+
+

गीत गाइरहेका थिए, नगर प्रहरीले उठाएर लग्यो

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज १३ गते १९:०५

१३ असोज, काठमाडौं । स्ट्रिट सिंगर मञ्जदरस (एमजे) तामाङलाई बुधबार बसन्तपुरबाट काठमाडौं महानगर प्रहरीले पक्राउ गरेर लग्यो ।

उनी ललितपुरकी १३ वर्षिया सुभिता खड्काको उपचारको लागि सहयोग संकलन गर्न बसन्तपुरमा गीत गाइरहेका थिए । काठमाडौं महानगरपालिकाले महानगरमा माग्न नपाइने भन्दै तामाङलाई माइक, लाउडस्पिकरजस्ता सामग्री सहित उठाएर कार्यालय पुर्‍याएको थियो ।

उनले जाउलाखेलस्थित क्यान्सर अस्पतालमा उपचाररत खड्कालाई उपचार जारी राख्न सहयोग आवश्यक परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर सहयोग उठाउँदै आएका थिए । सोही अनुरुप बसन्तपुरमा पनि उनले सहयोगको लागि गीत गाउँदा गाउँदै महानगर प्रहरीले उनलाई उठाउँदा १४ हजार रुपैयाँ जम्मा भइसकेको थियो ।

‘सहयोगको लागि गीत गाएर महानगरले पैसा उठाउन दिएन । गाउँदा गाउँदै उठाएर लग्यो । महानगर प्रहरीको चौकीमा पुर्‍याएर ३–४ हजार जरिवाना मागिरहेको थियो तर मैले दिइनँ । जफत भएका सामग्रीहरु पनि बेलुका फिर्ता गरेको छ’ उनले भने ।

तामाङले सहयोगका लागि कार्यक्रम गर्न स्थान दिन पटक पटक महानगरसँग माग गरेता पनि स्वीकृति नदिइएको बताउँछन । ‘मैले मेयर बालेन दाइसँग पनि भेट गरेको छु । मलाई काठमाडौंको कुनै ठाउँ मिलाइदिनु गीत गाएर सहयोग गर्छु भनेको थिएँ । उहाँहरुले एकदमै बेवास्ता गर्नुभयो । अनि जेसुकै होस्, आफ्नो काम गर्ने हो भनेर गाउँदा समातिन पुगेँ’ एमजेले भने ।

उनले संसारमा सबै देशमा गाएर माग्न पाउने नेपालमा नपाउने नियम देखेर अचम्म लागेको भन्दै गाउन नछोड्ने दाबी गरे । ‘एमजे’ नामले बढी चिनिने तामाङ रेष्टुरेन्ट, बार लगायत क्षेत्रमा लाइभ कन्सर्ट गर्दै आएका छन् ।

महानगर भन्छ : कुनै पनि बहानामा माग्न पाईंदैन

काठमाडौं महानगरपालिकाले भने महानगरभित्र जुनसुकै बहानामा पनि माग्न नपाउने जनाएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले महानगरभित्र कहिँकतै पनि माग्न नपाउने बताए ।

‘हामीले सूचना निकालेर महानगरपालिकाले माग्न नपाइने भनिसकेको छ । त्यही अनुसार कार्यान्वयन भइरहेको हो । असहाय, अशक्त छ भने मानवसेवा आश्रमसँगको सहकार्यमा सेवा हुन्छ तर माग्न त पाइदैन’, अर्यालले भने ।

साउन १७ गते सूचना प्रकाशित गर्दै १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको थियो ।

साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको महानगरले सूचनामा उल्लेख गरेको थियो ।

सूचनामा लेखिए अनुसार महानगरपालिका क्षेत्रभित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन पाइने छैन ।

महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने पनि जनाएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा महानगरपालिकामा सम्पर्क गर्न पनि भनिएको थियो ।

मौलिक अधिकार हनन गर्न पाइदैन : समाज अध्येता

काठमाडौं महानगरपालिकाले माग्नै नपाउने नियमको विषयमा समाज अध्येताहरुको भने आ– आफ्नै धारणा रहेको छ । प्राध्यापक बालकृष्ण माबुहाङले कुनैपनि राज्यले नागरिकको मौलिक अधिकार हनन गर्न नपाउने बताए ।

‘कसैले सहयोगी भावना देखाउँछ भने महानगर होइन, कुनैपनि राज्यले सहयोग गर्न रोक्न मिल्दैन । कसैसँग जबर्जस्ती पो माग्न भएन त सहयोग गर्छु भनेर दिएको त लिन पाइन्छ । यदि बसन्तपुरमा त्यस्ता घटना भएको हो भने गलत हो,’ माबुहाङ भन्छन् ‘फेरि चुनावको घोषणा पत्रमा माग्न दिन्न भनेर चुनाव जितेको हो भने प्रतिबन्ध गर्न पाइयो लोकतन्त्रको सिद्धान्तले त्यो जनमतको आधार देखाउला, तर निर्वाचित भएपछि शहर सुन्दर बनाउने भन्दै अमानवीय व्यवहार त गर्न पाईँदैन ।’ माबुहाङले राज्यले जनतालाई नमाग भन्न नपाउने बताए ।

यस्तै समाजशास्त्रकी प्राध्यापक सन्ध्या बस्नेत महानगरले के को आधारमा माग्न रोकेको छ भने र अध्ययन गर्नुपर्ने बताउँछिन् । ‘काठमाडौंका चोकहरुमा दुःख नै दिने गरी माग्दै गरेको दृश्यले त गतिलो सन्देश दिँदैन, सिधै नागरिकलाई समातेर कारबाही गर्न नमिल्ने भएर कानुन बनाएको होला । तर बाध्यताले माग्ने र बानीले माग्ने विषयमा चैं महानगरले अध्ययन गर्नुपर्छ ।’

बस्नेतले माग्ने प्रवृत्ति शहरको सुन्दरताको लागि राम्रो नभएता पनि अवस्था हेरेर मात्रै कारबाही गर्नुपर्ने बताउँछन् । ‘माग्ने मान्छे, असहायको लागि त राज्यले नै व्यवस्था गर्छ तर कुनै व्यक्ति वा संस्थाले मागेर कसैलाई सहयोग गर्छ भने त्यसेको अध्ययन हुनुपर्छ’, बस्नेतले भनिन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?