकपपछि पनि देशका लागि खेलिरहने चाहना रहेको बताएका छन् ।
उनले कतारमा यसै वर्ष हुने विश्वकपपछि आफ्नो लक्ष्य २०२४ को युरोकप पनि खेल्ने रहेको बताएका हुन् ।
‘यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु । म उत्प्रेरित महसुस गर्छु, मेरो महत्वाकांक्षा उच्च छ । म धेरै युवा खेलाडीहरूसँग छनोटमा छु र म यो विश्वकप र २०२४ को युरोपेली प्रतियोगिताको पनि हिस्सा बन्न चाहन्छु,’ म्यानचेस्टर युनाइटेड स्टारले पोर्चुगल फुटबल महासंघले मंगलबार आयोजना गरेको क्विनास डेमा अवार्डपछि भने ।
३७ वर्षीय लेजेण्ड फरवार्डका लागि कतारमा नोभेम्बर-डिसेम्बरमा हुने विश्वकप नै अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने चर्चा चलिरहेका बेला उनको यो भनाइ आएको हो ।
कतार विश्वकप रोनाल्डोको लागि दशौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
पोर्चुगलका लागि १८९ खेल खेलेको रोनाल्डोले ११७ गोल गरेका छन् । उनको नाममा अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रका लागि धेरै गोल गर्ने कीर्तिमान समेत छ । यूईएफए नेशन्स लिग अन्तर्गत चेक रिपब्लिक र स्पेन विरुद्धको खेलमा रोनाल्डोले गोल संख्या अझै थप्ने सम्भावना छ ।
रोनाल्डोको नजर देशका लागि धेरै खेल खेल्नेमा पनि छ । अहिलेसम्म फिफाले मान्यता दिएको खेल अनुसार कुवेतमा बाडेर अल मोटवाले सर्वाधिक १९६ खेल खेलेका छन् ।
इन्टरनेशनल फेडेरेसन अफ फुटबल हिस्ट्री एण्ड स्ट्याटिस्टिक (आईएफएफएचएस) का अनुसार भने मलेसियाका सोह चिन अनले २१९ खेल खेलेका छन् । फिफाका अनुसार उनले १९५ मात्र आधिकारिक खेल खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4