+
+

कुन सेलिब्रिटीले कहाँ, कसरी मनाउँदैछन् दशैं ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १४:०७

काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैं सुरु भएको छ । नवरात्रको पहिलो दिन आज (सोमबार) घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ ।

बजार र घरमा दशैंको चहलपहल सुरु भएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म दशैंको लागि व्यस्त हुन थालेका छन् । दशैंमा टीका लगाउने, घुमघाम गर्नेदेखि आ–आफ्नो योजना सेलिब्रिटीले बुन्न थालेका छन् ।

अहिले मुलुकभर फैलिएको डेंगु संक्रमणबाट कतिपय सेलिब्रिटी प्रभावित भएका छन् भने केही सेलिब्रिटीले दशैं योजनाबारे अनलाइनखबरसँग कुरा गरेका छन् । अनि केही सेलिब्रिटी भने दशैंकै बेला विदेश दौडाहा थाल्दैछन् ।

घरमै आराम गरेर दशैं बिताउँछु’

दीपकराज गिरी, अभिनेता

डेंगु संक्रमण भएको थिएँ । निको भइसके पनि अझै १५ दिन आराम गर्नैपर्छ । घरमै बसेर प्लेटलेट्स, सेता र राता रक्तकोष बढाउनुपर्नेछ । मलाई लाग्छ, घरघरमा डेंगु बिरामी छन् । सरकार चुनाव भन्दैछ । सचेत नागरिकको अवस्था नाजुक छ । हामीलाई यस्तो छ, सामान्य मान्छेलाई कति गाह्रो भएको होला । आराम गर्नुपर्ने भएकाले होला, अन्य योजना छैन । दशैंलगत्तै ‘छक्कापञ्जा ४’को बाँकी सुटिङ गर्नुपर्नेछ । सुटिङको लागि पनि स्वस्थ हुनुपर्नेछ । अहिले ज्वरो नभएपछि शरीर गाल्दो रहेछ । दशैंमा फिल्म हेर्ने र आफ्नै फिल्मको तयारी घरमा बसेर गर्छु ।

यसपटक चुनावी दशैं

रेखा थापा, अभिनेत्री तथा राप्रपा नेतृ

यसपटक मेरो दशैं चुनावमय हुनेछ । ठूलाको आशिर्वाद लिने तथा देश र जनताको सेवामा समर्पित हुने उद्देश्यसँग अघि बढेको छु । दशैंमा सबैको घरदैलोमा पुग्ने मेरो योजना छ । यसपटकको दशैं विशेष छ । अघिल्ला दशैंमा म जनता र दर्शकको माझमा हुन्थें । हल–हलमा जान्थें । अबदेखि हलमा होइन, प्रत्यक्ष म आफैं घरघरमा पुग्छु । टीका लगाउन मोरङ नै जान्छु । म अहिले घोषणापत्र बनाउन काठमाडौं आएको छु । दुई–तीन दिनमा जान्छु ।

नयाँपुस्तासँग दशैं मनाउँछु

मनोज गजुरेल, हास्य कलाकार

दशैं यसपटक काठमाडौंमै हुन्छ । सबै परिवार काठमाडौंमै छौं । दशैं छेकोमा ताप्लेजुङ र झापामा कार्यक्रम छ । टीकाको दिनमा काठमाडौंमा हुन्छु । दशैंमा खानपान हुन्छ । दहीच्युरा खाने, मासु खानेले मासु खाने । मलाई सामान्य पारिवारिक हिसाबले बसेर खाँदा जे–जे रुच्छ, पच्छ सबै खाने । सिस्नुपानी देउसीका लागि सिर्जना लेख्ने काम हुन्छ । आमाको हातबाट टीका लगाउँछु । अघिल्ला दशैंभन्दा खास भिन्न त हुँदैन । पोहोर-परार हजुरबुवाहरुबाट टीका हुन्थ्यो । अहिले आमा हुनुहुन्छ । नयाँ पुस्तासँग टीका लगाउँछु । म खाने कुरामा ननभेज हुँ । म अहिले सेमी–भेजेटेरियन हुँ ।

पिङ खेल्छु र पेजेन्टको तयारी पनि गर्छु

सरिशा श्रेष्ठ, मिस नेपाल अर्थ

मेरो अन्तर्राष्ट्रिय पेजेन्ट आउन लाग्यो, एक महिना मात्र बाँकी छ । त्यसको तयारी चलिरहेको अहिले । यसपटक दशैं त्यस्तो राम्रोसँग मनाइँदैन होला सायद । दशैंमा घरपरिवारसँग समय बिताउन पाइन्छ । दशैंले गर्दा केही फुर्सद पनि हुन्छ । म ननभेज नै हुँ । दशैंमा घरमा जे बनाइन्छ आमाको हातबाट त्यही खाइन्छ । नेवारी खाजा त विशेष नै भइहाल्यो । घरमा भेटघाट हुन्छ, त्यसमा इन्जोय गरेर खाने काम हुन्छ । यसपटक चाहिं घुमघाम हुन्न । पहिला महालक्ष्मीस्थानतिर गएर पिङ खेल्थें, अहिले भैंसेपाटी गएर पिङ खेल्छु, तास अलिकति खेल्छु ।

काठमाडौंमा पहिलो दशैं

प्रमोद खरेल, गायक

सामान्य रुपमै दशैं मनाउँछु । यसपटक टीका काठमाडौंमै हुन्छ । बुवाममीकै हातबाट टीका लगाउँछु । आज चितवनमा कन्सर्ट छ । पर्सि (बुधबार) म कुवेत जाँदैछु । फूलपातीमा कुवेतबाट फर्कन्छु । फूलपातीको दिन झापामा शो छ । नवमीको दिनमा म सिन्धुपाल्चोक जाँदैछु । म ननभेज हुँ । ननभेज भए पनि म मटनभन्दा बढी चिकेन नै मन पराउँछु ।

दशैंमा धेरै चाहिं खाँदिन । दशैंमा बस्ने गरी हामीले भ्वाइस (द भ्वाइस अफ नेपाल)को सुटिङ सकेका छौं । दशैंपछि भ्वाइसको काम हुन्छ । टीकाको दिनमा अहिलेसम्म काठमाडौंमा थिइनँ । सधैं भ्यालीबाहिर झापामा मनाउँथे । यसपटक काठमाडौंकै दशैं हेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?