+
+

कांग्रेसको घोषणा पत्र लेख्न जुटेका विभिन्न क्षेत्रका विज्ञ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १७:३२

६ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र बनाउन नेपाली कांग्रेसले फरक फरक क्षेत्रका विज्ञ तथा जानकार व्यक्तिलाई समेटिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समितिमा अर्थ, समाजशास्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिका लगायतका विभिन्न क्षेत्रका जानकारलाई सहभागी गराइएको छ । बुधबार घोषणापत्रमा सदस्य सचिव सहित ४१ जना थपिएको थियो ।

पार्टीका ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्यसमेत रहेको घोणापत्र तयारी समितिका अधिकांश सदस्य सार्वजनिक वृत्तमा चिनिएकै व्यक्ति हुन् । केही व्यक्तिहरु भने खुला रुपमा परिचित नभइसकेकाहरु पनि छन् ।

१) भावी अर्थमन्त्रीका रुपमा हेरिएका वाग्लेः

अर्थविद् डा. स्वार्णिम वाग्लेलाई घोषणापत्रको प्रारम्भिक मस्यौदा उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्ले आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ कांग्रेसबाट उम्मेदवारका आकांक्षी छन् । चितवन, गोरखा वा काठमाडौं–५ मध्ये एक ठाउँमा उनले उम्मेदवार हुने इच्छा देखाएका छन् ।

२) ‘बिसे नगर्चीको बयान’का स्रष्टा श्रवण मुकारुङ :

०६२ / ६३ को जनआन्दोलनको समयमा मुकारुङले लेखेको एउटा कविताले सडक आन्दोलन तताउन योगदान गरेको थियो । घोषणापत्रमा सडकको भावना प्रतिनिधित्व गर्ने गरी मुकारुङलाई समेटिएको कांग्रेसको दाबी छ ।

३) क्रिकेटका पूर्वकप्तान विनोद दास :

‘नेपालको खेलकुद; पहिचान र उद्योग’ सन्दर्भमा नेपालको खेलकुद जगतका विषयलाई घोषणापत्रमा समावेश गराउन दासको भूमिका महत्वपूर्ण हुने संयोजक विश्वप्रकाश शर्माले जानकारी दिए ।

४) ओस्कारमा मनोनित फिल्मका निर्देशक मीन भामः

पिछडिएको कर्णाली प्रदेशको मुगु जिल्लाको विकट गाउँबाट फिल्मको क्षेत्रबाट अन्तर्राष्ट्रिय पहिचान बनाएाक व्यक्ति हुन् मीन भाम । भामको लेखन र निर्देशनमा बनेको ‘कालो पोथी’ फिल्म सन् २०१७ मा विश्व प्रसिद्ध पुरस्कार ओस्कारको मनोनयनमा परेको थियो । कला र मनोरञ्जनका विषयलाई घोषणा पत्र समितिमा समेट्नका लागि उनलाई समितिको सदस्य बनाइएको छ ।

५) थारु समुदायका तथ्याङ्क विज्ञ डा.सञ्जय महतो थारु :

चितवनमा खेती किसानी गर्दै अध्ययनलाई अघि बढाएका महतो युरोपमा अध्ययन गर्न पुगेका थिए । उनी चितवनको सौराहामा खेती किसानीमा संलग्न थारु समुदायका व्यक्ति हुन् । राजनीतिक समाजशास्त्रमा विद्यावारिधि गरेका थारु तथ्यांक विश्लेषणका विज्ञ समेत हुन् ।

युरोपको कोपनहेगन युनिभर्सिटीमा ग्लोबल डेभलपमेन्ट बिषयमा फिल्ड रिसर्च कोअर्डिनेटरको कामसमेत उनले गरिसकेका छन् । समितिमा समग्रमा तथ्यांकको तथा विषयगत रूपमा कृषि क्षेत्रको संयोजन थारुले गर्ने घोषणापत्र तयारी समितिले जानकारी गराएको छ ।

