+
+
ब्लग :

म किन फर्किएँ गेसोको नेतृत्वमा ?

पदमबहादुर गुरुङ पदमबहादुर गुरुङ
२०७९ असोज ७ गते १३:०४

विश्वको इतिहासमा पहिलोपटक मेरो नेतृत्वमा नेपाली नागरिकले ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयरकी श्रीमती चेरी ब्लेयरलाई गेसोको वकिलमा नियुक्ति गर्‍यौं । विश्वसाम्राज्ञी मानिएकी संयुक्त अधिराज्यकी महारानीलाई विपक्षी बनाई ब्रिटिश सेनाका गोर्खाहरूलाई शोषण गरेको अभियोगमा बेलायतको रोयल कोर्ट अफ जस्टिसमा मुद्दा दायर गरेर विश्वलाई नेपालको परिचय गराएको बारे यहाँहरूलाई विदितै छ । सो मुद्दा जितेर नेपालका शासकहरूबाट विना तलब ब्रिटिशलाई बेचिएका गोर्खाहरूलाई मुक्ति दिलायौं ।

गेसोले मुद्दा जितेको दिन (सन् ३० सेप्टेम्बर २००८) देखि मात्र गोर्खाहरूलाई ब्रिटिश सेनामा समायोजन गरी सेवामा रहेका सबै गोर्खाहरूलाई बेलायती नागरिकसरह समान अधिकार दिइयो । तर, ब्रिटिश सरकारले गोर्खाहरूलाई बेलायतको नागरिकता समेत दिएर उनीहरूको आर्जन र जवानी आफैंले राखेर नेपालका शासकलाई लोप्पा ख्वाइदियो ।

राष्ट्रवादीका नारा दिने नेपाली राजनीतिज्ञहरू बेलायतको अगाडि चूँसम्म बोल्न सकेनन् । तर हिजोसम्म ब्रिटिशसँग बोल्न डराउने लाहुरेको जमात गेसो आन्दोलनले विश्वसामु ब्रिटिशको मुटुमा ढ्याङ्ग्रो ठटाइदिन सक्ने भए । मानवअधिकार र प्रजातन्त्रको जननी हौं भन्ने ब्रिटिश साम्राज्यवादी शासकको असली अनुहारलाई उदाङ्गो बनाइदिए । यसबाट विश्वसामु नेपाल र नेपालीको इज्जत र प्रतिष्ठा उच्च भयो ।

नेपालका शासकहरूले गरेको राष्ट्रघाती गल्तीलाई सच्याउन भूतपूर्व सैनिकहरूको आफ्नै खर्चमा ब्रिटिशसँग नेपालको राष्ट्रिय स्वाभिमानको मुद्दा लडेर विश्वमा ट्रेड मार्कको रूपमा स्थापित भएर सर्वाधिक चर्चाको पात्र बन्न पुगें । त्यही गेसो आन्दोलनको गरिमामय इतिहासलाई जीवित राखिराख्न म पुनः पाँच वर्षपछि गेसोको नेतृत्वमा फर्केको हुँ ।

अब गर्ने पहिलो काम

‘विश्वयुद्धमा बहादुर कहलिएका गोर्खाहरू नेपालबाट मानव तस्करी गरिएका गैरसैनिक नेपाली नागरिक थिए । हाल ब्रिटिश सेनामा मौजुदा रहेका नेपाली अवैध सैनिक हुन्’ यो कुरा विश्वसामु प्रमाणित गर्नुछ । ब्रिटिशले विश्वयुद्ध जितेको इतिहास उल्ट्याउनुछ । विश्वसामु ब्रिटिशको शिर निहुराइदिएर नेपालले अहिलेसम्म ब्रिटिशको कारणले व्यहोर्नु परेको अपूरणीय क्षतिको क्षतिपूर्ति लिएर मात्र नेपाली भूमिबाट ब्रिटिश सैनिक क्याम्प हटाउनुपर्छ । कलंकरहित सार्वभौम सत्तासम्पन्न राष्ट्र नेपाल बनाउनुपर्छ । र, भोलिका सन्तानहरूलाई कसैसँग नझुकी दुई विशाल छिमेकी राष्ट्रको बीचमा गतिशील मार्गदर्शनको बाटोमा अग्रसर हुँदै देशको विकास गरेर सम्पन्न र समृद्ध नेपाल निर्माणको बाटो देखाइराख्ने मेरो नेतृत्वको पहिलो काम हुनेछ ।

