+
+
कास्की–१ मा नयाँ अनुहारको खोजी :

कांग्रेसका पुराना पछि हट्दै, एमालेका खगराज दोधारमै

कास्की-१ ले कुनै पार्टीलाई प्रभाव क्षेत्र वा लालकिल्ला भन्ने अवसर दिएको छैन । यो क्षेत्रले आलोपालो जस्तो गरी चुनाव जिताउँछ । यहाँबाट चुनाव जितेकाहरुले मन्त्री बन्ने अवसर पनि पाएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असोज १० गते २१:३४
नेपाली कांग्रेसका नेता तारानाथ रानाभाट, एमाले नेता खगराज अधिकारी र कांग्रेस नेता यज्ञबहादुर थापा ।

१० असोज, पोखरा । २०४८ सालयता भएका निर्वाचनमा कास्की क्षेत्र नम्बर १ नेपाली कांग्रेसबाट दुई व्यक्तिको वरिपरिमात्र घुमिरह्यो । ६ मध्ये सुरुका ३ वटा निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाट चुनाव लडिरहे । २०६४ यता लगातार तीन पटक यज्ञबहादुर थापाले टिकट पाए ।

नेकपा एमालेबाट त झन् एक पटकबाहेक खगराज अधिकारीले मात्रै चुनाव लडिरहेका छन् । कास्की क्षेत्र नम्बर १ कांग्रेसका तारानाथ र यज्ञबहादुर तथा एमालेका खगराजको वरिपरीमात्रै घुमिरहेको छ ।

२०४८ मा तारानाथ र खगराजबीच पहिलो पटक चुनावी प्रतिस्पर्धा भएको थियो । त्यो बेला तारानाथले चुनाव जिते र पछि मन्त्री नै बने । २०५१ सालमा मध्यावधि निर्वाचन भयो । त्यो निर्वाचनमा उनै तारानाथ र खगराज प्रतिस्पर्धामा उत्रिएका थिए । अघिल्लो निर्वाचनमा हारको क्षतिपूर्ति उठाउँदै खगराजले पहिलो पटक संसदमा प्रवेश पाए ।

२०५६ सालको निर्वाचनमा उनै तारानाथ र खगराजबीच प्रतिस्पर्धा भयो । तारानाथले खगराजलाई हराएनन् मात्रै, सभामुख बने । माओवादी सशस्त्र संघर्षका कारण ८ वर्ष निर्वाचन हुन पाएन ।

तारानाथ रानाभाट

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा कास्कीमा खरो नेताका रुपमा परिचय बनाएका यज्ञबहादुर थापाले तारानाथलाई उछिनेर कांग्रेसबाट टिकट लिए एमालेबाट उनै खगराज प्रतिस्पर्धी बने भने माओवादीबाट देव गुरुङ उम्मेदवार थिए ।

पहिलो संविधान सभाको निर्वाचनमा देव गुरुङ विजयी भए । मनाङ र कास्की–१ क्षेत्रबाट चुनाव लडेका गुरुङले मनाङ रोजे ।

२०६५ मा भएको उपनिर्वाचनमा माओवादीकै ‘लान्टिन कृष्ण’ भनेर चिनिएका कृष्णबहादुर गुरुङले चुनाव जिते । उपनिर्वाचनमा कांग्रेसबाट दीपक गुरुङ र एमालेबाट शालिकराम पौडेल उम्मेदवार थिए ।

२०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा एमालेका मानबहादुर जिसी उम्मेदवार बन्दा कांग्रेसले भने यज्ञबहादुर थापालाई टिकट दियो । चुनाव जितेर थापाले संसदको यात्रा थाले । २०७४ को निर्वाचनमा एमालेबाट खगराज कास्की क्षेत्र नम्बर १ मा तेस्रो पटक उम्मेदवार बने र चुनाव जिते पनि ।

फेरिइरहने नजिता र मन्त्री पाइरहने क्षेत्र

कास्कीले कुनै पार्टीलाई प्रभाव क्षेत्र वा लालकिल्ला भन्ने अवसर दिएको छैन । यो क्षेत्रले आलोपालो जस्तो गरी चुनाव जिताउँछ । यहाँबाट चुनाव जितेकाहरुले मन्त्री बन्ने अवसर पनि पाएका छन् ।

०४८ को निर्वाचन जितेका रानाभाट मन्त्री बने, अर्को पटक सभामुख भए । यो क्षेत्र नरोजे पनि पहिलो संविधान सभाको निर्वाचनमा जितेका देव गुरुङ मन्त्री बनेका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा चुनाव जितेका यज्ञबहादुर कानुनमन्त्री बने भने चुनाव नै नलडेका खगराज स्वाथ्यमन्त्री बन्ने अवसर पाए ।

२०७४ चुनाव जितेका खगराजले नेकपा विवादले पार्टीमा संकट निम्तिएका बेला केही दिन भएपनि गृहमन्त्री हुने मौका पाएका थिए । यसरी हेर्दा यो निर्वाचन क्षेत्र कास्कीको यस्तो भाग्यमानी क्षेत्रमा पर्छ, जसले मन्त्री पाइरहेको छ ।

यसपटक को ?

