+
+

पुटिनले गरे युक्रेनी भूभागलाई स्वतन्त्रताको मान्यता दिने घोषणा, ‘अवैध’ भन्दै पश्चिमा देशहरूको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते २२:३३

१४ असोज, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन् ।

उनले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै जापोरिजिया र खेर्सनको ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन् । उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, ‘मैले दक्षिणी युक्रेनको जापोरिजिया र खेरसनको राज्यको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिन आदेश दिएको छु ।’

शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो ।

अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रहरूको शब्दमा ‘यो एक छद्म जनमत सङ्ग्रह’ पछि आएको हो ।

रूसको आक्रमणपछि रूसी सेनाको कब्जामा रहेको क्षेत्रमा भएको जनमत सङ्ग्रहमा रूसले आफ्नो पक्षमा बहुमत प्राप्त गरेको जनाएको छ । रूसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो र सोही महिनामा डोनेट्स्क र लुहान्स्कको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको थियो ।

यसबाहेक, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ जसले रूसको नियन्त्रणमा रहेका तर युक्रेनले दावी गरेको चार क्षेत्रहरूमा रूसको पहलमा गरिएको जनमतसङ्ग्रहको लागि निन्दा गर्ने प्रयास गर्नेछ ।

सीएनएनका अनुसार अमेरिकाको पहलमा ल्याइएको उक्त प्रस्तावमा सबै देशलाई यी चार क्षेत्रको स्थितिमा आएको परिवर्तनलाई मान्यता नदिन आग्रह गरिएको छ ।

अल्बानियाले पनि समर्थन गरेको यो प्रस्तावले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले धम्की वा बल प्रयोगका कारण कुनै पनि देशले आफ्नो देशको भूभाग कब्जा गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताए । गुटेर्रेसले भनेका छन्, ‘यतिबेला मैले महासचिवको रूपमा राष्ट्रसङ्घको घोषणा–पत्र कायम राख्ने मेरो कर्तव्यलाई जोड दिनै पर्छ ।’

उनले थपे, ‘घोषणा–पत्रमा स्पष्टरूपमा भनिएको छ ‘धम्की वा बल प्रयोगका कारण अर्को देशले कुनै पनि देशको भूभाग कब्जा गर्नु बडापत्र र अन्तर्राष्ट्रिय कानून र सिद्धान्तको उल्लङ्घन’ हो ।’

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी भूभाग मिचेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार यसलाई गैरकानुनी भनेका थिए ।

रूसको यो कदमलाई ‘भूमि हडप्ने कार्य’ को संज्ञा दिँदै उच्च अमेरिकी कूटनीतिज्ञले मस्कोको कब्जालाई अमेरिकाले कहिल्यै मान्यता नदिने बताएका थिए ।

ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै भने, ‘क्रेमलिनको छद्म सन्दर्भ युक्रेनको भूमि हडप्ने थप प्रयासलाई ढाकछोप गर्ने निरर्थक प्रयास हो ।’ यसअघि क्रेमलिनले युक्रेनको कब्जामा रहेका चार क्षेत्रलाई समेट्न रूसले शुक्रबार हस्ताक्षर गर्ने बताएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भने, ‘ग्रान्ड क्रेमलिन प्यालेसको जर्जियाली हलमा स्थानीय समयअनुसार १५:०० बजे नयाँ भूभागलाई रूसमा गाभ्ने विषयमा हस्ताक्षर समारोह हुनेछ ।’

उता, युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको ‘अवैध’ कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रका नेताहरू सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएको युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्रमा रूसले गरेको गैर–कानुनी कब्जाको हामी दृढतापूर्वक अस्वीकार र भर्त्सना गर्दछौँ,’ वक्तव्यमा भनिएको छ, ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई जानाजानी कमजोर बनाएर र युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको मौलिक अधिकार, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित आधारभूत सिद्धान्तहरूको खुलेआम उल्लङ्घन गरेर रूसले विश्वव्यापी सुरक्षालाई खतरामा पारिरहेको छ ।’

वक्तव्यमा ‘सदस्य राष्ट्रहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको यस थप उल्लङ्घनको बहानाको रूपमा ‘रूसले गरेको अवैध जनमतसङ्ग्रह’ लाई कहिल्यै मान्यता नदिने उल्लेख गरिएको छ । सदस्य राष्ट्रहरूले उक्त निर्णयलाई अमान्य भन्दै यसले कुनै पनि कानुनी प्रभाव पार्न नसक्ने बताएका छन् ।

विज्ञप्तिमा थप भनिएको छ, ‘क्रिमिया, खेरसन, जापोरिजझिया, डोनेट्स्क र लुहान्स्क युक्रेन हुन् । हामी सबै राष्ट्र र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई यस अवैध विलयलाई स्पष्ट रूपमा अस्वीकार गर्न आह्वान गर्दछौँ ।’

रूसको आक्रामक युद्धका साथै मस्कोको पछिल्लो तनावको सामना गर्दै युरोपेली सङ्घ युक्रेन र यसका जनताको साथमा दृढतापूर्वक उभिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको पक्षमा अडिग छौँ । युक्रेनले आफ्नो भूभागमा पूर्ण नियन्त्रण हासिल गर्न रुसी आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्ने आफ्नो वैधानिक अधिकार प्रयोग गरिरहेको छ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र कब्जा गरिएका क्षेत्रहरूलाई मुक्त गर्ने अधिकार छ ।’

‘क्रेमलिनले दिएको आणविक धम्की, सैन्य परिचालन र युक्रेनको भूभागलाई रुसको भू–भागका रूपमा गलत रूपमा प्रस्तुत गर्न खोज्ने रणनीति र अब रुसको भूमिमा युद्ध हुन सक्छ भन्ने धारणाले हाम्रो सङ्कल्पलाई हल्लाउने छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

युरोपेली परिषद्ले रुसको गैरकानुनी कदमको प्रतिकार गर्ने प्रतिबन्धात्मक कदमलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ । यसले रुसमाथि उसको आक्रामक युद्ध अन्त्य गर्न थप दबाब बढाउनेछ । ईयूले युक्रेनको साथमा दृढतापूर्वक उभिएको र युक्रेनलाई बलियो आर्थिक, सैन्य, सामाजिक र वित्तीय सहयोग प्रदान गर्न जारी राख्ने दोहोर्‍याएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया गरी चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गर्दै ‘लाखौँ जनताको इच्छा यही भएको बताएका थिए ।

‘रूसका चार वटा नयाँ क्षेत्र छन्,’ पुटिनले सेन्ट जर्ज हलमा रहेको युक्रेनी भूभाग कब्जा गर्ने घोषणा गर्दै गरेको लामो भाषणमा भने ।

अल जजिराका अनुसार उक्त भाषणमा उहाँले युक्रेन र उसका पश्चिमा मित्रराष्ट्रका बारेमा अत्यन्त आलोचनात्मक भनाइहरू राखेका थिए । पुटिनले भने, ‘यी चार वटा क्षेत्रका बासिन्दा अब सदाका लागि रूसका नागरिक हुनेछन् ।’ पुटिनले डोनेट्स्क र लुहान्स्क मिलेर बनेको पूर्वी युक्रेनका जनता ‘कीभ शासनले गरेको अमानवीय आतङ्कवादी आक्रमणको सिकार भएको’ दाबी गरेका छन् ।

उनले जनमत सङ्ग्रहको परिणामलाई ‘लाखौँ जनताको इच्छा’ पनि भनेका छन् । एएनआई/ एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?