+
+

दक्षिण एसियाली महिला बास्केटबल : भारतले नाम फिर्ता लिँदा नेपाललाई सहज

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज ६ गते १६:४४

६ असोज, काठमाडौं । सेप्टेम्बर २५ देखि २९ सम्म माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपबाट भारतले नाम फिर्ता लिएको छ ।

भारतले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि अब च्याम्पियनसिपमा जम्मा चार टिमले मात्र प्रतिस्पर्धा गर्ने छन् ।

सुरुमा दक्षिण एसियाका पाकिस्तान बाहेक ६ टिमले प्रतिस्पर्धा गर्ने तय थियो । तर अहिले बंगलादेश र भारत सहभागी हुने छैनन् । नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलंका र भुटान गरी चार टिमले मात्र साबामा प्रतिस्पर्धा गर्नेछन् ।

‘भारतले अन्तिम ‍सयमयमा आएर नाम फिर्ता लियो । त्यसको कारण थाहा भएन । बंगलादेशले पनि पहिल्यै नखेल्ने भनेको रहेछ । अब चार टिमले प्रतिस्पर्धा गर्नेछन्’, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले अनलाइनखबरसँग भने ।

यसअघि सेप्टेम्बर २४ देखि ३० सम्म आयोजना हुने भनिएको च्याम्पियनसिप अब जम्मा ५ दिन मात्र हुने भएको छ । चार टिमबीच राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ र धेरै अंक जोड्ने टिम नै च्याम्पियन हुने थापाले बताए ।

नेपालको पहिलो खेल माल्दिभ्ससँग

माल्दिभ्स बास्केटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आइतबार पहिलो खेल घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

मंगलबार श्रीलंकासँग दोस्रो तथा बुधबार भुटानसँग चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्दैछ ।

नेपालले झण्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय बास्केटबल खेल्न लागेको हो र यसका लागि नेपाली टोलीले तीन महिनादेखि प्रशिक्षण गरिरहेको छ ।

भारत सहभागी भए पनि नेपालले यस पटक स्वर्ण जित्ने लक्ष्यसहित नै प्रशिक्षण सुरु गरेको थियो । तर अब भारत र बंगलादेशसहित दुई टिम नै नहुँदा नेपाललाई केही सहज हुने अपेक्षा छ ।

बास्केटबल संघका महासचिव थापा भन्छन्, ‘हामीले लामो समय तयारी गरेका छौँ र हाम्रो लक्ष्य स्वर्ण नै हो । यसअघि पनि हामीले उनीहरुलाई हराइसकेका छौँ ।’

नेपालले २०१९ डिसेम्बरमा काठमाडौंमा भएको १३औं सागमा महिला बास्केटबलमा ऐतिहासिक रजत जितेको थियो ।

नेपाली टोलीमा २ नयाँ अनुहार

सदिना श्रेष्ठको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोलीमा यस पटक दुई नयाँ खेलाडी समावेश छन् भने दुई जना खेलाडी थ्री बाई थ्रीबाट फुल कोर्ट टिममा समावेश भएका छन् ।

नेपाली टोलीमा श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

सन् २०१९ मा १३औं दक्षिण एसिया खेलकुदमा रजत जित्दाका ८ खेलाडी अहिले टिममा छन् ।

यस्तै १३औं सागमा थ्री बाई थ्री टिममा रहेका गरिशा सिलवाल र मिना गुरुङ पहिलो पटक फुल कोर्ट खेलका लागि टिममा परेका हुन् भने अमिशा घले र विनामणी योन्जन पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।

नेपाली टिमको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?