+
+

मंसिर ४ : नसच्चिए सकिन्छन् दलहरू

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७९ असोज ९ गते १६:०६

नेपालको संविधान अनुसार प्रदेश र संघको संसदीय निर्वाचन यही ४ मंसिर २०७९ का लागि घोषणा गरिएको छ। नयाँ संविधान निर्माणपछिको दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन हुँदैछ। नयाँ संविधान बनेपछिको संसद्को पहिलो कार्यकालमा नयाँ संविधान अनुसारका केही ऐन, कानुन बनाइए पनि प्रदेश र संघीय संसद् खासै उत्साहजनक र उपलब्धिमूलक बन्न सकेनन्।

पहिलो कार्यकाल पुरानो परम्पराकै निरन्तरता जस्तै देखियो। सुरुका तीन वर्ष सरकारको नेतृत्व गरेको पार्टी नेकपाको आन्तरिक कलहले राजनीतिक स्थिरता पाउन सकेन भने बाँकी दुई वर्ष सत्ताको बाँडफाँट, लुछाचुँड र गठबन्धनलाई कसरी जोगाउने भन्दा भन्दैमा बित्दैछ।

विगत पाँच वर्षमा दलहरूको आपसी लडाइँ, आन्तरिक कलह, गुटबन्दी र सत्तालिप्साले गर्दा देश र जनताको पक्षमा कुनै काम हुन सकेनन्। यस समयमा ठूल्ठूला सपना चाहिं बाँडिए र केही भ्युटावर भने बने। संसद्को यस कार्यकालमा नेपाली जनताको वास्तविक समस्या र पीडालाई सम्बोधन हुने किसिमका आशलाग्दा, उदाहरणीय र उल्लेखनीय काम हुनै सकेनन्।

नयाँ सविधान बनेपछि पनि राजनीतिक दलहरू साँच्चिकै राजनीतिक दल बन्न सकेनन्। घुमीफिरी रुम्जाटार भनेजस्तै दलहरू देश विकास र जनचासोका सवालमा नलागेर उही पुरानै लुट्ने र कमाउने धन्दामै लिप्त भए। राजनीतिक दलमा विचार, आस्था र सिद्धान्तको खडेरी तीव्र रूपमा देखा पर्‍यो। दलहरू विचारविहीन हुनपुगे।

यसले गर्दा राजनीतिमा झन् संकट देखा पर्‍यो र झन्डै सार्वभौमसत्ता सम्पन्न संसद् नै सिद्धिने हो कि भन्ने अवस्थामा पुग्यो। देशकै जिम्मेवार राजनीतिक दलहरूको अक्षमता, अपरिपक्वता र अनुत्तरदायित्वका कारण समृद्धिका सवालमा देशले कोल्टे फेर्न सकेन।

प्रजातन्त्र पुनःबहाली भएको तीन दशक बित्दा पनि देशमा उल्लेखनीय सामाजिक, आर्थिक, शैक्षिक उपलब्धि हुन नसक्नु भनेको दलहरूका बीचको आपसी सत्ताको खेल र भ्रष्टाचार नै मुख्य कारण देखिन्छन्। पटक-पटक जाँचिएर अक्षम भएका व्यक्तिले नै बारम्बार सरकारको नेतृत्व सम्हाल्नुको कारणले पनि लामो समयदेखि देशले निकास पाउन सकेन।

राजनीतिक दलहरू विचारविहीन हुनु, दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग नहुनु, टिके र पिछलग्गु प्रणालीलाई ग्राह्यता दिनु, नेतृत्वमा बा संस्कृतिको विकास गरी जयजयकार गरिनु, गुटबन्दी, चाकरी, चाप्लुसी, नातावाद, कृपावाद, परिवारवादलाई महत्त्व दिनु, राजनीतिलाई पूरै कमाउने पेशाको रूपमा स्थापित गर्न खोजिनु, कुर्सीमा वर्षौँसम्म जरा गाडेर बस्नु, नयाँ पिंढी र पुस्तालाई अवसर नै नदिनु जस्ता थुप्रै कारणले जनताले सोचे जस्तो देशमा उन्नति र प्रगति हुन सकेन।

देशको समृद्धिको लागि सबै राजनीतिक दलहरू एकजुट भएर योजनाबद्ध विकासमा लाग्नुपर्नेमा केवल सत्ताको हानथाप र लुछाचुँडीमा मात्र लागे, यसैले आज नेपालको राजनीति अराजनीति र लाजनीतिमा परिणत हुन पुगेको छ। आज नेपाली जनताको नजरमा कुनै पनि पार्टी विश्वासयोग्य छैनन्। यी पार्टीहरूप्रति जनआक्रोश पैदा भएको छ। यति हुँदा पनि पार्टीहरू अझै सच्चिन सकेनन् भने यी आफैं नसकिएलान् भन्न सकिन्न।

अहिलेका जनता कुनै पनि पार्टीका पकेटका भोटर बन्नेवाला छैनन्। केही जिम्मेवार भनिने दलहरूले गठबन्धनका नाममा लोकतन्त्रलाई नै बन्धक बनाई यसैलाई नै भोट दिनुपर्नेछ भनेर जबर्जस्त गर्दैछन्। अहिलेका जनता धेरै सचेत भएका छन्। अब पनि आगामी निर्वाचनमा दलहरूले विगत जस्तै मनपरी ढंगले टिकट वितरण गरे भने उनीहरूले ठूलो राजनैतिक मूल्य चुकाउनुपर्ने देखिन्छ।

