+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पोखरा आइपुगे बझाङका भेडाच्यांग्रा, एउटैको पर्छ ४८ हजार

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज ८ गते १८:४४

८ असोज, पोखरा । बझाङका हिमाल भण्डारी पोखरामा दशैंको छेको पारेर भेडाच्यांग्रा ल्याएर बेच्न थालेको १५ भइसक्यो । सुरुसुरुमा उनी तिब्बतबाट करिब दुई महिना लगाएर पोखरामा भेडाच्यांग्रा बेच्न ल्याउँथे ।

हिमाली जिल्लाबाट आएका भेडाच्यांग्रा भनेपछि पोखरा र आसपासका मान्छेहरु मरिहत्ते गरेको अनुभव भण्डारी सुनाउँछन् । ‘त्यतिबेला चाइनामा २–३ हजारमै राम्राराम्रा भेडाच्यांग्रा पाइन्थ्यो । यहाँ पनि हामीले बढीमा ७–८ हजारमा मात्रै बेच्थ्यौं’ सम्झन्छन्, ‘दशैंबेला पोखरामा भेडाच्यांग्राको मेला नै लाग्थ्यो ।’

भण्डारीले यस पटक पनि ४ जना साथीहरुसँग मिलेर शुक्रबार साँझ ३०० वटा भेडा, च्यांग्रा पोखरा ल्याएका छन् । ती सबै भेडाच्यांग्रा ३ वटा गाडीमा ३ दिन ३ रात लगाएर बझाङबाट पोखरा ल्याइएका हुन् ।

पोखरामा हिमाली जिल्लाबाट च्यांग्रा भित्रिसकेपछि दशैं चहलपहल सुरु हुन्छ । अहिले याम्दीमा बझाङ, जुम्ला, डोल्पा, हुम्लाबाट भेडाच्यांग्रा ल्याइएको छ । भेडा च्यांग्राको बथान ल्याए पनि अझै बिक्री नभएको भण्डारीले सुनाए । ‘दशैं सुरु भइसक्या छैन । फूलपाती आउने बेला बढी बिक्छन्,’ उनले भने ।


१५ वर्षदेखि निरन्तर भेडाच्यांग्राको व्यापार गरिरहेका भण्डारीको व्यापार श्रृङ्खला भने सधैं उकालो छैन । गत वर्ष उनले घाटा व्यहोरे । ‘सबै भेडा च्याङ्ग्रा बिकेनन् । महंगो भयो भनेर बाहिर गलत प्रचार भएपछि १३ लाख रुपैयाँ नमज्जाले घाटा खाएँ’ उनी भन्छन्, ‘यसपालि पनि के हो के हो ?’

अर्का च्यांग्रा व्यापारी पिटर बोहरा पनि पोखरा भेडा च्यांग्रा बेच्न आउन थालेको ९ वर्ष भयो । उनले पनि पहिलेको तुलनामा अहिले ह्वात्तै व्यापार घटेको अनुभव गरे । बिक्री दर घट्नुमा भने भेडा, च्यांग्राको मूल्य अचाक्ली बढ्नु नै रहेको उनीहरु स्वीकार्छन् ।

‘पहिले ६/७ हजारमै रोज्जारोज्जा भेडाच्यांग्रा बेचिन्थ्यो । एउटै मान्छेले २ वटासम्म लैजान्थे । अहिले त ७, ८ गुणाले मूल्य बढेपछि किन्न छाडे’, बोहरा सुनाउँछन्, ‘हामीलाई महंगो गरायौ भन्छन् । हामी आफैंलाई महँगीले मारेको देख्दैनन् ।’

पहिले पहिले तिब्बतबाट सस्तोमा खरिद गरेर पैदलै ल्याएर पोखरा बेच्ने गरिन्थ्यो । तर, अहिले तिब्बतबाट ल्याउन बन्द भएको र उत्पादन पनि घटेकाले भेडाच्यांग्राको मूल्य ह्वात्तै बढ्न पुगेको उनीहरु सुनाउँछन् । ‘हामीले पनि गाउँगाउँबाट बटुलेर बेच्न ल्याउने हो । खोज्दा पनि पाइन्न । नपाएपछि हामीले नै महंगो रुपैयाँ हालेर ल्याउनुपर्छ,’ भण्डारी भन्छन् ।

भण्डारीका अनुसार पहिले पोखरामा ५० हजार वटासम्म भेडाच्यांग्रा बिक्री हुन्थे । तर, पछिल्लो समय ३० हजार वटा पनि काट्न हम्मेहम्मे पर्ने गरेको छ । भेडा च्यांग्राको बिक्री घट्दा टाढाबाट आएका व्यापारीले पनि बर्सेनि घाटा व्यहोर्नु परिरहेको छ । ‘मूल्य धेरै भएपछि एउटा च्यांग्रा ५, ६ परिवारले मिलेर खान थाले । त्यसैले पनि बिक्री घटेको हो जस्तो लाग्छ,’ उनले भने ।

गाउँमा पाल्न छाडेपछि रोज्जा भेडाच्यांग्रा पाउनै मुश्किल रहेको व्यापारी पिटरको अनुभव छ । उनी भन्छन्, ‘गाडी भाडा पनि उस्तै महंगो । आफैं घाटा खाएर कसरी सस्तो बनाउने ?’

पोखरामा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले पनि पोखरामा भेडाच्यांग्रा ल्याउने गरेका छन् । उनीहरुको भेडाच्यांग्रा भने शनिबारसम्म पोखरा आइपुगेको छैन । यसपटक भेडाच्यांग्राको मूल्य व्यापारीले ३२ हजारदेखि ४८ हजार रुपैयाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा ४६ हजार रुपैयाँसम्ममा भेडाच्यांग्रा बिक्री–वितरण भएको थियो ।
जुम्लाका व्यापारी कमानसिंह थामीका अनुसार अझै दश ट्रक भेडाच्यांग्रा कर्णालीबाट पोखरातर्फ ल्याइएको छ । ‘एउटा ट्रकमा ६० वटासम्म अटाउँछन् । दिनरात नभनी बहुत दुखले भेडाच्यांग्रा पोखरा ल्याउँछौं’ उनले भने, ‘यसपालि अलि छिटो बेचेर घर जान पाए हुन्थ्यो भन्ने भा’छ ।’

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?