+
+
बेनिशा हमालको दशैं सम्झना :

‘दशैंमा पिङ खेल्दा डोरी चुँडिएर लडें’

मनिषा थापा मनिषा थापा
२०७९ असोज ९ गते १५:४७

काठमाडौं । दशैंमा बज्ने मंगल धुन, आकाशमा स्वच्छन्द उडिरहेका चंगाहरु, आ–आफ्ना मूल घर फर्किरहेका मान्छेहरु देख्दा अभिनेत्री बेनिशा हमाल नोस्टाल्जिक हुन्छिन् । यी दृश्यले उनलाई अतीततर्फ फर्काउँछ, जहाँ उनले बाल्यकालमा दशैं मनाएकी थिइन् ।

दशैं आउन महिना दिनअघि नै आमाबुवालाई लुगा किनिदिनु भन्दै फकाएको, घरघरको आँगनमा पिङ बनाएको, दक्षिणा पाउने आशमा दौडधुप गरेको कुरा सम्झेर उनको मन यसै पनि रोमाञ्चक हुने गर्छ ।

उनको सबैभन्दा प्रिय पर्व हो दशैं ।

बेनिशाको घर चितवनको गीतानगर । घर नजिकै दुर्गाको ठूलो मन्दिर छ । नवरात्रि सुरु भएपछि नै मन्दिरमा चहलपहल बढ्न थाल्छ । त्यहाँ फूल अक्षता लिएर आउनेहरुको घुँइचो लाग्छ । बेनिशा पनि नवरात्र सुरु भएदेखि नै फूल, अक्षता बोकेर मन्दिर जाने गर्थिन् । दशैंको दिन बिहान सबेरै उठेर मन्दिर पुग्थिन् ।

फूलपातीको दिन अझ विशेष हुन्थ्यो । किनभने त्यसबेला फूललाई डोलीमा हालेर बाजागाजासहित नाचगान गर्दै त्यहाँ पुर्‍याउने गरिन्थ्यो । ‘त्यस्तो रमिता हेर्न हामी केटाकेटी झुम्मिएका हुन्थ्यौं,’ बेनिशा सम्झिन्छिन् ।

जति जति दशैंको तिथि नजिकिंदै जान्थ्यो, सबैको चटारो बढ्थ्यो । किनमेल गर्न, घर सरसफाइ गर्न, घर सजाउन, खसी किन्न, पिङ हाल्न पर्ने भएकाले कसैलाई पनि फुर्सद हुँदैनथ्यो । कोही किनमेल गर्न निस्कन्थे भने कोही घरलाई चिरिच्याट्ट बनाउन लागिपर्थे ।

‘त्यति रमाइलो माहौलमा हामी केटाकेटीले चाहिं विद्यालयको गृहकार्य गर्नुपर्ने कुराले तनावग्रस्त हुन्थ्यौं,’ बेनिशा सम्झिन्छिन्, ‘सुरुसुरुमा त हामी घरको रमझममा मिसिएर गृहकार्य गर्न बिर्सन्थ्यौं । जब विद्यालय लाग्ने बेला हुन्थ्यो अनि गृहकार्यको हतारो हुन्थ्यो ।’

दशैं बिदा हुँदा हामी जति मक्ख हुन्थ्यौं, विद्यालय लाग्ने कुराले उत्तिकै मन खिन्न बनाउँथ्यो ।

नयाँ लुगाको रहर र खसीको माया

दशैंमा बेनिशाका लागि विशेष भनेको नयाँ कपडा हुन्थ्यो । नयाँ लुगा लगाउन पाउने खुसीले उनी निकै उमंगित हुने गर्थिन् । ‘अरुबेला पनि नयाँ लुगा नपाउने त होइन । तर दशैंका लागि भनेर किनिएको लुगाको छुट्टै महत्व हुने रहेछ,’ उनी भन्छिन् ।

बेनिशा सानोमा निकै जिद्दी स्वभावकी थिइन् । विद्यालय बिदा हुन नपाउँदै उनी आमालाई लुगा किन्न जाऔं भन्दै कराइरहेकी हुन्थिन् । जब आमासँग बजारमा लुगा किनमेल गरिरहेकी हुन्थिन्, आफूलाई मन परेको लुगा जसरी पनि चाहिन्थ्यो । चाहे त्यो सस्तो होस् वा महंगो । उनले जुन लुगा छनोट गर्थिन्, त्यो लुगा किन्नैपर्ने हुन्थ्यो ।