सर्वप्रथम नेपाल र ब्रिटिशका शासकहरूको मिलेमतोमा नेपाल र नेपाली जनतामाथि गरेका जघन्य अपराधका राजनीतिक षड्यन्त्रहरूलाई जनसमक्ष सार्वजनिक गर्न सान्दर्भिक ठानेको छु ।

नेपालका शासकहरू सत्ताको लागि कतिसम्म तल गिरेर देश र जनतालाई बन्धकमा राख्न पनि पछि नपर्ने रहेछन् भन्ने कुराको प्रमाण यी तलका बुँदाहरूले प्रष्ट गर्दछ–

१) तत्कालीन श्री ३ राणा शासकहरूले भारतीय भूमिमा शासन गरिरहेका अंग्रेजलाई खुसी बनाई आफू सत्तामा रहिरहन सुगौली सन्धि गरी नेपालको एकतिहाइ भूभाग भारतमा गाभिदिए ।

दुई विशाल छिमेकी राष्ट्रको बीचमा रहेको नेपालले एक छिमेकी राष्ट्रको सैनिक सेवामा आफ्नो नागरिक पठाई अर्को छिमेकी राष्ट्रसँग युद्ध लडाएर देश र जनता सुरक्षित रहन सक्दछन् ? सरकारमा बस्नेहरूले नेपाल र नेपाली जनतालाई के गर्न खोजेको हो ?

२) राणा शासक र अंग्रेजहरूले मौखिक लेनदेन गरी विना तलब ब्रिटिशलाई बेच्ने गरेका नेपालीलाई राणाकालपछिका शासकहरूले नेपालको संविधान विपरीत खुलेआम नेपाली भूमिमा ब्रिटिश सैनिक क्याम्प राख्ने अनुमति दिए । यसबाट युगौं युगदेखि सार्वभौम सत्तासम्पन्न रहँदै आएको नेपालको सार्वभौमिकता ब्रिटिशलाई सुम्पिदिएको जस्तो भयो । यो कुनै इतिहास नभएर वर्तमान हो ।

३) जन्मभूमि भनेको जन्म दिने आमाभन्दा पनि श्रेष्ठ मानिने धर्तीमाता हुन् । आफ्नो धर्तीमाताको छातीमाथि टेकेर ब्रिटिश साम्राज्यवादी सैनिक बुटले धूलो उडाउँदै कवाज खेल्न पाउने अनुमति दिएर सरकारमा बस्नेहरूले कुन नैतिकताको आधारमा आफूलाई सार्वभौम राष्ट्रको संवैधानिक शासक हौं भन्ने ?

४) नेपाली भूमिमा ब्रिटिश सैनिक शासक बसेर नेपाली नागरिकलाई भारतीय सेना, ब्रिटिश सेना, सिंगापुर र बु्रनाई गरी एउटै राष्ट्रका नागरिक, एउटै बाबुआमाका छोराहरूलाई चार राष्ट्रको सैनिक जस्तो युद्ध लड्ने पेशामा विभाजन गरिदियो । भारतीय सेनाका नेपालीले भारतीय सार्वभौम सत्ताप्रति वफादार रहेर सेवा गर्नेछु भनी कसम खाने, ब्रिटिश सेनाका नेपालीले ब्रिटिशको सार्वभौम सत्ताप्रति बफादार रहेर सेवा गर्नेछु भनी कसम खाने, सिंगापुर र ब्रुनाईका नेपालीले पनि कसम खाएर नेपाललाई विश्वको विचित्रको देश बनाइदियो ।

५) यसले गर्दा नेपालीको घरपरिवार र समाजमा फुट पैदा गरिदियो । नेपालीको मस्तिष्कलाई आफ्नो मातृभूमिबाट अलग गराएर विदेशी मुलुकहरूप्रति बफादार बनाइदियो । अखण्ड नेपाललाई विखण्डन गरिदिएर नेपाललाई कमजोर राष्ट्र बनाइदियो । विश्वको नजरमा नेपालीलाई रोजगारीको लागि आफ्नो सार्वभौम भूमि त्याग्न पनि पछि नपर्ने नागरिक बनाइदिएर विश्वमा नेपाली हौं भनी गौरव गर्ने ठाउँ कतै रहेन ।

