+
+

यसकारण आवश्यक छ डिजिटल बैंकिङ साक्षरता

सबै उद्यमी मनहरूलाई डिजिटल माध्यमबाट बैंकिङमा छिराउन सकियो भने यसले बैंकिङ विकाससहित देशको वैज्ञानिक कर प्रणालीको दायरामा ल्याउन सहज हुन्छ ।

यादव आचार्य यादव आचार्य
२०७९ असोज १३ गते ११:४४

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा-सुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ-नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् ।

डिजिटल बैंकिङ संस्थाको आन्तरिक स्वचालन (अटोमेसन) मात्र नभएर भुक्तानी प्रणाली (पेमेन्ट सिस्टम) को स्तरोन्नति पनि हो । नेपालमा वित्तीय पहँुच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोग आवश्यक छ ।

बैंक तथा वित्तीय संस्थाको सङ्ख्यामा भएको वृद्धिसँगै ती संस्थाहरूले प्रदान गर्ने सेवा-सुविधामा पनि प्रतिस्पर्धी वातावरणमा आफ्ना बैंकिङ सेवामा विस्तार गर्नुपर्ने आवश्यकता बैंकहरूमा थपिंदै गएको छ ।

यसको परिणामस्वरूप बैंकिङ प्रणालीमा पनि प्रविधिको आधुनिकतालाई पछ्याउँदै सेवामा विस्तार गर्ने क्रम तीव्र बढ्दै गएको छ । अब बैंकहरू सुरुका दशकहरूमा जस्तो पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतालाई कमि गर्न एटीएम, क्यास डिपोजिट मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, क्यूआर पेमेन्ट जस्ता प्रविधिको आगमनले बैंकिङ प्रणालीमा सरलताका साथै सहजता ल्याएको छ ।

नेपालमा डिजिटल बैंकिङको इतिहास खासै लामो छैन । सन् २००२ मा कुमारी बैंकले ई-बैंकिङ सेवा, लक्ष्मी बैंकले सन् २००४ मा एसएमएस बैंकिङ सेवाको सुरुवात गरेसँगै डिजिटल बैंकिङको प्रयोग सुरु भएको हो । त्यसपछि क्रमशः बैंकहरूले सेवामा समयानुकूल परिष्कृत गर्दै हालको डिजिटल बैंकिङसम्म आइपुगेको छ ।

कोभिड-१९ ले उत्पन्न विश्वव्यापी महामारीले चुनौती भित्र अवसरको खोजी गर्ने बाध्यात्मक परिस्थिति सृजना गर्‍यो । फलस्वरूप नेपालमा पनि डिजिटल बैंकिङले ठूलो फड्को मार्‍यो । जति समस्या देखा पर्छन् त्यसपछि नै समाधानका उपायहरूको खोजीले अवसर पनि सृजना गरिरहेको हुन्छ । यो तथ्य कोभिड-१९ ले हामीलाई सिकाइ हाम्रो बानीमा समेत परिवर्तन ल्याएको छ । वर्क फ्रम होम, भर्चुअल मिटिङ, ई-लर्निङको हामी परिकल्पना नै गर्न सकेका थिएनौं जो आज सम्भव भयो ।

हाल बैंकहरूको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड स्क्यान जस्ता माध्यमबाट लाइनमा चेक बोकी रकम निकाल्ने, जम्मा गर्ने झन्झट नगरी सरल र सुरक्षित तरिकाबाट कारोबार गर्न सकिने भएको छ । बैंकले आफूले प्रवाह गर्ने सेवा-सुविधा तथा बैंकिङ सम्बन्धी जिज्ञासाहरूको जवाफ दिन आप्fm्नो वेबसाइट, सामाजिक सञ्जालका माध्यमबाट चौबीसै घण्टा आफ्नो खाताको विवरण, मौज्दात, नजिकको शाखा कार्यालय, सम्पर्क न्ाम्बर, एटीएम, ब्याजदर सम्बन्धी जानकारी दिने आर्टिफिसियल इन्टेलिजेन्स सेवा समेत सञ्चालन गरेका छन् । बैंक तथा वित्तीय संस्थाको संस्थागत संरचना, व्यावसायिक रणनीति एवं व्यवस्थापकीय निर्णय प्रक्रियामा समेत प्रविधिले निर्णायक भूमिका खेलेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रदेशगत तथ्याङ्क अनुसार नेपालमा जम्मा बैंक तथा वित्तीय संस्थाका ५ हजार ६५९ शाखाहरूबाट औसत शाखा जनसङ्ख्या करिब ५ हजार २६९ जनामा आइपुगेको छ । निक्षेप खाता सङ्ख्यामा उल्लेख्य वृद्धि भई १ करोड ९१ लाख ११ हजार पुगेको छ । व्यक्तिगत खाताको सङ्ख्या कुल जनसङ्ख्याको ९३.४८ प्रतिशत देखिन्छ तर विभिन्न कारणले गर्दा तीमध्ये करिब ३४ प्रतिशत खाताहरू हाल निष्क्रिय अवस्थामा छन् । प्रदेशगत रूपमा शाखाको उपस्थिति हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा धेरै शाखा छन् भने कणर्ाली प्रदेशमा कम शाखा भएको तलको तथ्याङ्कले देखाउँदछ ।

