+
+

दशैंको अवसर पारेर नेपथ्यले ल्यायो नयाँ गीत ‘नैनताल’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १४:५३

काठमाडौं । चर्चित लोकरक ब्यान्ड नेपथ्यले दशैं छेको पारेर नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ । गीतमा विश्वयुद्धमा लडेका सैनिकहरु घर फर्किएर आउँदाका अनुभव समेटिएको छ ।

गीतमा भारत उत्तराखण्डको नैनीताललाई नै नैनताल नाम दिइएको छ । नेपथ्यले सन् २०१५ मै रेकर्ड गरेको यो गीत सार्वजनिक नगरिएको भए पनि यसअघिबाट नै मञ्चहरुमा भने गाउँदै आएको थियो । आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन् । यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए ।

यसरी तयार भएको यो गीत पहिलोपटक लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो । त्यो कन्सर्ट ताका गोर्खा परम्पराको इतिहासले दुई सय वर्ष टेकेको थियो । त्यसैबेला नेपथ्यले सम्पूर्ण गोर्खा सैनिक परिवारलाई समर्पित गर्दै यो गीत प्रस्तुत गरेको थियो ।

‘हाम्रो लोक संस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,’ अमृत भन्छन् ।

यो गीत तयार पार्न अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?