+
+

दशैंमा कुन अस्पतालले कसरी दिँदैछन् उपचार सेवा ?

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ असोज १४ गते २०:०४
फाइल तस्वीर

१४ असोज, काठमाडौं । दशैंलाई नेपाली समाजमा राम्रो लगाउने र मीठो खाने पर्वको रुपमा पनि चिनिन्छ । दशैंमा खाने खानेकुरामा मासु मुख्य हो । तर खानपिनमा विचार नगर्ने हो भने दशैंमा बिरामी पर्न सकिने भन्दै चिकित्सकहरु सचेत हुन सुझाव दिन्छन् ।

चाडपर्वमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजनिङ, पखाला, हैजा जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्कहरु बताउँछन् । काठमाडौं उपत्यकामा डेंगु फैलिरहेका बेला धेरै मानिस उपत्यका छाडेर दशैं मनाउन आफ्नो जन्मथलो पुगेका छन् । काठमाडौंबाट जानेहरुका कारण गाउँमा पनि डेंगु फैलिने जोखिम रहेको शुक्रराज तथा ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

‘देशभरि नै डेंगु सार्ने भेक्टर (एडिस लामखुट्टे) पाइन्छ । दशैंमा उपत्यकाबाट मान्छे घर फर्कंदा डेंगु भाइरस पनि देशव्यापी फैलिने डर छ’ डा. पुनले भने । मानिसको आवातजावत बढ्ने हुँदो कोरोना, डेंगुसँगै औलो, झाडपखाला, हैजा जस्ता रोगहरुको जोखिम पनि उत्तिकै उनको भनाइ छ ।

‘दशैंलाई मासु खाने चाडको रुपमा पनि लिइन्छ । खानपानका कारण रक्तचाप, मुटु, मिर्गौलासम्बन्धी रोग, युरिक एसिड, झाडापखाला, ग्याष्ट्रिकका बिरामी बढ्न सक्छन् । त्यसैगरी, डेंगु तथा कोरोनाको पनि जोखिम उत्तिकै छ’ डा. पुन भन्छन्, ‘अहिले खानपान सँगै सरुवा रोगबाट बच्न सावधानी अपाउनुपर्ने देखिन्छ ।’

दशैंका बेला प्रायः सबै अस्पतालले फूलपातीदेखि एकादशीसम्म ओपीडी (बहिरंग) सेवा बन्द गरेका छन् । जसले गर्दा आकस्मिक कक्षमा बिरामीको चाप बढ्न सक्छ । ओपीडी सेवा बन्द भएपनि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा उपचाररत बिरामीलाई नियमित सेवा दिन्छ ।

ओपीडी सेवा बन्द भएपनि अस्पतालले वार्ड र आकस्मिक सेवाका लागि चिकित्सकहरुको बिदा र ड्युटीको समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुले डेंगु, कोरोना बिरामीसँगै खानपानका कारण हुने बिरामी, दुर्घटनाका घाइते लगायतका अन्य बिरामीको उपचारको व्यवस्थापन कसरी गर्दैछ त ?

हामी यो विषयमा काठमाडौंमा केही ठूला अस्पतालका चिकित्सकहरु कुराकारी गरेका छौं ।

अस्पतालको आकस्मिक र वार्ड कसरी चल्छ ?

वीर अस्पताल

काठमाडौंमा रहेको केन्द्रीय अस्पताल वीर अस्पतालको आकस्मिक सेवा दशैंमा पनि खुला हुन्छ ।

दशैंको समयमा देखिन सक्ने रोग र बिरामीको चापलाई व्यवस्थापन गर्न अस्पतालले अन्य सार्वजनिक बिदामा जस्तै आकस्मिक सेवाका चिकित्सकहरु रहने व्यवस्था गरेको अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बताए ।

अस्पतालका अनुसार ओपीडी सेवा फूलपातीदेखि एकादशीसम्म बन्द हुनेछ । ‘सार्वजनिक बिदामा जसरी चल्थ्यो, वार्ड र आकस्मिक कक्ष त्यसैगरी नै चल्छ,’ डा. बस्नेतले भने, ‘रोटेसन मिलाएर चिकित्सकले काम गर्छन् र दशैं पनि मनाउँछन् ।’

