+
+

‘ऐना झ्यालको पुतली’ले कमायो करोड, ओस्कारमा सिफारिसपछि विदेशमा बढ्यो माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १३:०४

काठमाडौं । दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ ।

तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा ‘डिमान्डेड’ भएको छ ।

नेपालीभाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जनाएका छन् । निर्माता पौडेलका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड अधिकार बिक्री भएको छ भने जापानमा फिल्म केही समयअघि नै बिक्री भइसकेको छ ।

निर्माता पौडेलले अस्ट्रेलिया र न्युजिल्याण्डमा फिल्म प्रदर्शन अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी दिएका छन् । दुई देशका लागि १५ लाख रुपैयाँ हाराहारीमा यसको प्रदर्शन अधिकार बिक्री भएको निर्माता पौडेलले जनाएका छन् ।

यसैगरी फिल्म साउदी अरब, दक्षिण कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् । भर्खरै नेपालबाट ९५ औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार)का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट एक करोड हाराहारी ग्रस गरेको छ ।

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनोट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्योबाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो ।

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु बिष्टबाहेक सबै नयाँ कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?