६) ब्रिटिश सेनाका गैरसैनिक नेपालीलाई प्रथम विश्वयुद्धदेखि अहिलेसम्म विश्वका विभिन्न मुलुकमा लगेर युद्ध लडाइरहेको छ । जुन देशसँग नेपाली युद्ध लडिरहेका छन् ती सबै देशसँग नेपालको कूटनीतिक सम्बन्ध रहेको छ । नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरूको सार्वभौम भूमिमा नेपाली नागरिकलाई ब्रिटिशको बहादुर गोर्खा बनाई युद्ध लड्न पठाएर नेपालले कुन नैतिकताको आधारमा मित्रराष्ट्रहरूसँग नेपालको असंलग्न परराष्ट्र नीतिको कुरा उठाउने ?

७) नेपाली नागरिकलाई ब्रिटिश सेनामा पठाएर नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरूसँग युद्ध लडाउने यो नेपाल सरकारको मित्र राष्ट्रहरूप्रतिको आफ्नो नीति हो कि ब्रिटिशको नीति ? सरकार बोल्नुपर्छ । जनता जान्न चाहन्छन् ।

भारतीय सेनाका नेपालीलाई छिमेकी राष्ट्र चीनसँग युद्ध लडाइसकेको बारे सबैलाई विदितै छ । पाकिस्तानसँग पनि लडिरहेका छन् । फेरि पनि चीन र भारतको बीचमा युद्ध नहोला भन्न सकिने अवस्था छैन ।

अब पनि नेपाली रोजगारको लागि भारतको बहादुर गोर्खा बनेर चीनको सार्वभौम भूमिमा युद्ध लड्न गए भने चीनले नेपाललाई छिमेकी राष्ट्र भनेर माया गर्नुपर्ने कुनै कारण छ ? दुई विशाल छिमेकी राष्ट्रको बीचमा रहेको नेपालले एक छिमेकी राष्ट्रको सैनिक सेवामा आफ्नो नागरिक पठाई अर्को छिमेकी राष्ट्रसँग युद्ध लडाएर देश र जनता सुरक्षित रहन सक्दछन् ? सरकारमा बस्नेहरूले नेपाल र नेपाली जनतालाई के गर्न खोजेको हो ?

नेपालीलाई भारतीय सेनामा पठाई छिमेकी राष्ट्र चीन र पाकिस्तानसँग युद्ध लड्न पठाउने यो नेपाल सरकारको छिमेकी राष्ट्र चीन र पाकिस्तानप्रतिको आफ्नो नीति हो कि ब्रिटिशको नीति हो ? कि त नेपाल सरकारले मेरो नीति हो भन्न सक्नुपर्‍यो, ब्रिटिशको नीति हो भने सरकारमा किन बसेको हो ? देश र जनतालाई तरबारको धारमा राखेर शासन चलाउने अधिकार कसैलाई छैन ।

नेपालले टाउको उठाउनै नसक्ने गरी यस्तो दलदलमा फसाउँदा पनि नेपालका राजनीतिज्ञ, कूटनीतिज्ञ, परराष्ट्र विज्ञहरू ब्रिटिशसँग यस विषयमा नबोल्नुको रहस्य के हो ?

नेपाली नागरिकलाई बहुराष्ट्रिय सेनामा पठाई युद्ध लडाएर ब्रिटिशले मानव व्यापार गरिरहेको स्थितिमा के नेपाल सार्वभौम सत्तासम्पन्न राष्ट्र हुनसक्छ ?

