+
+

मालपोतका नासु मदन गुप्ताविरुद्ध छैटौं भ्रष्टाचार मुद्दा

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ असोज ७ गते १९:४१

७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मालपोत कार्यालय, पर्साका नासु मदनप्रसाद गुप्ता विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

१६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये १ लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाई अरु रकम हिनामिना गरेको उनीमाथि आरोप थियो ।

अख्तियारले गुप्तामाथि ‘उठाएको राजश्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गरेको’ आरोप लगायो । उनीसहित मालपोत कार्यालय, पर्साका लेखापान विष्णुप्रसाद ढकाल विरुद्ध १२ लाख ३७ हजार विगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर भयो । दुवै जनामाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो ।

गुप्तामाथि अख्तियारले शुक्रवार दायर गरेको छैठौं मुद्दा हो । यसअघि उनीविरुद्ध चारवटा राजस्व हिनामिनाको अनि एउटा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ । पछिल्लो तीन वर्षको अवधिमा दायर सबै मुद्दा विचाराधीन छन् । सबै मुद्दाको विगो जोड्दा २२ करोड ७६ लाख रुपैयाँ पुग्छ ।

अख्तियारले गुप्ता विरुद्ध १ जेठ २०७६ मा दुईवटा भ्रष्टाचार मुद्दा चलायो । एउटामा विगो माग दावी छैन भने अर्कोमा २ करोड ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । ३ जेठमा ४ करोड ५८ लाख विगो मागदावी सहित तेस्रो मुद्दा दायर भयो । २ मंसिरमा ७७ लाख ८६ हजार विगो माग दावी गरेर गुप्ता विरुद्ध चौथो मुद्दा दायर भयो । ११ मंसिर २०७६ मा १४ करोड ८१ लाख रुपैयाँ विगो माग दावी थियो ।

२०७६ जेठमा भ्रष्टाचार मुद्दा लाग्नुअघिसम्म सरकारी सेवामा रहेका गुप्ताले २९ वर्षको अवधिमा १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा उल्लेख छ । उनले त्यो अवधिमा ४ करोड ५४ लाख रुपैयाँमात्रै कानूनसम्मत रुपमा कमाएको खुल्यो, बाँकी सबै रकम भ्रष्टाचारबाट आर्जित भएको अख्तियारको दावी छ । उनले यो अवधिमा करिव २८ लाख रुपैयाँमात्रै तलब बुझेका थिए ।

मालपोत कार्यालयमा हुँदा नासु गुप्ताले अनेक ठगीधन्दा गरेर सरकारी राजस्व हिनामिना गरेको आरोप छ । उनले मालपोत र बैंकको नक्कली रसिदप्याड छपाउथे र त्यही कागजात पेश गरेर राजस्व दाखिला भएको फाइल तयार गर्थे ।

सेवाग्राहीले तिर्ने रकम भने उनीहरुले दुरुपयोग गर्थे । करिव एक वर्षको अवधिमा छानविन गर्दा नै उनी सहितको टोलीले करिव ५/७ करोड हिनामिना गरेको भेटिएको थियो ।

गुप्ताको योजनामा मतियार बनेको आरोपमा अख्तियारले मालपोत मात्रै नभई जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय र लेखापरीक्षण गर्ने कर्मचारीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

नासु गुप्ता मालपोत कार्यालय कलैयामा हुँदा भ्रष्टाचारको प्रमाण नष्ट गर्न महत्वपूर्ण कागजात फालेको भेटियो । पछि उनका निजी सवारीचालक सुनिलकुमार पटेलको डेराबाट कागजात बरामद भएको थियो । सिमरा मालपोत कार्यालयमा हुँदा उनीमाथि झनै संगीन आरोप लाग्यो, ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी बनाइए ।

२७ असार २०४७ मा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको रुपमा जागिर सुरु गरेका गुप्ता २०६४ मा नासुमा बढुवा भएका हुन् । पछिल्लो समय उनी बाराको सिमरास्थित मालपोत कार्यालयको निमित्त प्रमुख थिए । अख्तियारको दावी अनुसार, उनका कारण मात्रै करिव ८ करोड रुपैयाँको राजस्व छली भएको छ ।

गुप्ताको काठमाडौंको सुन्धारा र कलंकीमा घर छ । वीरगञ्जमा दुईवटा घर छन् । सर्लाही लगायतका जिल्लामा उनको सम्पत्ति भेटियो । विभिन्न जिल्लामा ६ वडा घर कम्पाउण्ड भेटिएको छ । सम्पत्ति लुकाएको आरोपमा अख्तियारले उनका कार्यालय सहयोगीका सासु विरुद्ध समेत भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उनले भ्रष्टाचारको रकम जम्मा गर्न लेखाका कर्मचारी युगलकिशोर ठाकुरसँग मिलेर छुट्टै संयुक्त खाता खोलेका थिए ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?