दशैंको अघिल्लो दिन घरमा खसी ल्याएपछि केटाकेटीहरु खुसी हुन्थे । खसीलाई घाँस खुवाउने, पानी खुवाउने गर्थे । सुमसुम्याउने गर्थे । तर अर्को दिन जब खसी काट्ने तयारी हुन्थ्यो, केटाकेटीको मन खिन्न हुन्थ्यो । बेनिशा सम्झिन्छिन्, ‘खसीको मासु मनपर्ने भए पनि खसी काट्ने कुराले निकै मन दुख्थ्यो । खासमा हामी खसी काटेको हेर्नै सक्दैनथ्यौं । खसी काट्ने बेला कान थुनेर भाग्थ्यौं ।’

पिङको डोरी चुँडिएपछि

दशैं भनेपछि पिङ त विशेष नै भइहाल्यो । ठाउँठाउँमा लिङ्गे पिङ बनाइएको हुन्थ्यो । दशैं आउनुअघि नै मान्छेहरु पिङ बनाउने, खेल्ने गर्थ्यौं । खासमा पिङले गर्दा पनि दशैंको रौनक बढाइदिन्थ्यो ।

‘हामी साना केटाकेटी त पिङ भनेपछि अझ हुरुक्कै हुने,’ बेनिशा भन्छिन्, ‘कहिले आफ्नो पालो आउँछ भनी पर्खेर बस्थ्यौं ।’

एकपटक चाहिं पिङबाट नराम्ररी पछारिएको घटना उनलाई याद छ । त्यसबेला उनी काकाको छोरालाई काखमा राखेर पिङ मच्याउँदै थिइन् । रमाइलो भइरहेको थियो । तर अचानक पिङको डोरी चुँडियो । उनी भाइसँगै नराम्ररी पछारिन पुगिन् । तर घाउचोट लागेन । दुखाइ पनि चाँडै ठीक भयो । यद्यपि त्यसबेला पिङ चुँडिएको घटना भने उनी कहिल्यै बिर्सन सक्दिनन् ।

दक्षिणाको मोलमोलाइ 

उनी संयुक्त परिवारमा हुर्किइन् । परिवारमा हजुरबुवा, फुपू सबै एकै ठाउँ बस्थे । संयुक्त परिवारमा हुँदा दशैंको माहोल दोब्बर हुन्थ्यो । टीका लगाइदिनेहरु पनि धेरै हुन्थे । दक्षिणा पनि धेरै हुने नै भयो । त्यसमाथि बेनिशालाई दशैंको दक्षिण खास लाग्थ्यो ।

‘पहिले पहिले ठूलो परिवारमा हुँदा निकै रमाइलो लाग्थ्यो,’ बेनिशा भन्छिन्, ‘अहिले त्यस्तो मज्जा छैन ।’

सानो छँदा दक्षिणका लागि दौडधुप गरेको पनि उनले सम्झिएकी छिन् । त्यसबेला उनी दक्षिण यति दिनु, उति दिनु भन्दै मोलमोलाइ गर्थिन् । त्यसो त अहिले उनी आफैं कमाउने भइन् । यद्यपि दक्षिणको लोभ भने हुन्छ नै । ‘दशैंमा टीका लगाउन जाँदा कति दक्षिणा दिए होलान् भन्ने कौतूहलता भइरहने रहेछ,’ उनी भन्छिन् ।

मामाघरको यात्रा

दशैंमा अर्को महत्वपूर्ण लाग्ने मामाघर पनि हो । बेनिशाको मामाघर गोरखामा । त्यहाँसम्म पुग्नका लागि लगातार तीन-चार घण्टा हिंड्नुपर्ने ।

हिंड्दा थकाइ लाग्ने भइहाल्यो । खुट्टा दुख्ने भइहाल्यो । थकाइ लाग्ने भइहाल्थ्यो । तर मामाघरको आँगन टेक्नासाथ यी सबै कहाँ हराउँथ्यो, कहाँ । न थकाइ लाग्थ्यो, न खुट्टा नै दुख्थ्यो । मामाघरमा दक्षिणा धेरै पाइन्थ्यो । ‘मामाघर, छरछिमेक र आफ्नो घरमा गरेर तीन हजार रुपैयाँभन्दा बढी हुन्थ्यो,’ बेनिशा भन्छिन्, ‘यसरी जम्मा भएको पैसा ममीलाई राख्न दिन्थें ।’

तर जब कुनै कारणबस रिस उठ्थ्यो, तब उनी आमालाई आफूले राख्न दिएको पैसा माग्न थाल्थिन् । बालापनको त्यो चञ्चलता, त्यो जिद्दीपन, त्यो दशैं अनि त्यो साथीसंगी । सबै सम्झेर उनलाई फेरि पनि बाल्यकालमै फर्कन मन लाग्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?