यस सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरूका महामहिम राजदूतज्यूहरूले पनि बोल्नुपर्छ । विशेषगरी भिटो पावरयुक्त शक्ति राष्ट्रका महामहिम राजदूतज्यूहरूको स्पष्ट धारणा आउनुपर्छ । शासकहरूको स्वार्थमा निमुखा जनताले सजाय पाउन हुँदैन । युक्रेनको घटनाबाट नेपालले पाठ सिक्नुपर्छ ।

सरकारको वैधानिकतामाथि प्रश्न उठिरहेको अवस्थामा सरकार आफैंले आफ्ना नागरिकलाई मर्न र मार्न ब्रिटिश सेनामा पठाउन हुन्छ ? युद्धको कालबाट बचेर जन्मभूमिमा फर्कंदा गैरआवासीय नेपाली नागरिकको सूचीमा राखेर संविधान संशोधन गरी हाम्रो जन्मभूमिको मौलिक हक खोस्ने अधिकार नैतिकहीन सरकारले कहाँबाट पायो ? सरकार आफैंले आफ्ना नगारिक बेचेर अनैतिक काम गर्ने अनि त्यसको सजाय मुलुकले पाउने ?

हाम्रो जन्मभूमि नेपाल हो भने हाम्रो रगत र बलिदानले सम्पन्न र समृद्ध हुँदै, भिटोयुक्त शक्तिमा पुगेको बेलायत हाम्रो कर्मभूमि हो । जन्मभूमि र कर्मभूमिको मौलिक हक खोस्ने अधिकार कसैलाई पनि छैन । बेलायतको माटोसँग नेपालीको रगतको सम्बन्ध रहेको छ । बेलायतमा स्थायी बसोबास गर्ने नेपालीलाई अल्पसंख्यक सूचीमा नाम राख्नुपर्छ । यो हाम्रो अधिकार हो, माग होइन ।

गोर्खा भर्तीको सुरुवात नेपालबाट मूलवासीहरूलाई समाप्त पार्ने षड्यन्त्र हो भन्ने कुराको प्रमाण यसैबाट पुष्टि हुन्छ ।

नेपालका शासकहरूलाई मुठीमा राखेर ब्रिटिशले नेपाल र नेपाली जनतामाथि कतिसम्म तल गिरेर जघन्य अपराध गर्दै शोषण गरिरहेको छ भन्ने प्रमाण यी तलका बुँदाहरूले स्पष्ट गर्दछ–

१. आफूलाई मानवअधिकार र प्रजातन्त्रको जननी हुँ भन्ने ब्रिटिशले आफू समान हैसियत भएको सार्वभौम राष्ट्र नेपालका किसान युवालाई तस्करी गरी विना तलब ब्रिटिश सेनामा लगेर, गैरसैनिक नेपालीलाई ‘ब्रिटिश गोर्खा सैनिक’ भनी विश्वसामु झुट बोलेर युद्धमा होमी विश्वयुद्ध जितेपछि नेपालीलाई मानवीय क्षतिपूर्ति दिनुपर्छ भनी युद्धहरूमा जातीय नरसंहार गरिएका ८० हजारभन्दा बढी नेपालीको अवस्थाबारे अहिलेसम्म पनि तथ्य सार्वजनिक गरेको छैन ।

२. तिनै गोर्खाहरूको चिरशान्ति तथा सम्झनामा गेसोले भू.पू.सैनिकहरूको करोडौंको लगानीमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. १ स्थित साल्मेडाँडामा विश्वको अद्वितीय नेपालको राष्ट्रिय गौरव विश्व समुदायको समेत सरोकारको विषय बन्ने बहुउद्देश्यीय परियोजना, वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको डिजाइन तथा रेखदेखमा यसको निर्माण भइरहेको थियो ।

यो परियोजना रिमालको डिजाइन अनुसार सम्पन्न भयो भने ब्रिटिशले नेपाली जनतालाई खर्बौंको क्षतिपूर्ति दिनुको साथै जातीय नरसंहारको अभियोग लाग्ने हुन्छ । ब्रिटिशको आदेशमा नेपाल सरकारले राज्य कोषबाट रु.५ करोड ८० लाख निकासा गरी परियोजनामाथि डाँका शैलीमा अतिक्रमण गर्‍यो । र, ठेकेदारलाई जिम्मा दिएर विना प्राविधिक गुणस्तरहीन निर्माण गरी सम्पूर्ण योजनाको संरचनालाई औचित्यहीन बनाइदिएर राज्यकोष र भू.पू. सैनिकहरूको करोडौंको रकम दुरूपयोग गरिदिएको छ ।