६) डायस्पोराको आवाज समेट्न दिपेश घिमिरे :

घिमिरे अमेरिकाको बसाइ छोडेर नेपाल फर्केका हुन् । समाजशास्त्री समेत रहेका घिमिरेका त्यस सम्बन्धी पुस्तकसमेत प्रकाशित छन् । घिमिरे हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागमा प्राध्यापन गर्छन् । विकास अर्थशास्त्रमा विद्यावारिधी गर्ने क्रममा रहेका घिमिरेले घोषणापत्रमा नेपाली डायस्पोराका विषयलाई संयोजन गर्नेछन् ।

७) मधेसी महिलाको उत्थानमा कार्यरत डा. प्रीति मण्डलः

मण्डलले मधेसी महिलाहरुको शिक्षा र जीवन विषयमा विद्यावारिधी गरेकी छन् । सिरहा घर भएकी मण्डलले मधेसी महिलाको समस्या र तिनको निराकरणको विषयलाई घोषणापत्रमा समावेश गर्नेछिन् ।

८) कर्णालीको प्रतिनिधि रंगमती शाहीः

कार्यकार्य सकिएको प्रतिनिधि सभामा शाही समानुपातिक सांसद थिइन् । कर्णालीको मुद्धालाई केन्द्रमा ल्याउन उनले संसदमा भूमिका खेल्दै आएकी थिइन् ।

संसदमा उनले पूर्व प्रधानमन्त्री केपी ओलीको काठमाडौमा धुलो छैन, मेरो विरोध गर्न विरोधीहरुले मास्क लगाएका हुन् भन्ने ओलीको अभिव्यक्तिको प्रतिवाद गरेकी थिइन् । उनले आफ्नो स्कुटीमा पछाडि बसेर काठमाडौको सडक घुम्न ओलीलाई दिएकी थिइन् ।

९) पहिलो पटकको मतदाताका प्रतिनिधि विकल राई :

राई एशोशिसन अफ युथ अर्गनाइजेसन (आयोन) को केन्द्रीय अध्यक्ष हुन् । पहिलोपटक मतदाता भएकाहरुको भावना प्रतिनिधित्व गर्ने गरि २२ वर्षीय राईलाई कांग्रेसले घोषणापत्र समितिमा स्थान दिएको छ ।

१०) सामाजिक रुपान्तरणको विषय उठाउने प्रकाश लामिछाने :

सामाजिक मुद्धाहरुमा अनुसन्धान गरी सञ्चार माध्यममा प्रस्तुत गर्दै आएका लामिछानेलाई कांग्रेसले घोषणापत्र समितिमा स्थान दिएको छ । सामाजिक विसंगतिको ‘रुट कज’ अध्ययन एवं अन्त्य गर्ने गरी घोषणापत्र बनाउन उनलाई समावेश गरिएको छ ।

११) अपांगताको मुद्धा समेट्न भोजराज श्रेष्ठ :

अपाङ्गता क्षेत्रको भौतिक र भावनात्मक प्रतिनिधित्व गराउन श्रेष्ठलाई घोषणापत्र बनाउने टीममा समावेश गरिएको कांग्रेसले जानकारी गराएको छ । केन्द्रीय सदस्यमा पराजित श्रेष्ठ ह्विल चेयरको सहायताले हिंडडुल गर्छन् ।

१२) स्वास्थ क्षेत्रको प्रतिनिधित्व गर्दै डा अञ्जनी झाः

डा. गोविन्द केसीका तर्फबाट विगतमा सरकारसँग वार्ता गर्ने टिममा झाले विगतमा भूमिका निर्वाह गरेकी थिइन् । उनी नेपाल मेडिकल काउन्सिलको पूर्व अध्यक्ष समेत हुन् ।

माइती नेपालकी प्रमुख तथा सिएनएन हिरोका रूपमा अनुराधा कोइराला घोषणापत्र तयारी समितिको सदस्य बनेकी छन् । साथै, इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरि दर्लामी मगर पनि समितिमा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?