 
																			मुम्बईको सबैभन्दा ‘पस’ क्षेत्र प्रभादेवी मार्ग जहाँ लेम्बरगिनी, मर्सिडिज बेन्च जस्ता विश्वका सबैभन्दा महङ्गा गाडी र विश्वविख्यात कम्पनीका क्षेत्रीय कार्यालयहरू छन्। म गणेश ढकाल दाइसँग कामविशेषले गएको थिएँ। गगनचुम्बी इमारतहरू, चौडा खुला सडकबाट सहायक सडक पस्ने बित्तिकै ठूला फुटपाथमाथि प्लास्टिक र त्रिपालले बनेका टहरै टहरा भेटिए।
व्यक्तिका नाममा कानुनप्रदत्त जमिनलाई स्थानीय निकायले मापदण्ड लगाउने बित्तिकै अतिक्रमणकारीको बिल्ला लगाउने समाजबाट गएको म फुटपाथ माथि बनेका सयौँ टहरा देखेर चित् खाएँ।
गणेश दाइलाई प्रश्न तेर्स्याइहालेँ, ‘हैन, मुम्बई जस्तो शहरले यस्तो महत्वपूर्ण स्थानमा यसरी अतिक्रमण गर्न कसरी दियो ? यहाँको म्युनिसिपल (स्थानीय पालिका)ले केही हेर्दैन ?’
जवाफको सट्टा गणेश दाइले मप्रति करूणाको भावमा पुलुक्क हेर्नुभयो।
केही क्षणपछि भन्नुभयो, ‘यी मानिसले मुम्बई छोडेको दिनमा मुम्बई हल्ट हुन्छ। यस शहरको केन्द्रमा बसोबास गर्ने तीन करोड मानिसमा २० लाख मालिक होलान्। बाँकी सबै उनैका लागि काम गर्ने कर्मचारी हुन्। यिनलाई यहाँबाट हटाउने हो भने भोलिदेखि मुम्बईका एम्बुलेन्स, सिटी बस, नाला सफाइ, फोहोर उठाइ, फल र तरकारी सप्लाइ, दरबानी, ट्याक्सी सेवा लगायतका समग्र मुम्बईको सेवाहरू ठप्प हुन्छन्। यिनैका कारणले मुम्बई आर्थिक र शहरीकरणका सूचकाङ्कका दृष्टिले संसारका प्रमुख १५ शहरभित्र पर्छ।’
गणेश दाइका कुराले म अवाक् भएँ।
‘संसारका इतिहास बोकेका लण्डन, टोकियो, आम्सटर्डम, पेरिस, स्तानबुल, रोमजस्ता शहरले शहरीकरणका नाममा आफ्ना ऐतिहासिक पहिचान भत्काएका छैनन्। बरू आधुनिक शहरीकरण बसोबास नभएका क्षेत्रमा विकास गरेका छन्।’
गणेश दाइले यी कुरा भनिरहँदा मैले महाबौद्धका व्यापारी र समान ल्याउने लैजाने रिक्सावाला, ठेलावाला, पिठ्युवालाको रोजगारी सम्झिएको थिएँ। त्यहाँबाट देशभरि पुग्ने कपडा र इलेक्ट्रोनिक सामानको लाइफ लाइन सम्झिएको थिएँ।
हङकङ, टोकियो, न्यूयोर्क जस्ता शहरहरू मानिसलाई गैरकानुनी राखेर कानुनले तोकेभन्दा न्यूनतम मानवीय व्यवहार प्रस्तुत गर्छन् भने आफ्ना नागरिकका लागि राष्ट्रिय अर्थतन्त्र सुरक्षित राख्छन्।
करिब ३५ वर्षअघि कास्कीको उत्तरी गाउँ हाडीखोलाबाट १२-१३ वर्षको उमेरमा स्कुल छोडेर गणेश दाइ गाउँकै दाइहरूको पछि लागेर मुम्बई पुगेका हुन्। नाबालक गणेशलाई अरू धेरैको जस्तो हन्डर खुवाएन मुम्बई शहरले।