३) ब्रिटिश सेनामा गोर्खा पोलिसी भनेको के हो ? के ब्रिटिश संसद्ले आफ्ना राष्ट्रसेवक सैनिकलाई उसको जात र रङको आधारमा ब्रिटिश नागरिकलाई भिन्नै ऐन कानुन र सुविधा अनि गोर्खाहरूलाई उसको जातको आधारमा भिन्नै ऐन–कानुन र सुविधाको व्यवस्था गर्न ब्रिटिश संसद्को नैतिकताले सुहाउने कुरा हो ? गोर्खा पोलिसी ब्रिटिश संसद्ले बनाएको हो भने ब्रिटिश संसद् मानवअधिकार र प्रजातन्त्रवादी नभई जातिवादी संसद् हो ।

४) गोर्खा पोलिसी हाकिमको तजबिजले बनाएको हो भने, गोर्खा ब्रिगेड अवैध संस्था हो । अवैध संस्थामा नेपालीलाई भर्ती गरेर युद्धमा लैजाने भनेको मानवता विरुद्धको घोर आपत्तिजनक युद्ध अपराध हो । यो जातीय नरसंहारको अपराध हो ।

५) ब्रिटिश सेनाका नेपाली ब्रिटिशको वैधानिक सेना हुनको लागि नेपाल ब्रिटिशको उपनिवेश भएको हुनुपर्दछ । यस बाहेक सन्धि सम्झौता गरेर वा नेपाल र ब्रिटिशको संसद्ले पारित गरेर यो सेवा वैधानिक हुन सक्दैन । यो विश्वको सर्वमान्य सिद्धान्त हो ।

६) प्रथम विश्वयुद्धदेखि अहिलेसम्म विश्वका विभिन्न युद्धहरूमा होमिई मारिएका हजारौं नेपाली सबै युद्ध–अपराध हो ।

ब्रिटिशलाई यही अभियोगमा अन्तर्राष्ट्रिय अदालत हेगमा मुद्दा लाग्छ । यो मुद्दा हेगमा दर्ता भयो भने यो नेपाल र ब्रिटिश बीचको मात्र मामला नभई विश्वको पनि सरोकारको विषय बन्न पुग्छ । किनभने ब्रिटिश शासकहरूको आदेशमा गैरसैनिक नेपाली नागरिकले विश्वका हजारौं प्रजातन्त्रका सेनानी मारेका छन्, हजारौं निर्दोष नागरिकको हत्या गरेका छन्, हजारौं महिलामाथि ज्यादती गरेका र सम्पत्तिको लुट मच्चाएका छन् ।

नेपालमा ब्रिटिश सैनिक शासक बसेको हुनाले पश्चिमेली राष्ट्रका भूमिगत गिरोहहरू शक्तिशाली छन् । जसलाई ब्रिटिश सैनिक जासुसले परिचालन गर्दछ । नेपालमा स्थायी सरकार बन्न नदिने, राजनीतिक दलहरूलाई शक्तिशाली हुन नदिनुका पछाडि यिनै गिरोहको हात रहेको हुन्छ । यसको प्रमाण गेसो आन्दोलनले तीन दिनसम्म ब्रिटिश दूतावास घेरेपछि यसको महत्वपूर्ण शाखा दिल्लीमा सारेकोले गर्दछ ।

नेपालबाट ब्रिटिश सैनिक शासक नहटाएसम्म नेपाली जनताले जुनसुकै राजनीतिक दललाई जतिसुकै शक्तिशाली बनाएर सरकारमा पठाए पनि सुशासन चलाएर देशको विकास गर्न यिनै गिरोहहरूले दिंदैन । गिरोहको मुख्य उद्देश्य हो नेपालमा अस्थिर बनाएर एशियाको राजनीतिमा चलखेल गर्ने । विशेष गरेर चीनको राजनीतिमा दक्खल पुर्‍याउने यसको मुख्य उद्देश्य हो ।

ब्रिटिश सैनिक क्याम्प कसरी हटाउने ?

