+
+

सरकारी स्रोतबाट पूर्व-पश्चिम रेलमार्ग बनाउन नसकिने यातायात मन्त्रालयको निष्कर्ष

अहिलेकै अवस्थामा पानी जहाज पनि चलाउन सकिन्न : पूर्वाधार मन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको आफ्नै स्रोतबाट पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १४:५५

११ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको आफ्नै स्रोतबाट पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने निष्कर्ष निकालेको छ । यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सरकारी ढुकुटी प्रयोग गरेर पूर्व–पश्चिम रेलमार्ग निर्माण असम्भव रहेको निष्कर्ष सुनाएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटमा उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न १० वर्ष समयावधि र २४ खर्ब रुपैयाँ खर्च लाग्ने देखिएको बताए । ‘त्यो अवधिको मूल्य समायोजन र जग्गा प्राप्तिसमेत गरेर त्यो परिमाणको खर्च हुने मन्त्रालयले अनुमान गरेको छ’ उनले भने ।

यत्रो खर्च गरेर निर्माण गरिने रेलमार्गबाट हुने मुनाफा भने नदेखिएको उनको भनाइ छ ।
त्यति मात्र होइन, संघीय सरकारको वार्षिक पूँजीगत बजेटको आकार नै करिब ४ खर्ब रुपैयाँको हाराहारीमा छ । ‘अन्य क्षेत्रमा लगानी नगरी पूर्व–पश्चिम रेलमार्ग निर्माणमा मात्र पूँजीगत खर्च लगाउने हो भने पनि ६ वर्षको बजेट छुट्याउनुपर्छ । जुन सम्भव देखिदैन’ उनले थपे ।

औचित्य र आवश्यकता हो भनेर जग्गा प्राप्ति गरी निर्माण गर्ने हो भने पनि न्यूनतम २४ खर्ब रुपैयाँ नभई पूर्व पश्चिम रेलमार्ग निर्माण नहुने उनको भनाइ छ । ‘देशको बजेट नै ४ खर्बको छ, खर्च वर्षमा ३ खर्ब रुपैयाँ मात्र भइरहेको छ । यस्तो अवस्थामा त्यो रेलमार्ग निर्माण सम्भव छैन’ उनले भने । अहिले नेपालको आर्थिक अवस्था र स्रोतको उपलब्धताको हिसाबले निर्माण गर्न नसकिने उनले स्पष्ट पारे ।

कुनै पनि व्यवसाय थालनी गर्दा त्यसबाट हुने नाफा घाटा, भविष्यलगायतका विषयमा सयौं पटक सोचेर मात्र हात हाल्नुपर्ने भन्दै उनले कर्जा लिएर डुब्ने सम्भावना रहने उनको भनाइ छ ।
त्यस्तै, राज्यले नाफालाई मात्र प्राथमिकता दिएर लगानी नगरे पनि त्यसको दीर्घकालीन लाभ–हानी भने स्वभाविक हेर्नेमा उनले जोड दिए । ‘न्यूनतम पनि त्यो आयोजना बनेपछि त्यही आयोजनालाई धान्न सक्ने खर्च उठ्ने न्यूनतम सर्त हुन्छ’ उनले थपे ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइले सरकारले निर्माण नगरे पनि अन्य कुनै देश वा कम्पनी आएर, तोकिएको भाडादर लिने गरी पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण र सञ्चालन गर्ने प्रस्ताव गरेको खण्डमा भने दिन सकिने उल्लेख गरे । त्यस्तै, अहिले पनि कुर्था जनकपुर जयनगर रेल सञ्चालन घाटामा रहेको उनको भनाइ छ ।

पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईले पानी जहाज सञ्चालन पनि नेपालमा सम्भव नरहेको ठोकुवा गरे । ‘केहीले बर्खे पानीमा कागजको पानीजहाज चलाएको र यथार्थमा नै चल्ने हल्ला गरेको सुनिन्छ, तर त्यो सम्भव नै छैन’ उनले भने । कुन खोला खनेर जहाज चलाउने ? लगानी गरे पनि पानी जहाज नचल्ने उनले घोषणा गरे ।

प्लास्टिक वा रबरको डुंगा भने चलाएर आनन्द लिन सकिने उनको भनाइ छ । पानी जहाज कार्यालयमा थोरै जनशक्ति रहको भन्दै उनले कोलकात्तादेखि नेपालको श्रीलंका टापुसम्म राष्ट्रिय झण्डा राखेर साना जहाज भने सम्भव रहेको उनको भनाइ छ ।

भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले गत आर्थिक वर्षमा पूँजीगत खर्च न्यून भए पनि चालु आर्थिक वर्षमा बढ्ने दाबी गरे । त्यस्तै, मन्त्रालयले नीतिगत सुधार, कर्मचारी थप गर्ने, ठेक्कामा नयाँ मोडल कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिए । त्यस्तै, मन्त्रालयले सडक बोर्ड नेपालको खातामा भएको सडक मर्मतको रकम खर्च गर्न अर्थ मन्त्रालयले अनुमति नदिदा समस्या भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?