‘अहिले डेंगु सँगै कोरोनाको जोखिम कायमै रहेकाले यसका लक्षण देखा परेका मानिसहरु पनि आउँछन् । आकस्मिक कक्षमा आउने बिरामी र वार्डमा रहेका बिरामीको उपचारका लागि चिकित्सक तथा नर्सहरुलाई रोटेसनमा परिचालन गरी नियमित सेवा प्रदान गछौं,’ डा. बस्नेतले भने ।

गंगालाल राष्ट्रिय हृदय केन्द्र

गंगालाल अस्पतालले पनि दशैंको समयमा बिरामीलाई आकस्मिक सेवा प्रभावकारी रुपमा प्रदान गर्ने जनाएको छ । दशैंको समयमा मुटु रोगका आकस्मिक बिरामीलाई आकस्मिक सेवा विभागमार्फत सेवा दिने अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।

‘दशैंको समयमा आकस्मिक कक्ष र वार्ड खुला रहन्छन् । आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रिया पनि सञ्चालन हुन्छ, केही समयपछि गर्नुपर्ने अप्रेशन चाहिँ ( इलेक्टिभ अप्रेशन) बन्द हुन्छ’, डा. अधिकारीले भने, ‘दशै भएपनि बिरामीले आकस्मिक सेवा नपाएर फर्किनुपर्ने अवस्था हुँदैन ।’

काठमाडौं उपत्यका बाहिरका जनशक्तिलाई भने दशैं र तिहारमा आलोपालो गरी विदाको व्यवस्था मिलाइएको उनले बताए । ‘दशैंमा बिदामा बस्नेहरुले तिहारमा ड्युटी गर्नुहुन्छ । तिहार ड्युटी गर्नेले दशैंमा बिदा पाउने रुटिन मिलाएका छौं,’ डा. अधिकारीले भने, ‘सबैले दशैं तिहार पनि मनाउन पाउन् र सेवा पनि नरोकिने हिसाबले ड्युटी राखेका छौं ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक बिदाको समयमा समेत ओपीडी सेवा पनि नियमित हुने हुने जनाएको छ । डेंगुका बिरामीको उपचारका लागि आकस्मिक कक्ष २४ सै घण्टा सञ्चालन गर्ने भएको छ ।

अस्पताल सूचना अधिकारी नवराज गौतमका अनुसार दिन बिराएर ओपीडी सेवा सञ्चालन हुनेछ । ‘पहिला फुलपातीदेखि दशमीसम्म बिदा हुन्थ्यो । तर, अहिले डेंगुको संक्रमण कायम नै रहेकाले ओपीडी सेवा दिन बिराएर दिन्छौ’, गौतमले भने, ‘फुलपाती र नवमीको दिनमा ओपिडी सञ्चालन हुनेछ ।’

देशभर डेंगुको संक्रमण छ, रेविज, एचआईभी, टीबी रोगका बिरामीहरु सेवा लिन दैनिक आउछन् । अस्पताल आएका बिरामीलाई अन्य दिन आकस्मिक कक्षबाट पनि सेवा सञ्चालन हुन्छ’, उनले भने ।

यसैगरी, अस्पतालले कुकुरले टोकेको व्यक्तिलाई दिने औषधि पनि २४ सै घण्टा उपलब्ध गराउने उनले बताए ।

कान्ति बाल अस्पताल

कान्ति बाल अस्पतालमा दशैंका बेला ओपीडी सेवा बन्द छ । सबै सेवा आकस्मिक कक्षबाट चिकित्सककले रोग विशेषज्ञताका आधारमा बिरामी हेर्छन् ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार बिरामीको उपचार र चाडपर्वलाई मध्यनजर गर्दै चिकित्सक तथा नर्सहरुले दशैं र तिहारमा एकपटक मात्रै बिदा बस्न पाइने नियम बनाएको छ । ‘चिकित्सक युनिटले बार अनुसार ड्युटी गर्नुहुन्छ । आउने आइतबारदेखि शनिबारसम्म ओपीडी सेवा बन्द हुन्छ । तर, आएका बिरामीलाई आकस्मिक कक्षबाट सेवा दिने व्यवस्था मिलाएका छौं,’ डा. बसौलाले भने ।