२०७४ सालको निर्वाचनमा एमालेका खगराज १३ हजार ४१६ भन्दा बढी फराकिलो मतान्तरले विजयी भएका थिए । एमाले र माओवादीले साझा उम्मेदवार बनेका अधिकारीले ३९ हजार २४२ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुरले २५ हजार ८२६ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनको मत परिणाम हेरेर अहिले आंकलन गर्ने अवस्था भने छैन । माओवादी अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा छ भने एमालेबाट फुटेको एकीकृत समाजवादी पनि छ । स्थानीय तहमा वडाध्यक्षलाई प्राप्त नतिजालाई हेर्दा सबभन्दा बलियो कांग्रेस नै देखिएको छ ।

कास्की-१ मा पोखरा महानगरका १० वटा वडा, मादी गाउँपालिका १२ र रुपा गाउँपालिकाको ७ वडा पर्छन् । यी वडाका अध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा कांग्रेसको ३१ हजार ७२ मत छ भने नेकपा एमालेको २८ हजार ३४६ ।

माओवादीका वडाध्यक्षका उम्मेदवारले ३ हजार १७० मत प्राप्त गरेका छन् । गठबन्धनका कारण पोखरा महानगर, रुपा र मादीका अधिकांश वडामा वडाध्यक्षका उम्मेदवार नै नउठाएकाले आफ्नो मत देखिएको माओवादीका नेताहरु बताउँछन् । एकीकृत समाजवादीका पनि वडामा उम्मेदवार थिएनन् ।

यो क्षेत्रमा राप्रपाका वडाध्यक्षका उम्मेदवारले पनि १ हजार ७ सयभन्दा बढी मत ल्याएका थिए । राप्रपाको मत एमालेले पायो भने पनि कास्की १ मा गठबन्धन नै अगाडि हुने देखिन्छ ।

कांग्रेसमा नयाँ आउने पक्काजस्तै

सत्तारुढ गठबन्धनले सिट बाँडफाँट नटुंग्याए कारण कास्की १ कसको भागमा पर्छ भन्ने मुस्किल छ । तर कास्की १ कांग्रेस, २ एकीकृत समाजवादी र ३ माओवादीले पाउने सम्भावना बढी छ ।

कास्की-१ माओवादीले पनि दाबी गरिरहेको छ । यो क्षेत्रमा यशोदा सुवेदी गुरूङको नाम एक नम्बरमा र राजकाजी गुरुङको नाम दुई नम्बरमा सिफारिस भएको छ । दुबै १ मा लिएर उम्मेदवार हुन चाहन्छन् । क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्य चुनिएर अर्थमन्त्री रहेका रामजी बराल भने कास्की ३ नै लिने र आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने कसरतमा छन् ।

तर, कांग्रेसले क्षेत्र नम्बर १ कुनै पनि हालतमा नछोड्ने दबाब दिइरहेका छन् र अहिलेसम्म शीर्ष नेताहरुबीच पनि यो क्षेत्र कांग्रेसलाई छोड्न सहमत रहेको नेताहरुले बताइरहेका छन् ।

कास्की-१ कांग्रेसको भागमा परेको अवस्थामा टिकट कसले पाउला ? कांग्रेसबाट सुरुमा तारानाथ र पछि यज्ञबहादुर थापाले मात्र अवसर पाइरहे । सभामुखसम्म भएका रानाभाट पछिल्लो समय राजनीतिको केन्द्रबाट निरन्तर ओरालो लागिरहेका छन् । यद्यपि यसपटक उनलाई टिकट दिनसक्ने चर्चा थियो । तर समानुपातिकमा सिफारिस भएकाले उनको सम्भावना कम छ ।

पछिल्ला ३ आम निर्वाचन लडेको र एक चुनाव जितेका यज्ञहादुरको नाम यस पटक पनि प्रत्यक्षमा सिफारिस भएको छ । तर उनी स्वयं भने चुनाव लड्न कुनै इच्छा नै नरहेको बताउँछन् । ‘मैले चुनाव लड्न अनिच्छा व्यक्त गरेको छु । साथीहरुले भनेर नाम सिफारिस भए पनि म यसपालि चुनाव लड्ने इच्छा छैन । ममात्रै कति लड्ने भन्ने हो ?’ उनले अनलाइनखबरसँग भने ।

यज्ञबहादुर थापा

स्थानीय तहको चुनावताका नै उनले कास्की–१ को कांग्रेसको चुनावी राजनीति तारानाथ र आफूबीच मात्र केन्द्रित भएकाले यसपटक उम्मेदवार नहुने उनले बताएका थिए । तारानाथ र यज्ञबहादुर दुबै हट्दा कास्कीमा यसपटक कांग्रेसबाट नयाँ अनुहार उम्मेदवार हुने देखिन्छ ।

