+
+

कांग्रेसले बेवास्ता गरेपछि लोसपा लाग्यो एमालेतिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते २१:०९

७ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार जनकपुर जाँदैछन् ।

त्यसको अघिल्लो दिन आज शुक्रबार लोसपाले भने एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ । लोसपा नेताहरुका अनुसार आफ्नो दलका एकपछि अर्का नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइरहेको एमालेसँग चुनावी तालमेल रहर होइन, बाध्यता हो ।

लोसपाको चाहना त शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने र नेपाली कांग्रेससँगै चुनावी गठबन्धन गर्ने थियो । त्यसका लागि महन्थ ठाकुर लगायतले झण्डै १५ महिनादेखि देउवाका हरेक कदममा साथ समर्थन गर्दै आएका थिए ।

५ पुस २०७७ को प्रतिनिधिसभा विघटनसँगै महन्थ ठाकुर–राजेन्द्र महतो समूहले जनता समाजवादी पार्टीमा विवादका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको थियो । दोस्रो पटक संसद विघटन भएपछि त सरकारमै गयो । तर सर्वोच्च अदालतले ओली सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई खारेज गरेपछि महिना दिन नपुग्दै सत्ता यात्रा टुट्यो ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा प्रधानमन्त्री भए । त्यससँगै देउवातिर नजिक भएको ठाकुर–महतो समूहले ३ साउनमा विश्वासको मत पनि दियो ।

तर ११ साउनमा जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पायो भने राजनीतिक दलसम्बन्धी ऐनअनुसार संसदीय दल र कार्यकारिणी समितिमा ४० प्रतिशत पुर्‍याउन नसकेका कारण ठाकुर–महतो समूहले नयाँ दल पनि बनाउन सकेन ।

तर देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत जुटाएर दल दर्ता गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर महतो पक्षले २ भदौमा लोसपा दर्ताका लागि निवेदन दिए । ९ भदौमा नयाँ दल दर्ताको प्रमाणपत्र पाए ।

त्यसयता संसदको प्रतिपक्षी बेञ्चमा बसे पनि लोसपाले सरकारको हरेक कदममा साथ थियो । ३१ असार २०७९ मा उपसभामुखको निर्वाचन हुने तय भयो । एमालेले लोसपालाई समर्थन गर्ने बतायो । चन्दा चौधरीलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।

तर लोसपा नेतृत्वले चौधरीलाई उम्मेदवार बनाउन चाहेन, गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पुष्पा भुसाललाई समर्थन गर्‍यो । सरकारले नागरिकता विधेयक अघि बढाएपछि त लोसपाका नेताहरुको बालुवाटार आउजाउ बाक्लो बन्यो । ६ साउनमा प्रतिनिधिसभाबाट विधेयक पास भएपछि लोसपा नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रालय संख्याबारे समेत छलफल गरेका थिए ।

लोसपा नेताहरु अन्तिम पटक २ भदौमा बालुवाटार गएका थिए । तर न देउवाले सरकारमा सहभागी गराए, न चुनावी तालमेलका लागि कुनै अफर गरे । कांग्रेस नेताहरुका अनुसार देउवा देउवा, लोसपालाई सरकार र गठबन्धन दुवैमा सहभागी गराउन चाहन्थे । तर पाँचदलीय गठबन्धनमा रहेको माओवादी केन्द्रको नेतृत्व त्यसका लागि पटक्कै तयार भएन ।

कांग्रेसका एक नेताका अनुसार पार्टीमा जसपाभन्दा लोसपासँग तालमेल सहज र प्राकृतिक हुन्छ भन्ने मत पनि छ । तर देउवाले चुनावी र सत्ता गठबन्धनमा निर्णायक जस्तो बनेको माओवादी नेतृत्वलाई चिढ्याएर लोसपा नेताहरुलाई रोज्न सकेनन् । लगातार १५ महिनासम्म साथ दिंदा पनि कांग्रेस र उसको नेतृत्वले सहकार्यको हात अघि नबढाएपछि बाध्य भएर एमालेतिर जानुपर्ने अवस्था आएको लोसपाका एक नेता बताउँछन् ।

जबकि अहिले चर्को राजनीतिक मुद्दा बनेको नागरिकता विधेयकमा एमाले र लोसपा दुरी किनारामा छ । लोसपाले प्रतिनिधिसभा र राष्ट्रियभामा नागरिकता विधेयकको पक्षमा मतदान गरेको थियो भने एमालेले विपक्षमा ।

एमाले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे समय सीमा राख्नुपर्ने मत राख्छ भने लोसपाले हालको व्यवस्स्था अनुसार नेपाल पुरुषसँग बिहे गर्ने विदेशी महिलाले विदेशी नागरिकता त्याग्न कारबाही चलाएपछि अंगीकृत नागरिकता पाउने विद्यमान व्यवस्थालाई निरन्तरता दिनुपर्ने मत राख्छ ।

तर आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा त्यही एमालेसँग तालमेल गर्ने निर्णयमा पुगेको छ । तालमेल गर्ने सैद्धान्तिक सहमति भएपछि सिट बाँडफाँटका लागि राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको एक नेताले जानकारी दिए ।

शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य रहेको समितिले मधेस प्रदेशका साथै प्रदेश १ र लुम्बिनीमा सिट बाँडफाँटका लागि एमाले नेताहरुसँग वार्ता गर्नेछ ।

समितिका सदस्य एवं मधेस प्रदेश अध्यक्ष सोनल भने कांग्रेसले तारिख मात्र दिएको र परिणाम नदिएकाका कारण एमालेसँग वार्ता गर्न लागेको बताउँछन् । सानै भए पनि लोसपा राष्ट्रिय पार्टी भएकाले सम्मानजनक गठबन्धन हुनुपर्ने भन्दै उनले अनलाइनखबरसँग भने, ‘कांग्रेससँग कुरा हुँदा सिट बाँडफाँटमा जुन जसरी कुरा पर्थ्याे, त्यो भएन । तारिख बढी दिनुभयो, परिणाम दिनुभएन । परिणाममुखी गठबन्धन बनाउन यतातिर लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?