+
+
दशैं सम्झना :

हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

बुद्धि तामाङ बुद्धि तामाङ
२०७९ असोज १३ गते ११:५०

त्यो बेलाको दशैं असाध्यै रमाइलो । दशैं कहिले आउँछ होला ? नयाँ लुगा कहिले लगाउन पाइएला ? टन्न मासु कहिले खान पाइएला ? यस्तो कौतुहलता बोकेर हामी दशैंको दिनगन्ती गरिरहेका हुन्थ्यौं ।

दशैंमा बल्लबल्ल नयाँ लुगा लगाउन पाइन्थ्यो । त्यसबेला नयाँ लुगाको बास्ना कम्ता मन पर्दैनथ्यो । भान्सामा मीठोमसिनो पाक्ने चाड पनि दशैं । टन्न मासु खान पाइने लोभ हुन्थ्यो । त्यसबेला मात्र हाम्रो भान्सामा चामलको भात पाक्थ्यो । वर्षमा यदाकदा मात्र चामलको भात खान पाउँदा त त्यो उल्कै मीठो हुने नि ।

अहिले पो सहरमा ढिंडो खोज्दै हिंडिन्छ । त्यसबेला चाहिं ठीक उल्टो थियो । पहिले पहिले घरमा मकैको भात वा ढिंडो मात्र पाक्ने । ढिंडो र मकैको भात खाँदा–खाँदा वाक्क भएर चामलको भात खोजिन्थ्यो । अनि त्यो अवसर चाहिं दशैंमा जुथ्र्यो ।

अहिले खाजामा चिउरा भन्नासाथ हामी मुख बिगार्छौं । त्यसबेला चिउरा भनेको खास हुन्थ्यो । मासु र चिउरा खानुको स्वाद कम हुन्थ्यो र ?

दशैंको चिउरा भोज

मेरो घर काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ३ मा । त्यहाँ दशैंको रमझम बेग्लै हुन्थ्यो । तामाङ समुदायले दशैंलाई म्हेनिंग भन्ने गर्छन् । घटस्थापनाको दिन आउनुअघि नै गाउँमा पिङ बनाउने तयारी हुन्थ्यो । कोही पिङका लागि डोरी खोज्न त कोही बाँस काट्न हिंड्थे ।

फूलपातीको दिन विशेष चटारो तामाङ समुदायलाई हुने । त्यसदिन हाम्रो आफ्नै विधिअनुसार पूजा गरिन्छ । त्यसदिन भाले काटेर सोल्मा बनाइन्छ । अष्टमीको दिन राँगा काटेर भोज गर्ने, नवमीको दिन भीमसेन पूजा गर्ने गरिन्थ्यो । त्यसदिन कुलवंशका सबैजना भेला हुन्थे । अनि कुखुरा काटेर पूजाआजा गरेपछि रात्रिभोज गरिन्थ्यो ।

दशमीको दिन हामी पनि टीका लगाउने, दक्षिणा लिने गर्छौं । यद्यपि हामीकहाँ सेतो टीका लगाउने गरिन्छ । टीका थापेपछि भोज खाने गरिन्छ । भोजमा चिउरा थपीथपी दिने चलन छ । त्यसदिन खाएर बाँकी रहेको चिउरा पछिका लागि भनेर राख्ने गथ्र्यौं । अनि विद्यालय जाँदा गोजीमा बोकेर खाँदै हिंडिन्थ्यो ।

अग्लो नहुनुको पीडा

दशैंमा सधैं एउटै गुनासो हुन्थ्यो । मेरो शरीर अलि होचो । शरीरको यही बनावटले गर्दा म पिङ खेल्नबाट वञ्चित हुने गर्थें । मलाई चाहिं पिङ खेल्न रहर लाग्ने । तर अरुले खेल्न नै नदिने । उनीहरु भन्थे, ‘सानो मान्छे पिङबाट लड्छ ।’

म खिस्रिक्क हुन्थें । मेरो उदास अनुहार देखेर कहिलेकाहीं ठूला माछेलाई माया लाग्दो हो । उनीहरुले दयामाया गरेर खेल्न दिन्थे ।

दशैंको रौनक

दशैंको बेला निकै रौनक हुन्थ्यो गाउँघरमा । सबैले घर अगाडि सफासुग्घर गर्थें । वर्षामा पलाएको झारजंगल सिनित्तै पारिन्थ्यो । घरको भित्ता माटोले लिपपोत गरेर नयाँ बनाइन्थ्यो । त्यसपछि गाउँमा चिउरा कुट्ने क्रम सुरु हुन्थ्यो ।

यतिबेलादेखि नै दशैंको रंग चढ्थ्यो । हामी केटाकेटीलाई कम्ता रमाइलो लाग्दैनथ्यो ।

दशैंमा तनाव दिने अर्को कुरा हुन्थ्यो गृहकार्य । विद्यालयले दिने गृहयकार्यको कारण खेल्न, रमाउन नपाइएला कि भन्ने पीर । त्यसैले विद्यालयबाट गृहकार्य पाउनासाथ त्यसलाई सिध्याउने हतारो हुन्थ्यो । गृहकार्य सकेको दिन यति खुसी हुन्थ्यौं कि त्यो कुरा म शब्दमा कसरी बयान गरौं ?

दक्षिणा पाएपछि भुँइमा खुट्टा नहुने

दशैंमा घर र मामाघरमा मात्रै टीका लगाउने गरिन्थ्यो । मामाघर नजिकै थियो । म एक्लो भान्जा । मामाघरमा मेरो शान र मान बेग्लै हुने । घर र मामाघरमा टीका लगाएपछि सय रुपैयाँ जति दक्षिणा पाइन्थ्यो । अहो यति पैसा पाएपछि भुईंमा खुट्टै नहुने ।

गोजीमा पैसा बोकेर सुन्तले चकलेट, ल्याक्टो चकलेट किन्न दौडिन्थ्यौं । ल्याक्टो चकलेटको खोल तन्काएर लामो बनाएपछि अर्को चकलेट पाइन्छ भन्ने सुनेका थियौं । त्यसैले चकलेटको खोल तन्काउने गरिन्थ्यो, तर कहिल्यै चकलेट पाइएन ।

मेरो दिदीबहिनी चार जना । उनीहरुको पनि दक्षिणा फकाई फकाई माग्ने गर्थें । त्यो बेलाको कुरा सम्झिंदा अहिले पनि हाँसो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?