क्र.स. प्रदेश जनसङ्ख्या शाखा खाता एटीएम इन्टरनेट बैंकिङ मोबाइल बैंकिङ

क्र.स.      प्रदेश   जनसङ्ख्या    शाखा  खाता एटीएम       इन्टरनेट बैंकिङ  मोबाइल बैंकिङ 
प्रदेश-१ ४९,४४,०७० ८९७ २५,०५,३७३ १९.७६ ४.३५ ३१.६३
मधेश ६२,५६,१६६ ६०९ २२,४८,२४४ १७.८२ ३.८७ २७.०१
बागमती ६४,३७,७८८ १९०६ ७६,१०,१४६ २६.११ ६.४० ३३.१२
गण्डकी २५,१९,१३९ ७६२ २०,५४,६३१ १४.५० १.२७ ३०.९१
लुम्बिनी ५०,९८,२६२ ९५९ २९,२५,१३७ १५.५६ १.१३ ३३.१५
कर्णाली १८,०९,७८३ २०० ५,४५,०६२ १६.११ ०.५२ ३४.५२
सुदूरपश्चिम २९,३१,२६९ ३६१ १२,२२,८०९ १५.५३ ०.५८ ३३.३९
  जम्मा २,९९,९६,४७८ ५,६९४ १,९१,११,४०२ २०.३५ ३.८६ ३२.०३

स्रोत : ने.रा.बैंक आर्थिक सर्वेक्षण २०२१

विश्वव्यापी रूपमा इन्टरनेट, स्मार्ट फोनको सहज उपलब्धताले नागरिकमाझ डिजिटल बैंकिङ सजिलो भएको छ । डिजिटलाइजेसनका माध्यमबाट सेवामा सहजता, सरलता, कारोबार लागतमा कमि, छिटो-छरितो सेवा, सुरक्षित एवं मानवीय गल्ती कम हुने हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । जसको कारण डिजिटल बैंकिङका प्रयोगकर्ता पनि दिनानुदिन बढ्दै गएको तलको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

क्र.स. विवरण सङ्ख्या
इन्टरनेट बैंकिङ प्रयोगकर्ता १,७०,८६९
एटीएम ४,६३६
एटीएम कार्ड प्रयोगकर्ता १,१०,८०,९५०
क्रेडिट कार्ड प्रयोगकर्ता २,५०,६१८
प्रिपेड कार्ड प्रयोगकर्ता १,०८,१९७

स्रोत  : ने.रा. बैंक २०२१

बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच विस्तार हुँदै गएको हो । मोबाइल बैकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको सङ्ख्या १ करोड १० लाख ८० हजार पुगेको छ । संचालनमा रहेका खातामा डिजिटल बैंकिङको प्रयोग हेर्दा मोबाइल बैंकिङ ३२.०३ प्रतिशत, एटीएमका प्रयोगकर्ता २०.३५ प्रतिशत र इन्टरनेट बैंकिङको प्रयोग जम्मा ३.८६ प्रतिशत मात्र देखिन्छ । इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, पि्रपेड कार्डका प्रयोगकर्ताको सङ्ख्या पनि निरन्तर वृद्धि हुँदै गएको देखिन्छ ।