१) विभिन्न युद्धमा होमेर जातीय नरसंहार गरी बेपत्ता पारिएका नेपालका जातजाति र जनजातिहरूका हजारौं पितापुर्खाको मानवीय क्षतिपूर्ति लिएर ।

२) नेपालको संविधान विपरीत नेपाली सार्वभौम भूमिमा ठाडो अतिक्रमण गरी गैरकानुनी ब्रिटिश सैनिक क्याम्प राख्दा नेपालीको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा पुर्‍याएको हानि–नोक्सानीकोे क्षतिपूर्ति लिएर ।

३) युवाहरूको अभावमा राष्ट्रले व्यहोर्नु परेको क्षतिको क्षतिपूर्ति लिएर ।

४) नेपालका मूलवासीहरूको मौलिक संस्कार, संस्कृति समाप्त पारिदिएकोमा त्यसको क्षतिपूर्ति लिएर मात्र ब्रिटिश सैनिक क्याम्प कसरी हटाउने भन्ने सम्बन्धमा प्रक्रिया सुरु हुन्छ ।

ब्रिटिशसँग क्षतिपूर्ति लिनु हाम्रो माग होइन, नेपालले ब्रिटिशसँग लिनुपर्ने नेपालीको आधिकारिक हिसाब हो । नेपालीको ऋण तिर्दैन भने हामी ब्रिटिश सैनिक क्याम्पको झण्डा खोसेर साल्मेडाँडाको गोर्खा समाधि संग्रहालयमा राखेर विश्वलाई देखाउने छौं । यो कुनै नेताको भाषण होइन, नेपाली धर्तीमाताले लाहुरेहरूलाई दिएको आदेश हो । धर्तीमाताको यही आदेशलाई शिरोपर गर्न म पदमबहादुर गुरुङ गेसोको सभापतिमा पुनः आएको हुँ ।

अबको आन्दोलन सभा, जुलुस, भाषणबाट हुँदैन । गोर्खा समाधि साल्मेडाँडामा गेसोको कार्यालय रहन्छ । यहाँ नेपालदेखि विश्वका विज्ञहरू ल्याएर विभिन्न विषयमा छलफल गरी निकालेको निष्कर्षलाई मिडियामार्फत जनसमुदायमा पुर्‍याइनेछ । अनि संयुक्त राष्ट्रसंघमा बसेर विभिन्न अभियान समेत संचालन गरिन्छ ।

यसको मूल उद्देश्य हो विश्वसामु ब्रिटिश सेनाका नेपालीलाई अवैध प्रमाणित गरेर क्षतिपूर्तिसहित नेपाललाई ब्रिटिशबाट मुक्ति दिलाउनु रहेको छ । यति मात्र गर्न सक्यौं भने नेपाललाई फसाउन खनेको खाल्डोमा ब्रिटिशलाई नै फसाएर, नेपालीले अहिलेसम्म गुमाएको इज्जत र प्रतिष्ठालाई फर्काएर सार्वभौम राष्ट्रको स्वाभिमानी नेपाली नागरिक बन्नेछौं ।

गोर्खा ब्रिगेडका नेपालीलाई समान अधिकार दिनुपर्छ भन्ने माग राखेर आफ्नो जीवनको समेत ख्याल नगरी आफूलाई मानवअधिकार र प्रजातन्त्रको जननी हौं भनी विश्वलाई पाठ सिकाउने बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनसम्म भोक हडताल बस्यौं । ब्रिटिशको मानवअधिकारको असली अनुहार विश्वसामु छर्लङ्ग पारिदियौं । ब्रिटिश शासकहरूको शिर निहुराइदिने महान साहसी प्रथम नेपाली महिला पुष्पा घले (ठकुरी), ज्ञानराज राई र धनबहादुर गुरुङप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको जीवनीसहितको इतिहास विश्व चर्चित गोर्खा समाधिको संग्रहालय साल्मेडाँडामा राखिनेछ ।

अन्त्यमा, विदेशी भूमिमा अकालमा मारिएर भौंतारिइरहेको हजारौं पितृको आत्मालाई शान्ति दिलाएर नेपाली धर्तीमातालाई ब्रिटिश साम्राज्यवादीको चंगुलबाट मुक्ति दिलाउने महान् अभियानमा सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुनको लागि सादर अनुरोध गर्दछु ।

(गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति गुरुङ पुनः संस्थाको नेतृत्वमा फर्किएका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?