अब जनता दशकौंदेखि पद र सत्ता ओगटेर मात्र बसेका एउटै व्यक्तिलाई पुनः निर्वाचित गराउने पक्षमा छैनन्। अबको निर्वाचनमा पार्टीभित्र र बाहिरबाट धेरै विद्रोहका स्वरहरू निस्कँदै छन्। अब पनि दलहरूले सचेत भएर जनताको भावना बुझेनन् भने पत्तासाफ हुने सम्भावना नै देखिन्छ।

जनताबाट नै नट फर अगेन र इनफ इज इनफ आवाजहरू सर्वत्र घन्किएका छन्। अब त अति भो, अब यी चाहिएनन् भन्दाभन्दै पनि दलहरू जबर्जस्त उही र उस्तै पुरानै अनुहारलाई अगाडि सार्छन् भने गत स्थानीय निर्वाचनमा दलहरूले काठमाडौं, धरान र धनगढीको जस्तो परिणाम देशभरि भोग्नुपर्नेछ।

नेपालका केही दलका सीमित व्यक्तिले दशकौंदेखि नेपालको प्रजातान्त्रिक व्यवस्थालाई नै आफ्नो निजी सम्पत्ति जस्तो बनाएर प्रजातन्त्र र लोकतन्त्रको नाममा एकल मनपरीतन्त्र चलाउँदै आएका छन्। दलहरू अब आउने निर्वाचनमा फेरि पनि तिनै असफल र अक्षम र्‍याले र सिंगानेलाई अघि सारी आए भने ठाउँको ठाउँ हार्ने निश्चित छ।

अहिलेको चुनावी माहोल र अभियान पहिलेभन्दा भिन्न रूपमा देखा पर्दैछ। जनताका आक्रोश र स्वतन्त्र उम्मेदवारका स्वरहरू निकै घन्किसकेका छन्। अहिलेको नयाँ पुस्ता निकै सुझबुझसहित पुरानो पुस्ताको विरुद्धमा चुनावी मैदानमा उत्रिएका छन्।

राजनीतिक दलहरूले झापामा खड्कप्रसाद ओलीको विरुद्धमा उठेका युग पाठक र डडेल्धुरामा शेरबहादुर देउवाको विरुद्धमा उठेका सागर ढकालको उम्मेदवारीलाई सामान्य रूपमा लिनुहुँदैन। पार्टीमा हेभिवेट भनिएका यस्ता थुप्रै नेताका विरुद्धमा क्षमतावान युवाशक्ति चुनावी मैदानमा देखा पर्दैछन्।

अब पनि ज्योतिषले कसैलाई तीन वा सातपटक प्रधानमन्त्री बन्छ भनेको आधारमा वा कुनै गुटले यसैलाई संसदमा पुनः जिताउनुपर्छ भन्ने आधारमा नेपाली जनताले आँखा चिम्लेर देशलाई रित्याएर र आफू रित्तिएर पुनः त्यसैलाई भोट हाल्न सक्दैनन्।

दलहरूले जनताको यो अविश्वास र आक्रोशलाई लत्याई पुनः हैकमी प्रवृत्ति नै देखाउन थाले भने अहिलेका यी दलहरू इतिहासको पानामा सीमित हुन बेर लाग्ने छैन। यदि अहिलेका दलहरू जोगिने हो र पुनः राजनीति नै गर्ने हो भने धेरै कुरालाई सच्याएर चुनावी मैदानमा आउनुपर्छ।

दलहरूले सम्मानपूर्वक तरिकाले आफ्नो दलमा रहेका पहिलो पुस्तालाई अब बिदाइ गर्नुपर्छ। कुनै बेला व्यवस्था परिवर्तनको लागि ठूलो योगदान दिएका यी पहिलो पुस्ताले अब नेपाली राजनीतिलाई नेतृत्व गरी अगाडि लैजान सक्दैनन्। यो पुस्ता पटक–पटकको परीक्षणबाट अयोग्य र असफल भएको छ।

अहिले देशका लागि यो पुस्ता अत्यन्तै भारी बनेको छ। अब देउवा, ओली, प्रचण्ड, माकुने, झलनाथ, बाबुराम, उपेन्द्र, महन्त आदिको नाम बिक्ने अवस्था छैन, यी मात्र होइनन् यिनको पूजा गर्दै पछाडि टाँसिएर बसेका दोस्रो र तेस्रो पुस्ताका टिके र पिछलग्गुलाई पनि जनताले पत्याउन सक्दैनन्।

अब दलहरूले अत्यन्तै सुझबुझका साथ जनताको मनमुटुमा बस्न सक्ने, विश्वास गर्न योग्य, समाजसेवाको भावना भएका, इमानदार, क्षमतावान र नयाँ पुस्ताको नेतृत्व गर्न सक्ने योग्य व्यक्तिलाई खोजेर अनि रोजेर उम्मेदवारको लागि अगाडि सार्नुपर्छ। नत्र दलहरू मंसिर ४ गतेको निर्वाचनमा नराम्ररी पछारिने संकेत स्पष्ट देखिएको छ।

(भर्जिनिया, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?