वार्डमा रहेको बिरामीहरुलाई रोग विशेषज्ञ चिकित्सकले राउण्डमा पालो अनुसार हेर्ने व्यवस्था गरेको उनको भनाइ छ । ‘दशैंको समयमा संख्याको हिसाबमा कम बिरामी आउँछन् तर कम बिरामी आएपनि उनीहरुमा रोगको जटिलता बढी हुन्छ, गम्भीर रोगका बिरामी हुन्छन् । त्यही हिसाबले स्वास्थ्यकर्मीको ड्युटी मिलाएका छौं’, डा. बसौलाले भने ।

त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पतालले दशैंको समयमा उपचारका लागि आउने बिरामीलाई नियमित सेवा दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीका अनुसार अस्पतालको आकस्मिक सेवा र इमर्जेन्सी अप्रेशन खुला रहन्छ । ‘दशैं भनेर बिदा दिने चलन छैन । आफ्नो ड्युटी आवरमा सबै स्टाफले नियमित सेवा दिनैपर्छ,’ अधिकारीले भने ।

ओपीडीबाहेकको सबै सेवा नियमित सञ्चालन हुने उनको भनाइ छ । ‘दशैंका लागि खटिने स्टाफको सूची तयार भइसकेको छ । आ–आफ्नो वार्डमा खटिने डाक्टर, नर्स लगायतका कर्मचारीले त्यही अनुसार बिरामीको सेवामा नियमित गर्छन्’, उनले भने ।

पाटन अस्पताल

पाटन अस्पतालले पनि दशैंको समयमा आकस्मिक सेवा नियमित दिने जनाएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार दशैंको चार दिन मात्रै ओपीडी सेवा बन्द हुन्छ । ‘तर, आकस्मिक कक्षमा आएका सबै बिरामीले सेवा पाउँछन्,’ डा. शाक्यले भने, ‘दशैंको समयमा बिरामी परेर उपचारका लागि अस्पताल आउने बिरामीको उपचार गर्न त्यही अनुसारको जनशक्तिको व्यवस्थापन गरेका छौं ।’

काठमाडौं उपत्यका बाहिरका जनशक्तिलाई दशैं र तिहारमा आलोपालो गरी विदाको व्यवस्थापन गरिएको उनको भनाइ छ ।

भक्तपुर अस्पताल

भक्तपुर अस्पतालले आकस्मिक सेवा र वार्डमा रहेका बिरामी उपचारका लागि चिकित्सकले नियमित सेवा दिने जनाएको छ । अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमका अनुसार ओपीडीमा आउने बिरामीलाई आकस्मिक कक्षबाट सेवा दिने व्यवस्था मिलाइएको छ ।

‘आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन हुन्छ नै । आकस्मिक कक्षमा थप एक जना चिकित्सकको व्यवस्था गरेर त्यहीबाट नै ओपीडी सेवा दिने व्यवस्था मिलाएका छौं’, डा. गौतमले भनिन्, ‘आकस्मिक अप्रेशन बन्द हुँदैनन् । रूटिन केसको अप्रेशन हुँदैन ।’

त्यसैगरी, दशैंको बेलामा सडक दुर्घटना बढी हुने हुँदा हाडजोर्नी विशेषज्ञ डाक्टर ड्युुटिमा राखिएको छ । कसन्लटेन्ट चिकित्सकलाई आवश्यक परेको अवस्थामा फोन गरेर बोलाउन मिल्ने गरी विदा दिने व्यवस्था मिलाइएको उनले बताइन् ।

राष्ट्रिय ट्रमा सेन्टर

दशैको समयमा दुर्घटनाहरु बढी हुने भएका राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक सेवा विभागमा बिरामीको चाप नै हुन्छ । अस्पतालका निर्देशक रुद्र मिरासिनीका अनुसार दशैंका लागि भनेर ड्युटीको सेड्यूलभित्र रहेका चिकित्सक तथा नर्सहरुलाई बिदा छैन । अस्पतालको ओपीडी सेवा बन्द र आकस्मिक शल्यक्रिया निरन्तरता नै पाउने छ ।

‘दशैं भएपनि चिकित्सक, नर्सलाई बिदा हुँदैन । आफ्नो ड्युटीमा काममा आउनुपर्छ । दशैंको बेलामा बढी दुर्घटना हुँदा त्यसैअनुसार चिकित्सकको ड्युटी मिलाएका छौं,’ डा. मरासिनीले भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?