टेली कम्युनिकेशनमा भएको प्रगति नै डिजिटल बैंकिङलाई ‘बि्रफ’ बैंकिङबाट ‘क्लिक’ बैंकिङ हुँदै ‘टच’ बैंकिङमा पुर्‍याउने आधार हो । सरकारी तहबाट पहिलो पटक नागरिक एप्सको सुरुवात गरेर सरकारबाट प्रवाह हुने सेवा-सुविधालाई एउटै एप्समा समायोजित गर्ने डिजिटल कामले नागरिकमा सहजता बढाएको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकले अमेरिकी ५०० डलर बराबरको डलर पि्रपेड कार्ड जारी गर्न स्वीकृति दिनाले पनि विभिन्न वस्तु तथा सेवाको भुक्तानीमा सहजता ल्याएकोे छ ।

नगदरहित कारोबारमा ठूलो वृद्धि भएकाले गत वर्ष हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब तीन गुणा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड -एनसीएचएल) बाट डिजिटल कारोबार भएको तथ्याङ्कले देखाउँछ ।

करिब ७० प्रतिशत नागरिकमाझ इन्टरनेट सेवाको पहुँच पुगेको नेपालमा करिब ६० प्रतिशत नागरिक माझ मात्र बैंकिङ पहुँच पुगेको छ । बाँकी नागरिकसामु डिजिटल बैंकिङका माध्यमबाट सहज रूपमा सबैको घरघरमा बैंकिङ सेवा पुर्‍याउन संभव छ । यो हाम्रा लागि राम्रो अवसर हो ।

जुन स्थानमा भौतिक रूपमा बैंकको शाखा कार्यालय संचालन गर्न भौगोलिक बनावट, जनसङ्ख्या, बजारको आकार आदिले अनुपयुक्त देखिन्छ, त्यस्तो स्थानमा समेत डिजिटल बैंकिङ माध्यमबाट सेवा विस्तार गर्न सकिन्छ । कर्जा सुविधाहरू पनि नेपालमा प्रायः धितोमा आधारित मात्र छन् जसलाई डिजिटल बैंकिङका माध्यमबाट कारोबार गर्ने बानी विकास गर्न सकियो भने ग्राहकको कारोबारको आधारमा आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट क्रेडिट रेटिङ गरी विना धितो दूरदराजका नागरिकलाई पनि कर्जा विस्तार गर्न आधार बन्न सक्छ ।

हामी प्रत्येक आफैंमा जन्मसिद्ध उद्यमशील छौं । अभाव र आवश्यकताले उद्यमशीलताको सृजना गर्छ भन्ने उक्ति हामीमा सार्थक छ किनकि हामी प्रत्येकमा व्यावसायिक सोच र क्षमता छ । जस्तै ग्रामीण बस्तीमा बस्ने नागरिकहरू आफ्नो अनुकूलतामा घर-घरमा राडी पाखी बुन्ने, डोकोमा फलफूल बिक्री गर्दै हिंड्ने, सडकमा नाङ्गोमा पसल राख्ने प्रशस्तै देखिन्छ । यी सबै उद्यमी मनहरूलाई डिजिटल माध्यमबाट बैंकिङमा छिराउन सकियो भने यसले बैंकिङ विकाससहित देशको वैज्ञानिक कर प्रणालीको दायरामा ल्याउन सहज हुन्छ ।

डिजिटल बैंकिङका यति धेरै अवसर तथा फाइदा रहँदारहँदै पनि चुनौती र समस्या पनि छन् । सबै नागरिकमाझ सरल र सुलभ इन्टरनेटको पहुँच नहुनु, वित्तीय र डिजिटल बैंकिङ साक्षरताको कमी, सुरक्षित डिजिटल बैंकिङ कारोबारसम्बन्धी जानकारीको कमि, सरोकारवाला निकायबाट विद्युतीय कारोबार गर्नका लागि प्रत्साहन गर्ने परिपाटीको कमि, डिजिटल सेवा प्रदायक संस्था (पीएसपी) को कमि, नीतिनियममा परिमार्जनमा सुस्तता जस्ता समस्या छन् ।

देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गरी बैंक तथा वित्तीय संस्थाका सरोकारवालाकोे हित संरक्षण गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सबैका लागि भरपर्दो वित्तीय मध्यस्तता भनेकै बैंक हो भन्ने जनमानसमा भावना अभिवृद्धिका लागि डिजिटल बैंकिङ साक्षरताको अभियानमा लाग्नुको विकल्प छैन ।

(अधिवक्ता आचार्य हाल माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखामा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?