भाग्यले उनलाई एक अविवाहित फारसीकोमा पुर्यायो। समयसँगै वयस्क भएका गणेश परिवारसँगै उनै एकल वृद्ध फारसीको होटल ताजसँगैको आलिसान बङ्लोको चौथो तलाको रेष्ट चेयरमा बसेर अनन्त समुद्रको नजारा हेरेर दिन बिताउन थाले।
गोदरेजका मालिक फारसी लामो समयदेखि अल्जाइमरका बिरामी छन्। गणेश दाइ उनका पर्सनल सेक्रेटरी हुन्। गणेश उनकी श्रीमती र हुर्किएका छोरा-छोरी नदेख्दा मालिक आतिन्छन् र निराश भएर विना हलचल लडिरहन्छन्।
परिवार फर्केपछि उनको अनुहारमा चमक फर्कन्छ, उसो त गणेश मालिकलाई छाडेर विरलै निस्कन्छन्। मालिकलाई खाना पकाउने, सेवा गर्ने, विभिन्न गाडी चलाउने सुरक्षा गर्ने प्रशस्तै कर्मचारी छन्।
छोरी सेन्ट जेभियर्सको अध्ययन सिध्याएर दिल्लीको विख्यात विश्वविद्यालयमा फरेन्सिक साइन्स पढ्दैछिन्। छोरा मुम्बईकै सेन्ट जेभियर्समा उच्च शिक्षा अध्ययन पूरा गर्दैछन्।
जीवनको सबै खालका अनुभव बटुलेका गणेश दाइ मुम्बईका दुई महङ्गा फ्ल्याटका मालिक हुन् भने परिवारका लागि उनले एउटा प्राइभेट कार राखेका छन्।
बिरामी मालिकको सेवा र सन्तानले उच्च शिक्षा हासिल गरेपछि नेपाल फर्किएर बस्नको लागि कास्कीको लेखनाथमा राम्रो घर बनाएका छन्। मुम्बई जाने नेपालीका लागि गणेश जन-सम्पर्क समितिका तर्फबाट सबैभन्दा सक्रिय सहयोगी हुन्।
बालेनले टुकुचा खन्यो भनेर सामाजिक सञ्जाल वाह् वाह् गर्दा म भने १५० वर्ष अगाडिको आर्क अन्डर ग्राउण्ड बृज इन्जिनियरिङ अध्ययनको विषय बनाइनुपर्छ, संरक्षण गरिनुपर्छ भन्छु। मेरा यस्ता कुराले मेरा इष्टमित्र मलाई बालेन विरोधी भन्छन् र मसँग झर्कन्छन्।
म बालेनलाई ठिक–बेठिक भन्दिनँ। उनका कामलाई मेरो विवेकले ठिक–बेठिक भन्छु। चुनावसम्म म उनको समर्थक हुँ भने अन्य पार्टीको आलोचक। बालेनको वर्तमानको समभाव द्रष्टा। बालेनसँग अरू पार्टीसँग जस्तै केही लिनु छैन मलाई।
नगरवासीका घर भत्काउँदा सामान्य न्यायको ढोका बन्द गरिदिने बालेन सोच मलाई नशाको उत्तेजना जस्तो लाग्छ। सार्वजनिक जमिनको पुन: प्राप्तिको भने मसीहा। हेर्दै जाउँ यो मानसपटलभित्र भविष्यमा कस्ता-कस्ता रासायनिक परिवर्तन आउने हुन्।
म अहिले नै बालेनको गीत अलाप्ने मानसिक अवस्थामा छैन। पूर्वका साम्पाङको हालसम्मको काम भने म मुक्तकण्ठले प्रशंसा गर्छु। नगरको सबै पैसा वडाअध्यक्षहरूलाई बुझाएर उनी भने आफ्नो चुनावी एकल एजेन्डा अनुसार जनताको साथमा जनताकै चन्दाले पानीका थुप्रै स्रोतहरू उपत्यकामा झारी सके।
धरानका जनतालाई पानी खुवाउने उनको सपना पूरा भयो भने हर्कले राजीनामा दिए भने पनि अचम्म नमान्नु।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4