यो अवस्थामा सबभन्दा बलियो उम्मेदवारको रुपमा सहमहामन्त्री जीवन परियारलाई हेरिएको थियो । २०७४ मा कास्की १ को ‘क’ मा माओवादीका दीपक कोइरालासँग पराजित भएका उनले यो पटक प्रत्यक्ष लड्न चाहेका पाि थिए । तर उनको नाम समानुपातिकमा परेकाले कास्की कांग्रेसका पूर्व सभापति कृष्ण केसीलाई सम्भावित उम्मेदवार मानिएको छ ।

रामचन्द्र पौडेल निकट भएको र सो क्षेत्रमा भिजेको नेता भएका कारण उनले टिकट पाउन सक्ने नेताहरु बताउँछन् । ‘यसपटक मैले नै प्रतिनिधि सभाको टिकट पाउने हो, अरु पनि प्रतिस्पर्धामा हुनुहुन्छ तर नेताहरुले पनि तँ नै बलियो पात्र होस् भन्नुभएको छ,’ केसीको दाबी छ, ‘म जितेर पनि देखाउने छु ।’

अघिल्लो निर्वाचन कास्की–१ प्रदेश सभा ‘ख’ मा एमालेका मनबहादुर गुरुङसँग उनी पराजित भएका थिए ।

कास्की–१ का लागि टिकट ल्याउने कसरत गरिरहेका अर्का सम्भावित पात्र हुन्, गुरु बराल । उनी अघिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर २ ‘क’ मा एमालेका कृष्ण थापासँग पराजित भएका थिए । उनी कास्कीमा कांग्रेस सभापति शेरबहादुर देउवाको निकट मानिन्छन् ।

केसी र बराल बाहेक कास्की कांग्रेस सभापति किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, बीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, होमबहादुर बसेल विमल, सुनील गुरुङ, चतुराखर अधिकारीको नाम केन्द्रमा सिफारिस भएको छ ।

एमालेका खगराज दोधारमै

कास्की क्षेत्र नम्बर १ मा एमालेबाट पुरानै अनुहार खगराज अधिकारीको नाम सिफारिस भएको छ । उनको मात्र प्रतिनिधिसभा सदस्यसँगै प्रदेशसभा सदस्यका लागि पनि सिफारिस भएका छन् ।
निकटवर्तीहरुका अनुसार अधिकारी स्वयं मुख्यमन्त्री बन्ने एजेण्डासहित प्रदेशमा चुनाव लड्न चाहन्छन् ।

तर गण्डकी एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारी गुटको प्रभाव छ । र पूर्व मुख्यमन्त्रीसमेत रहेका उपमहामसचिव पृथ्वीसुब्बाको नाम प्रदेशमै सिफारिस भएको छ । एमाले पदाधिकारीले कम्तीमा संघको चुनाव लड्ने अनुमान खगराजलगायत धेरै नेताको थियो ।

नेताहरुका अनुसार खगराजले एमालेका पदाधिकारीलाई संघमै लडाउनुपर्ने र आफू यसपटक प्रदेशमा मुख्यमन्त्री बन्ने एजेण्डासहित चुनाव लड्ने अध्यक्ष इच्छा केपी शर्मा ओलीसमक्ष राखेका छन् ।

खगराज अधिकारी

तर पृथ्वीसुब्बाले प्रदेश नै रोजेपछि खगराज प्रतिनिधिसभा कि प्रदेशसभा भन्ने अलमलमा छन् । पृथ्वीसुब्बाले प्रदेशकै टिकट पाए प्रतिनिधि सभामा खगराज नै उठ्ने पक्का छ । तर उनी प्रदेशमा टिकट लिए प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एमालेबाट नयाँ अनुहारले अवसर पाउने छन् ।

खगराज भने आफूले जुन क्षेत्र पाए पनि जित्ने दाबी गर्छन् । ‘म संघमा टिकट पाए पनि जित्न सक्छु र प्रदेशमा मुख्यमन्त्री बन्नुपर्छ भनेरै साथीहरुले नाम सिफारिस पनि गर्नुभएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘नयाँ आउनुपर्छ भन्ने मान्यता म पनि राख्छु तर पार्टीले नै उठ भन्यो भने उठ्दिन भन्न पाइँदैन ।’

एमालेबाट कास्की–१ मा झलक सुवेदीको नाम पनि सिफारिस भएको छ । पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका सुवेदी लामो समयदेखि राजनीतिमा भन्दा लेखनमा सक्रिय थिए ।

एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, पुष्पज्योति ढुंगाना, मनबहादुर गुरुङ, बालसिंह काउछामगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मीलन सुवेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीको नाम सिफारिस भएको छ ।

‘एमालेभित्र पनि अहिले नयाँ अनुहारको खोजी भइरहेको छ । ०४८ सालदेखि सधैं एउटै मान्छेलाई कति भोट हाल्नु, अरुले पालो पाउनुपर्दैन ? अनि यसरी नेतृत्वमा नयाँ आउँछन् ?’ अर्का एक आकांक्षीले भने, ‘यसपटक एमालेबाट कास्की–१ मा अरुले पालो पाउनुपर्छ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?