+
+
डा. राजेन्द्र कोजुको आँखाबाट :

आहा त्यो दशैं, अनि यो दशैं (चित्रकथा)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १७:०९

केटाकेटीहरु उन्मुक्त रमाइरहेका छन् । कोही चङ्गा उडाउँदैछन्, कोही डमरु बजाउँदैछन्, कोही लंगुर बुर्जामा झुम्मिएका छन्, कोही रिङ गुडाउँदैछन् । कति आनन्ददायक वाल्यकाल ।

डा. राजेन्द्र कोजुले बनाएको यो चित्रले ग्रामिण समाजमा बालबालिकाले दशैं मनाइरहेको छनक दिन्छ । चित्रमा लेखिएको छ, त्यो दशैं । अर्थात यो सुदूर अतितको स्मृति–चित्र हो ।

त्यसैसँग अर्को चित्र पनि छ, जहाँ बन्द कोठाभित्र बालबच्चाहरु आ–आफ्नै धुनमा भुलिरहेका । कोही भित्तामा अडिसिएका, कोही भुँइमा लम्पसार परेका, पलंगमा ढल्किएका । निसन्देह, उनीहरु मोवाइलमा हराइरहेका छन् ।

यो चित्रमा डा. कोजुले लेखेका छन्, यो दशैं । डिटिजल युगको प्रतिनिधित्व गर्ने दशैं चित्र हो यो ।

समयक्रममा दशैं कति र कसरी बद्लियो ? यी चित्रहरुले घतलाग्दो ढंगले बखान गर्छ । हिजोका दिनमा दशैंको उल्लास जुन स्वरुपमा हुन्थ्यो, आज त्यो पूर्णतय फरक छ । यसै सेरोफेरोमा हामीले उनै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सोधेका थियौं, तपाईं हिजो र आजको दशैंलाई कसरी अनुभूत गर्नुहुन्छ ?

त्यो दशैं

म काभ्रेको धुलिखेलमा जन्मिएँ । हामी सानो छँदा अहिलेजस्तो यसले शहरको आकार ग्रहण गरेकै थिएन । यो पूर्ण गाउँ जस्तो पनि थिएन । झुरुप्प–झुरुप्प बस्ती थियो । अनन्तसम्म खेतको फाँट थियो, जहाँ लहलह धान हुन्थ्यो ।

दशैंको त्यो सुकिलो याममा हामी धानमाबारी आसपासमा खेल्न पुग्थ्यौं । विद्यालय विदा हुने भएकाले यस्तो फुर्सदमा हामी निकै उमंगित हुन्थ्यौं । माटोको सुगन्ध, हावाको सितलता, चराचुरुंगीको आवाज । त्यो अत्यान्तै मनोरम समय थियो ।

हामी केटाकेटी अरुले चंगा उडाएको देखेर दंग पर्दै रमाउँथ्यौं । आफै पनि चंगा बनाएर उडाउने कोसिस गरिन्थ्यो । ठाउँ ठाउँमा पिङ थापिएको हुन्थ्यो, जहाँ हामी झुम्मिएका हुन्थ्यौं । थोरै पैसा भयो भने डमरु किन्थ्यौं र मख्ख परेर बजाउँदै हिँड्थ्यौं । लङ्गुर बुर्जा खेल्न र हेर्न पनि उत्तिकै मन लाग्ने ।

साथी साथी मिलेर अनेक खेल खेलिन्थ्यौं । दौडने, उफ्रने, लुक्ने ।

गाउँघरमा दशैंको रौनक सुरु भइसकेको हुन्थ्यो । घर–आँगन सरसफाई गर्ने, पूजाआजा गर्ने, मन्दिर धाउने, मार हान्ने सिलसिला जारी हुन्थ्यो । दशैंमा हामीलाई नयाँ लुगा लगाउने हतारो हुन्थ्यो । अहिलेजस्तो रेडिमेड लुगा पाइदैनथ्यो । त्यसैले थानको कपडा ल्याएर सिलाइएको लुगा लगाइन्थ्यो । त्यो दशैंको लुगा भन्दा पनि विद्यालयको पोशाक हुन्थ्यो । विद्यालयमा मिल्नेगरी नै दशैंमा लुगा सिलाइदिने प्रचलन थियो ।

दशैंमा मीठोमसिनो खाइने नै भयो । अरुबेला यादाकदा मात्र मासुभात पाक्थ्यो । दशैंमा भने दिनदिनै भोज हुने । नयाँ लुगा लगाउन पाइने, मीठोमसिनो खान पाइने, टिका थापेर दक्षिणा पाइने, विद्यालयबाट फुर्सद पाउने भएकाले खेल्न पाइने । हाम्रो फुर्ति नै बेग्लै हुन्थ्यो ।

अहिले पनि दशैं भन्नसाथ म बाल्यकालतर्फ फर्कन्छु । त्यसबेला मनाएको दशैंको स्मृति मेरो मनमा प्रगाढ छ । बाल्यकालमा बिताएका हरेक क्षण अनमोल हुने रहेछ । दशैं त अझ विशेष भइहाल्यो ।

यो दशैं

अहिलेको दशैं हिजोको जस्तो रहेन । समयसँगै हरेक कुरा बद्लिने रहेछ । हिजो हामी दशैंका फुर्सदिला दिनहरुमा साथीसंगी भेला भएर घरबाहिर खेल्ने, उफ्रने गथ्यौं । आज सबैजना घरभित्रै बस्ने प्रवृत्ति छ । घरमा पनि धेरैजसो मोवाइलमा रमाउने गरेका छन् ।

आज न त हिजोजस्तो मासुभात खान दशैं कुर्नुपर्ने अवस्था छ, न नयाँ लुगाको लागि दशैं पर्खनुपर्ने बाध्यता छ । यद्यपि नयाँ लुगा लगाउने, मीठोमसिनो खाने चलन अहिलेपनि विद्यमान नै छ । पारिवारिक भेटघाट, मनोरञ्जनमा दशैं मनाउने पुरानै चलन त यथावत छ । तर, अहिले प्रविधिको बाहुलता छ र यसैमा हामी अभ्यस्त हुन थालेका छौं । यसबाट दशैं र आजको पुस्ता पनि अछुतो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?